२३ जेठ २०८३, शनिबार
बर्दियाका दुई क्षेत्र घुमेपछि...

थारू बाहुल्य बर्दियामा चुनावी रौनक: युवाको रोजाइ नयाँ, पाका मतदाता पुरानै उम्मेदवारतिर

मानव–वन्यजन्तु द्वन्द्व सधैंको समस्या, मल अभावले किसान आक्रोशित
फागुन ५, २०८२
बर्दिया
थारू बाहुल्य बर्दियामा चुनावी रौनक: युवाको रोजाइ नयाँ, पाका मतदाता पुरानै उम्मेदवारतिर

पश्चिम तराईका २० जिल्लामध्ये खाद्य भण्डारको रूपमा परिचित बर्दियामा चुनावी रौनक बढेको छ । थारू समुदायको बाहुल्य रहेको यो जिल्लामा दुईवटा निर्वाचन क्षेत्र छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १८ वटा दल चुनावी मैदानमा छन् । प्रतिस्पर्धा भने मुख्य चार दल क्रमशः नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने देखिन्छ ।

बाँसगढी, राजापुर, गुलरियालगायत विशेष महत्त्व बोकेका स्थानहरूमा सबै दलले आफ्ना सम्पर्क कार्यालय राखेका छन् । बिहानैदेखि उम्मेदवारहरू कार्यकर्तासहित घरदैलो गरिरहेका भेटिन्छन् । माथिका विभिन्न स्थानका मतदातासँग कुराकानी गर्दा अधिकांशले दिएको जवाफले आगामी निर्वाचनको विषयमा स्पष्ट आकार दिँदैन ।

बस्ती छिर्दा ४० देखि ५० वर्ष र त्यसमुनिको उमेर समूहका मतदाताको स्पष्ट जवाफ पाइन्छ, ‘पुरानालाई धेरै हेरियो । अब नयाँलाई अवसर दिने हो । कति नै बदमासी गर्लान् र !’

५० वर्षभन्दा माथिको उमेर समूहका मतदाता भने पुरानै स्थापित दलहरू नै ठीक हुने धारणा राख्छन् । यो जिल्लाको एउटा आफ्नै विशेषता छ । अधिकांश स्थानको नाम नम्बर (८ नम्बर, १२ नम्बर) बाट राखिएको छ । जिल्लामा गुलरिया, सानोश्री, ताराताल, भुरीगाउँ, बाँसगढी, मैनापोखरी, शीतला बजार, बगनाह, स्याउली बजार, ठाकुरद्वारा, भोला गौडी, कतरनियाँजस्ता स्थानले विशेष महत्त्व बोकेका छन् ।

बर्दियाको निर्वाचन क्षेत्र नम्बर २ मा भने गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका र बारबर्दिया नगरपालिकाका १ देखि ३ वडा समेटिएका छन् । यो क्षेत्रबाट नेपाली कांग्रेसका किशोरसिंह राठौर, एमालेबाट विमला विक, नेकपाबाट सुरेश पन्थ, रास्वपाबाट श्रीधर पोखरेल र नागरिक उन्मुक्ति पार्टीबाट खुसीराम थारू मुख्य प्रतिस्पर्धी छन् ।

null

प्रतिस्पर्धीमध्ये राठौर यसअघि बाँकेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमालेकी उम्मेदवार विक भने पूर्वराज्यमन्त्री हुन् । २०७९ सालको चुनावमा स्वतन्त्रबाट लालवीर चौधरी (रेशम चौधरीका बुबा) ले यो क्षेत्रमा बाजी मारेका थिए । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले २६ हजार तीन सय ८४ मत पाएका थिए । एमालेका पंकज सिंह राठौर भने १६ हजार ९० मतमा समेटिएका थिए ।

अघिल्लो चुनावमा कांग्रेस र माओवादी गठबन्धन हुँदासमेत हारेका पन्थ अहिले पुनः नेकपाबाट उम्मेदवार छन् । समयको कालखण्डमा विभिन्न खेमामा विभाजित भएको नागरिक उन्मुक्ति पार्टीले भने अहिले खुसीरामलाई उम्मेदवार बनाएको छ ।

