२८ जेठ २०८३, बिहीबार
चुनावी ग्राउन्ड जिरो

रूकुमपूर्वमा पनि चलिरहेको छ नयाँको मन्द बतास, प्रचण्डलाई भने सहज

फागुन ७, २०८२
रुकुम पूर्व
रूकुमपूर्वमा पनि चलिरहेको छ नयाँको मन्द बतास, प्रचण्डलाई भने सहज

सुरक्षित निर्वाचन क्षेत्र खोज्दै रूकुम पुगेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेको विकट पहाडी जिल्लामा पनि ‘यसपटक नयाँलाई’ भन्ने मन्द बतास चलेको छ । निर्णायक नभए पनि रूकुमका युवामा पनि नयाँ दलप्रति आकर्षण रहेको पाइएको छ ।

‘हेवीवेट’ उम्मेदवार प्रचण्ड अहिलेसम्म रूकुममा सुरक्षित देखिन्छन्, तर उनी पनि चैनले बस्न भने पाएका छैनन् । त्यसैले उनी उम्मेदवार मनोनयन पछिका अधिकांश समय जिल्लाका मतदाता रिझाउनमै व्यस्त देखिन्छन् ।

सदरमुकाम रूकुमकोटमा स्टेसनरी र पुस्तक पसल सञ्चालन गर्दै आएका विजय गौतमले युवाहरू नयाँ पार्टी र परिपक्व बनेकाहरू पुराना पार्टीको पक्षमा देखिएको बताए । ‘नयाँ युवाले घण्टी घण्टी भनिरहेका छन्, अलिकति उमेर पुगेकाहरू आफ्नै पार्टीको पक्षमा लागिरहेको देखिन्छ,’ गौतमले लोकान्तरसँग भने, ‘तर समानुपातिकमा धेरैले नयाँ पार्टीलाई भोट हाल्ने सम्भावना छ ।’

भूमे ३ का डेनी गुरूङले युवाहरूले नयाँ पार्टीको पक्षमा अपेक्षा राखेको भए पनि कमजोर उम्मेदवारका कारण सोचेजस्तो माहोल नबनेको बताए । ‘नयाँ–नयाँ त भनिरहेका छन्, तर प्रचण्डलाई टक्कर दिनेखालको उम्मेदवार भएन,’ उनले भने ।

कविन्द्र गौतम, विजय गौतम, लालबहादुर विक र समर्पण मल्ल ।

भूमे ८ का दुर्गा विकले प्रत्यक्षमा प्रचण्ड या अन्य पुराना उम्मेदवारलाई भोट दिए पनि समानुपातिकमा रास्वपाले भोट पाउने बताए । ‘बालेनको आकर्षणले घण्टी भन्ने पनि छन्, समानुपातिकमा उनीहरूले पनि राम्रै भोट पाउने देखिन्छ,’ उनले भने ।

भौगोलिक रूपले विकट नै भए पनि मध्यपहाडी लोकमार्गको बाटोले रूकुमलाई अहिले सहज बनाइदिएको छ । सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले यहाँका मतदाताहरूमा पनि देशका अन्य भागमा जस्तै नयाँलाई अवसर दिनुपर्छ भन्ने बतास लागेको छ ।

सिस्ने गाउँपालिका ४ नयाँढाकाका यमराज घर्तीले रूकुममा यसपटक नयाँको चर्चा रहेको बताए । ‘नयाँ दल र युवालाई अवसर दिनुपर्छ भन्ने युवाको संख्या धेरै छ,’ घर्तीले भने ।

null

‘नयाँलाई दिने हो, हामी बिक्छौँ भन्ने ठान्नुभएको छ ?’

गाउँदेखि बजारसम्म अधिकाशं ठाउँमा फुर्सदिला पुरूषहरू ग्रुपमा जम्मा भएर क्यारेम्बोड या लुडो खेलेर बसिरहेका भेटिन्छन् । ती भेटघाटमा पनि चर्चा भने चुनावकै भइरहेको पाइयो ।

भूमे गाउँपालिका १ गकारमा भेटिएका याचा पुनमगरले यसपटक नयाँलाई मत दिने पक्षमा रहेको बताए । ‘सबैले नयाँ नयाँ भनिरहेका छन्, हामीले पनि नयाँलाई दिने हो । घण्टीमा भोट हाल्ने हो,’ पुनले भने, ‘नयाँलाई भोट दिन हाम्लाई कल्ले रोक्छ ? हामी बिक्छौँ भन्ने ठान्नुभएको छ ?’

