२० असार २०८३, शनिबार

रुसले विपक्षी नेता नवलनीलाई 'भ्यागुताको विष' दिएर मारेको बेलायतको दाबी

फागुन २, २०८२
काठमाडौं
रुसले विपक्षी नेता नवलनीलाई 'भ्यागुताको विष' दिएर मारेको बेलायतको दाबी

बेलायत र उसका युरोपेली सहयोगी राष्ट्रहरूले रुसी विपक्षी नेता एलेक्सी नवलनीको हत्यामा दक्षिण अमेरिकी भ्यागुताबाट निकालिने एक घातक विष प्रयोग भएको खुलासा गरेका छन्। 

नवलनीको मृत्यु भएको एक वर्ष पुग्नै लाग्दा उनको शरीरको नमुना परीक्षणबाट प्राप्त नतिजाका आधारमा बेलायतले यस्तो दाबी गरेको हो।

म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै बेलायती विदेशमन्त्री यभेट कुपरले नवलनीको शरीरमा 'एपबाटिडिन' नामक विष फेला परेको जानकारी दिए। यो विष प्राकृतिक रूपमा दक्षिण अमेरिकामा पाइने 'डार्ट फ्रग' (एक प्रकारको विषालु भ्यागुता) मा मात्र पाइन्छ। बेलायत, स्वीडेन, फ्रान्स, जर्मनी र नेदरल्याण्ड्सले संयुक्त विज्ञप्ति जारी गर्दै यो विष रुसमा प्राकृतिक रूपमा नपाइने हुनाले यसको प्रयोगमा रुसी सरकारकै हात रहेको स्पष्ट पारेका छन्।

विदेशमन्त्री कुपरका अनुसार यो घातक विष प्रयोग गर्ने क्षमता, उद्देश्य र अवसर रुसी सरकारबाहेक अरू कसैसँग थिएन। "यस्तो विषको प्रयोगले रुसी सत्ता आफ्नो राजनीतिक विपक्षीसँग कति त्रसित छ र उनीहरूलाई सिध्याउन कस्तो क्रूर हतियार प्रयोग गर्न सक्छ भन्ने देखाउँछ," कुपरले भने । 

४७ वर्षीय नवलनीको गत १६ फेब्रुअरी २०२४ मा साइबेरियाको एक कारागारमा मृत्यु भएको थियो। रुसी प्रशासनले उनी हिँड्दाहिँड्दै अचानक बेहोस भएर मृत्यु भएको बताउँदै आएको भए पनि नवलनीकी श्रीमती युलिया नवलनायाले सुरुदेखि नै आफ्नो पतिको हत्या भएको दाबी गर्दै आएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्