राठौर बर्दिया–१ मा कांग्रेसको जनमत राम्रो रहेको र आफूले सडक, पुल र विद्यालय स्थापनाका लागि धेरै योगदान पुर्‍याएको भन्दै स्थानीय मतदातासँग मत मागिरहेका छन् । उनी आगामी निर्वाचनमा आफ्नो जित निश्चित रहेको दाबी गर्छन् । विगतमा बाढीले आजित बर्दिया १ का स्थानीय अहिले तटबन्ध र सडक निर्माणपछि सजिलै बाँके र नेपालगन्जसम्म आउजाउ गर्न सक्ने परिस्थिति आफूले बनाएको दाबी राठौरको छ । उनले लोकान्तरसँग भने, ‘पहिला यो क्षेत्रलाई तराईको रुकुम–रोल्पा भनिन्थ्यो । अहिले धेरै विकास भएको छ । त्यसमा मेरो योगदान निकै छ ।’

null

नेकपाका उम्मेदवार सुरेश पन्थ अघिल्लो चुनावमा हारे पनि यस पटक यो क्षेत्रका मतदाताले आफूलाई जिताउनेमा विश्वस्त देखिन्छन् । पन्थले कोरोना महामारीदेखि नै यो क्षेत्रमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार, बर्दिया २ विगतमा पनि माओवादीकै गढ मानिन्थ्यो । अव्यवस्थित बसोबासको व्यवस्थापन, जङ्गल छेउका बस्ती छेक्ने गरी पक्की संरचना र बर्दिया राष्ट्रिय निकुञ्जतर्फबाट अतिक्रमण भएको जग्गाको २०३२ सालको नापीअनुसार रेखाङ्कन गर्न आफूले पहल गर्ने वाचा पन्थले मतदातासामु गरेका छन् ।

मल कुरिरहेका राजापुरका किसान

चुनावी तयारीका लागि दलहरूले घरदैलो गरिरहँदा यहाँका कृषक भने मलखाद नपाएका कारण बर्सेनि अन्न उत्पादनमा ह्रास आउने गरेको गुनासो गर्छन् । राजापुर नगरपालिका–६ मानपुर टपराका बाबुराम थारू भन्छन्, ‘हामी नेता चिन्दैनौँ, चुनावका बेला आउँछन्, आश्वासन दिन्छन्, कृषि उत्पादनकै भरमा हाम्रो परिवार चल्छ । मलखाद नपाएर हामीले धेरै पीडा भोग्नुपरेको छ ।’

null

बाबुरामका अनुसार, मानपुर टपराका कृषकहरू मल नपाएर सुदूरपश्चिमको महेन्द्रनगरदेखि लुम्बिनी प्रदेशका जिल्लाहरू बाँकेको नेपालगन्ज हुँदै दाङसम्म भौँतारिनुपर्ने अवस्था छ । ‘मल नपाएको पीडा हामीले नेतामात्रै होइन, यहाँ सहकारीबाट मल बाँड्ने सरहरूलाई पनि सुनाउँछौँ,’ उनले लोकान्तरसँग भने, ‘मल आउँछ भन्छन् तर, कहिल्यै आइपुग्दैन । मलमा पनि दलालहरूकै दबदबा छ ।’

बाबुरामजस्तै मुसुकलाल थारू पनि बेलामा मलखाद नपाउँदा किसानले असीमित पीडा भोग्नु परेको गुनासो गर्छन् । उनी भन्छन्, ‘भोट त एक दिन दिने हो, हामी सधैँ यहाँ बस्नुपर्छ, परिवार पाल्नुपर्छ । हाम्रो समस्या कसले बुझ्ने, जसलाई भोट दिए पनि केही हुनेवाला छैन । मानपुर टपरामा मुख्य समस्या मलखादसँगै उच्च जग्गामा सिँचाइको पानी नपुग्नु नै हो ।’

null

राजापुरकै वडा नम्बर ८ सरवा गाउँका परना थारू उमेरले ६५ कटे । उनका दुई छोरामध्ये जेठो काठमाडौँमा मिस्त्रीको काम गर्छन् । कान्छो भने स्थानीय विद्यालयमा काम गर्छन् । तर पनि परनालाई परिवार धान्न गाह्रो छ । उनी चुनावमा नेता आउँदा चहलपहल बढे पनि गाउँको विकास र यहाँका स्थानीयको पीडा कुनै नेताले नसम्झने गरेको बताउँछन् ।

null

‘यो क्षेत्रमा बाघ र चितुवासँगै हात्तीले पनि निकै दुःख दिन्छ । किसानले लगाएको धान र गहुँ हात्तीले नष्ट पारिदिन्छ । बाघले त घरपालुवा जनावर गाई, भैँसी र बाख्रा खाएर हैरान पार्छन्,’ परना भन्छन्, ‘उपचार गर्न राम्रो अस्पताल छैन । केही गम्भीर प्रकृतिको रोगको उपचार गर्न त नेपालगन्ज नै पुग्नुपर्छ ।’ परनाका अनुसार, नयाँ र पुरानाले कुनै अर्थ राख्दैन, जुन दलले जिते पनि जनभावना बुझेर काम गरिदिए हुन्थ्यो ।

