
भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको रणनीतिक स्वायत्तता र रूसबाट तेल खरिद गर्ने निर्णयमा कसैको दबाब स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
म्युनिख सुरक्षा सम्मेलनका क्रममा आयोजित एक छलफलमा उनले भारतले आफ्ना निर्णयहरू राष्ट्रिय हितका आधारमा स्वतन्त्र रूपमा लिने बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'भारत रूसी तेल खरिद रोक्न सहमत भएको' दाबी गरिरहेका बेला जयशंकरको यो भनाइ आएको हो।
एक प्रश्नको जवाफ दिँदै जयशंकरले भने, "हामी आफ्नो रणनीतिक स्वायत्तताप्रति पूर्ण प्रतिबद्ध छौँ, किनकि यो हाम्रो इतिहास र विकासको अहम हिस्सा हो।"
तेल खरिदबारे प्रष्ट पार्दै उनले आजको ऊर्जा बजार निकै जटिल रहेको र भारतीय कम्पनीहरूले उपलब्धता, लागत र जोखिमलाई हेरेर आफ्नै हितमा निर्णय लिने बताए। उनले थपे, "म स्वतन्त्र सोच राख्छु र आफ्ना निर्णयहरू आफैँ लिन्छु। कहिलेकाहीँ हाम्रा विकल्पहरू अरूको सोचसँग मेल नखान पनि सक्छन्, तर हामी आफ्नै हितलाई प्राथमिकता दिन्छौँ।"
हालै भारत र अमेरिकाबीच व्यापार सम्झौताको खाका तयार भएको छ। यद्यपि, रूसी तेलका विषयमा भारतले आफ्नो अडान स्पष्ट राख्दै व्यापार र ऊर्जा सुरक्षालाई राष्ट्रिय स्वार्थसँग जोडेर हेर्ने संकेत दिएको छ।