
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा मंगलबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ।
स्कटल्याण्डले दिएको १७१ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गर्दै अविजित अर्धशतक प्रहार गरे। उनले मात्र २३ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतले ५० रन जोडे। दीपेन्द्रलाई गुल्सन झाले १७ बलमा २४ रन बनाएर उत्कृष्ट साथ दिए। यी दुई ब्याटरले चौथो विकेटका लागि अविजित साझेदारी गर्दै खेल ४ बल बाँकी छँदै नेपालको पक्षमा पारेका थिए।
यसअघि, १७१ रनको लक्ष्य पछ्याउने क्रममा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको बलियो ओपनिङ साझेदारी गर्दै नेपाललाई जितको आधार तय गरिदिएका थिए। कुशलले ३५ बलमा ४३ रन (१ चौका, ४ छक्का) र आसिफले २७ बलमा ३३ रन बनाए। कप्तान रोहित पौडेल भने १६ रन बनाएर आउट भए।
स्कटल्याण्डका बलर माइकल लिस्कले ३ विकेट लिए पनि अन्य बलरहरू नेपाली ब्याटरसामु प्रभावहीन देखिए।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। उसका लागि ओपनर माइकल जोन्सले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै जर्ज मुन्सेले २७ र ब्रान्डन म्याकमुलनले २५ रन बनाए। एक समय १० ओभरमा ८० रन बनाएर विष्फोटक सुरुवात गरेको स्कटल्याण्डलाई मध्य र अन्तिम ओभरमा नेपाली बलरहरूले कसिलो बलिङ गर्दै रोकेका थिए।
नेपालको बलिङतर्फ अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यस्तै नन्दन यादवले २ विकेट चट्काए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट हात पारे।
यो सानदार जितसँगै विश्वकपको समूह चरणमा नेपालले महत्वपूर्ण २ अंक बटुलेको छ। तर यसअघिको खेलमा पराजित भएकाले नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ । तर आजको जित नेपालको लागि महत्वपूर्ण छ । विश्वकपमा नेपालको यो १२ वर्षपछिको पहिलो जित हो ।