राजापुर–५ पहाडीपुर गाउँका बासिन्दा किरिमलाल थारू पेसाले इलेक्ट्रिक रिक्सा चालक हुन् । उनी चार वर्षदेखि रिक्सा चलाएर आफ्नो परिवार पालिरहेका छन् । अघिल्लो चुनाव सम्झँदै उनी भन्छन्, ‘यो क्षेत्रमा बाटोघाटो राम्रै छन्, चिल्ला छन्, तर अझै बाढीपीडितहरू पुरानो समस्याबाट मुक्त हुन सकेका छैनन् । जनावर र मानिसबीचको द्वन्द्व नियन्त्रणमा आउन सकेको छैन ।’

उनका अनुसार, पहाडीपुर गाउँका अधिकांश स्थानीय कृषिमै आधारित छन् । खेतबारीमा काम गर्न जाँदा जङ्गली जनावर बाघ र चितुवाले मार्ला भन्ने डरैडरमा काम गर्नुपरेको छ ।

माथि उल्लेखित बाबुराम, मुसुकलाल, परना र किरिमले भोगेका पीडा र समस्याबारे हामीले यहाँका उम्मेदवारहरूसँग समाधानका जिज्ञासा राखेका थियौँ । त्यसको ठोस जवाफ भने कसैले दिएनन् ।

null

राजापुर नगरपालिका–६ मानपुर टपराका चिरञ्जीवी घिमिरेका अनुसार, कुनियाँ गाउँ र राजापुर–१० जोड्ने झोलुङ्गे पुल बनाउन लागेको तीन वर्ष भयो । तर, अहिलेसम्म त्यसले पूर्णता पाएको छैन । समस्याहरूको लामो फेहरिस्त सुनाउँदै उनी भन्छन्, ‘सडक सञ्जालले वडाहरू जोडे पनि कृषि उत्पादनले बजार पाउन सकेको छैन ।’


बर्दिया–१ मा गौतमलाई नयाँको चुनौती

प्रतिनिधिसभा निर्वाचनका लागि बर्दिया क्षेत्र नम्बर १ मा तीन स्वतन्त्रसहित १९ जना उम्मेदवार छन् । नेपाली कांग्रेसले साविक विजेता सञ्जयकुमार गौतमलाई उम्मेदवार बनाएको छ । कांग्रेसका मुख्य प्रतिस्पर्धी दलहरू क्रमशः नेकपा एमालेले शालिकराम अधिकारी, नेकपाले विष्णुप्रसाद चौधरी, रास्वपाले ठाकुरसिंह थारू र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अब्दुल खनाललाई उम्मेदवार बनाएको छ । यीमध्ये गौतम २०७० सालयताका तीनवटा निर्वाचनमा एकल विजेता हुन् ।

अहिले गौतमका प्रतिस्पर्धी विष्णुले २०६४ सालको संविधानसभा निर्वाचनमा कांग्रेसका सञ्जयकुमार चौधरीलाई १० हजार दुई सय मतान्तरले हराएको अभिलेख छ । नेकपाबाट उम्मेदवार उनी अझै पनि थारू समुदायको भोट आफ्नो पोल्टामा पार्ने दाउसहित चुनावमा होमिएका हुन् ।

