
फागुन लागेसँगै तराईमा तापक्रम मात्र उकालो लागेको छैन, चुनावी रापताप पनि बढेको छ। प्रतिनिधि सभा निर्वाचनको सरगर्मी सबै क्षेत्रमा छ। विभिन्न योजना र आश्वासनका पोकासहित उम्मेदवारहरू जनताको घरआँगनमा पुगिरहेका छन्।
सीमावर्ती पालिका समेटिएको र मधेशी समुदायको बढी प्रभाव रहेको रूपन्देहीको क्षेत्र नम्बर–४ मा यो पटक पुराना उम्मेदवारदेखि नयाँ पुस्ताका युवाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
रूपन्देही–४ मा नेपाली कांग्रेसबाट आशुतोष मिश्रा, नेकपा एमालेबाट प्रमोदकुमार यादव, जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कनैया बनियाँ, जनमत पार्टीबाट भूपेन्द्र यादव र नेकपाका बाबुलाल यादव उम्मेदवार छन्।
कांग्रेसका मिश्रा पहिलोपटक उम्मेदवार बनेका हुन्। एमालेका यादव अघिल्लो चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर शुक्लासँग पराजित भएका थिए। त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद रहेका बनियाँ प्रदेश सभा सदस्यबाट राजीनामा दिई रास्वपा प्रवेश गरी उम्मेदवार बनेका नेता हुन्। दलगत र स्वतन्त्र गरी यो क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चार दलीय प्रतिस्पर्धा हुने देखिन्छ।
२०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन्। ३५ वर्षदेखि उम्मेदवार बन्दै आएका शुक्लालाई यो पटक युवा उम्मेदवारहरू मिश्रा, बनियाँ, प्रमोदकुमार र भूपेन्द्रले टक्कर दिँदैछन्।
जिल्लाको मर्चवार क्षेत्रका तीन र भैरहवा–लुम्बिनी खण्डको उत्तरका पालिका समेटेको यो क्षेत्रमा अहिले निर्वाचनको विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धा भइरहेको छ। जिल्ला सदरमुकाम भैरहवाबाट नजिक रहेर पनि यो क्षेत्र विकासमा पछाडि छ। यहाँका उम्मेदवारले शिक्षा, स्वास्थ्य, सिँचाइ, मल र बीउलाई चुनावी मुद्दा बनाउँदै आएका छन्। यसपटक पनि आधारभूत मानवीय आवश्यकताकै विषयलाई उम्मेदवारले एजेन्डा बनाएका छन्।
गत निर्वाचनमा शुक्लाले प्रमोदलाई ५ हजार २९६ मतले पराजित गरेका थिए। शुक्लाले २८ हजार मत ल्याएर विजयी हुँदा प्रमोद यादवले २२ हजार ७०४ मत ल्याएका थिए। त्यसअघिको २०७४ को निर्वाचनमा तत्कालीन अवस्थामा कांग्रेसबाट प्रमोद यादवले ३१ हजार ७१८ मत ल्याएर विजयी हुँदा शुक्लाले २० हजार ४१६ मत प्राप्त गरेका थिए।

जसपा उम्मेदवार शुक्लाले आफू संसदीय यात्राको अन्तिम चरणमा रहेको बताउँदै जनताले फेरि विश्वास गर्नेमा पूर्ण आशावादी रहेको बताए। ‘अहिलेको निर्वाचन अकस्मात् भयो,’ शुक्ला भन्छन्, ‘२०८४ मा चुनाव भएको भए म चुनाव लड्ने थिइनँ। आकस्मिक चुनाव भएकाले फेरि उम्मेदवार बनेँ। मैले गर्नुपर्ने केही काम छन्, ती पूरा गर्न फेरि जनताको बीचमा आएको हुँ।’
मर्चवारको विकास र जनताको सुख–दुःखमा आफूले साथ दिएकाले फेरि विजयी हुने शुक्लाको विश्वास छ। मर्चवार छोटी भन्सार सञ्चालनको पहल, प्राविधिक शिक्षा, सिँचाइ सुविधा विस्तार, रिङरोड निर्माण र नदी कटानलगायत समस्या समाधान गर्ने मुद्दा लिएर उनी चुनावी मैदानमा छन्।
एमाले उम्मेदवार प्रमोद यादव मर्चवारको विकासका लागि २५ योजना अघि सारेर चुनावमा होमिएको बताउँछन्। ‘साढे दुई दशकदेखि यही क्षेत्रमा राजनीतिमा सक्रिय मान्छे हुँ,’ उनले भने, ‘मधेशको माटो र बाटोमा हिँड्दै युवा उमेरदेखि राजनीतिमा सक्रिय रहेको छु।’ आफ्नो क्षेत्रमा धेरै ग्रामीण भूभाग रहेको र मर्चवार जहिले पनि ‘बत्तीमुनिको अँध्यारो’ बनेको उनले बताए। मर्चवारलाई कृषि क्षेत्रमार्फत हराभरा ठाउँका रूपमा विकास गर्ने लक्ष्यका साथ खटिरहेको उनले बताए।
यता रास्वपा उम्मेदवार बनियाँ पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मर्चवार क्षेत्रमा आएसँगै उत्साहित देखिन्छन्। गत निर्वाचनको समानुपातिक मत हेर्दा लोसपा सबैभन्दा बलियो देखिन्छ, जसले २२ हजार ३७ मत ल्याएको थियो। (लोसपा अहिले पार्टी मर्जरको प्रक्रियामा छ)। यस्तै, कांग्रेसले १८ हजार ८३२, जनमतले १६ हजार ४५८, एमालेले २ हजार ८२३ र रास्वपाले १ हजार ६५७ मत ल्याएका थिए।
यस क्षेत्रमा कोटियामाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–२, १२ र १३, मायादेवी गाउँपालिका–२, ३, ४, ५ र ६, सम्मरीमाई गाउँपालिका र सियारी गाउँपालिका–५ र ६ पर्छन्। रूपन्देहीको सदरमुकाम भैरहवाबाट २२ किलोमिटर मात्रै दक्षिण–पश्चिममा रहेको मर्चवार क्षेत्रको विकासलाई हेर्ने हो भने असन्तुलित र असमान देखिन्छ। समुन्नत मानिएको रूपन्देहीमा रहेर पनि मर्चवारमा सडक, बिजुली, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी र सिँचाइ जस्ता पूर्वाधारहरू पर्याप्त छैनन्। यस क्षेत्रबाट निर्वाचित हुने सांसदले यहाँ खासै काम गरेको देखिँदैन।
मर्चवारमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता विजयी भएका थिए। ३ वर्षपछि २०५१ सालमा शुक्ला विजयी भएका थिए। उनी त्यसबेला राप्रपाबाट चुनाव लडेका थिए। ५ वर्षपछि २०५६ सालमा सद्भावनाका यज्ञजित शाहले मर्चवारको प्रतिनिधित्व गरे।
मधेश विद्रोहपछि २०६४ सालको संविधान सभा निर्वाचनमा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने। २०७० सालको संविधान सभाको दोस्रो चुनावमा शुक्ला विजयी बने। यसपटक उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट जितेका थिए। संविधान निर्माणपछि २०७४ सालको संसदीय चुनावमा कांग्रेसका प्रमोद यादव विजयी बनेका थिए। यसपटक यो क्षेत्रमा कूल १ लाख १६ हजार १७२ मतदाता रहेका छन्।