जिल्लामा स्वच्छ छवि बनाएका उनी सार्वजनिक पदमा रहे पनि कुनै विवादमा मुछिएका छैनन् । थारू समुदायको अधिकारका लागि लडेका उनले समग्र उत्पीडित र सीमान्तकृत वर्गका मुद्दामा जनभावना अनुरूप काम गरेकै कारण त्यसैलाई उपलब्धि बनाएर चुनावमा मत माग्ने रणनीति तय गरेका छन् । उनी विगतमा बर्दियावासीको समस्यालाई लिएर आफ्नै सरकारविरुद्ध माइतीघर मण्डलामा अनसन बस्ने जनप्रतिनिधि पनि हुन् । सायद त्यसैले उनको विषयमा स्थानीय भन्छन्, ‘हक्की नेता छन्, अविश्वास गर्ने कारण छैन ।’

null

त्यसो त रास्वपाका ठाकुरसिंह थारू विगतमा एमालेबाट नागरिक उन्मुक्ति पार्टी हुँदै रास्वपा प्रवेश गरेका हुन् । उनी २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । तर, कांग्रेसका अहिलेकै उम्मेदवार गौतमसँग उनले हार व्यहोरे । अहिले उनै थारू गौतमसँग चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस र एमालेसँग नजिक रहेका मतदाताले थारूलाई ढुलमुले प्रवृत्तिका रूपमा बुझ्दै आएका छन् । तर, युवा जगत्मा भने थारू लोकप्रिय छन् ।

जनमत पार्टी परित्याग गरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका पूर्वमन्त्री अब्दुल खानले पनि थारूकै मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने रणनीति बनाएका छन् । तर, उनलाई त्यति सजिलो भने देखिँदैन । दलीय प्रतिस्पर्धामा उनी तेस्रो रहेको यहाँका मतदाताहरू बताउँछन् ।

गुलरिया बजार बस्ने मोहम्मद आरिफ दर्जीका अनुसार बर्दिया १ मा कांग्रेस बलियो छ । विगतदेखि नै कांग्रेसले एकछत्र राज गर्दै आएको यो क्षेत्रमा अहिले पनि निर्विवाद गौतमले बाजी मार्ने आकलन दर्जीको छ ।

उनी भन्छन्, ‘मैले कुनै दलप्रति धारणा बनाएको छैन, तर हरेक निर्वाचनलाई नजिकबाट नियालिरहेको छु । कांग्रेसका गौतमले सडकदेखि सिँचाइ हुँदै बाढीबाट जोगाउन तटबन्ध निर्माणमा उल्लेखनीय काम गरेकाले माहोल उनीतिरै देख्छु । नयाँ पनि कमजोर भने छैनन् ।’

जब्दीघाटमा उद्घाटन हुन लागेको पुल भासिएपछि गौतम पार्टी सरकारमै रहेका बेला काठमाडौँमा अनसनमा बसेर वार्तामा ल्याई पुनः पुनर्निर्माणका लागि बजेट राख्न प्रतिबद्धता जनाउन सफल भएका थिए । ‘आफ्नै पार्टी गठबन्धनको सरकारमा रहेका बेला गौतमले हिम्मतका साथ अनसनमा बसेर पुल निर्माणका लागि केन्द्रीय सरकारलाई बाध्य बनाए,’ दर्जीले लोकान्तरसँग भने, ‘एउटा नेताले आफ्नो राजनीतिक स्वार्थभन्दा माथि उठेर आफ्नै दलको गठबन्धन सरकारलाई चुनौती दिए । यो कार्यले पनि उनको मान बढाएको छ, अब मतदाताले के गर्छन्, मैले उसै भन्न सक्दिनँ ।’

null

उनका अनुसार, यहाँका उम्मेदवारले जब्दीघाटमा भासिएको पुल निर्माण, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, किसानलाई मलखाद, सिँचाइ तटबन्धलगायत रोजगारी सिर्जनाजस्ता विषयलाई चुनावी मुद्दा बनाएका छन् । गौतमले २०७४ सालको चुनावमा वामदेव गौतमलाई पराजित गरेका थिए ।

त्यतिबेला उनले ४४ हजार ८ सय ३४ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत पाएका थिए । २०७९ सालको चुनावमा गौतमले एमालेकै लक्ष्मण ज्ञवालीलाई पराजित गरेका थिए । ज्ञवालीले २६ हजार एक सय २५ मत ल्याउँदा गौतमले झन्डै चार हजार बढी (३० हजार ६ सय ११) मत प्राप्त गरेका थिए ।

तत्कालीन समयमा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारू (अहिले रास्वपा उम्मेदवार) २३ हजार नौ सय २३ मत ल्याएर तेस्रो बनेका थिए । समग्रमा दुईवटा निर्वाचन क्षेत्र रहेको बर्दियामा यतिबेला चुनावी सरगर्मी बढेको छ तर, बाजी कसले मार्ने हो सहजै भन्न सकिने अवस्था छैन ।

salt training

कमेन्ट गर्नुहोस्