केही समय कतारमा काम गरेर फर्केका पुथा १४ का निशान बुढाले पनि नयाँ दललाई भोट दिने योजना बनाएको बताए । ‘बालेन प्रधानमन्त्री भएभने देशमा विकास र रोजगारी हुन्छ कि भन्ने आशाले युवाहरू नयाँलाई दिनुपर्छ भनिरहेका छन, यहाँबाट समानुपातिकमा पनि धेरै मत आउने सम्भावना छ,’ मगरले भने ।​

null

पुथा उत्तरगंगा ७ का हिमबहादुर पुनले पनि यसपटक नयाँलाई भोट दिने विचार गरेको बताए । ‘नयाँलाई दिने हो, दिएपछि देशमा नयाँ आउलान् भन्ने आश छ,’ पुनले भने ।​

भूमे गाउँपालिका २ काँक्रीका मानबहादुर चन्दले यसपटक नयाँलाई भोट दिनुपर्छ भन्ने चर्चा रूकुममा पनि सुनिएको बताए । ‘यसपटक नयाँलाई दिनुपर्छ भन्ने चर्चा छ, नयाँ पार्टीमध्ये रास्वपाकै बढी चर्चा छ,’ चन्दले भने ।

रास्वपाबाहेक अन्य नयाँ दलका उम्मेदवारको पनि मतदाताले फाट्टफुट्ट नाम लिइरहेका छन् । कतिपयले माओवादी जनयुद्धको शहीदका छोरा सन्दीप पुनको नाम लिए भने कतिपयले हर्क साम्पाङको श्रम संस्कृति पार्टीको समेत नाम लिए ।

रूकुमकोटमा भेटिएका अटो चालक तपस घर्तीले यसपटक माटोको उम्मेदवारलाई भोट दिने बताए । ‘यसपटकको भोट त ड्याङ्गै माटोलाई दिने हो, अरूलाई हेरिसकेको हो,’ घर्तीले भने ।

याचा पुनमगर, मान बहादुर चन्द, हिमबहादुर पुन र नरबहादुर बुढा ।

अर्का युवा पूर्ण घर्तीले भने विप्लव नेतृत्वको नेकपाको उम्मेदवारलाई भोट दिने बताए । पुथा ८ का समर्पण मल्लले नयाँ पार्टीको पक्षमा पनि चहलपहल शुरू भएको बताए । माओवादी उद्गम थलो रहेको रूकुममा विप्लवको पार्टीको चुनाव चिन्ह गुलाबको त्यति धेरै प्रचार भइसकेको छैन ।

रूकुमकोटमा नेकपा कार्यालय रहेको घरमै स्टेसनरी व्यापार गरिरहेका कविन्द्र कल्याण गौतमले नयाँको चर्चा भए पनि जीत पुरानैको हुने बताए । ‘रूकुमपूर्वमा ११ जना उम्मेदवार उठेका छन्, सबैले जित्छु त भनिरहेका छन्, तर प्रचण्डको विकल्प देखिँदैन,’ गौतमले भने ।

विगतमा माओवादी समर्थक रहेका तर अहिले स्वतन्त्र रहेका सिस्ने ६ का होमलाल शर्माले माहोल नेकपाको पक्षमा देखिएको बताए । ‘नयाँ–नयाँ पनि भनिरहेका छन्, तर यहाँ नयाँ दलका उम्मेदवारले जितिहाल्ने अवस्था छैन,’ शर्माले भने ।

‘अब प्रचण्डले विकास गर्नुहुन्छ भन्ने आश छ’

भूमे २ काक्री बजारका नरबहादुर बुढाले देशमा गणतन्त्र स्थापनाका लागि लडेका प्रचण्ड रूकुमबाट चुनाव लड्न आउँदा स्थानीय मतदाता खुसी भएको बताए । ‘देशमा परिवर्तनका लागि ठूलो बलिदानी गरेको जिल्ला हो, प्रचण्ड सर यसपटक चुनाव लड्न आउनुभएको छ । रूकुमका जनताले उहाँलाई भारी मतले जिताएर पठाउँछन्,’ बुढाले भने ।

मञ्जु बुढा, लीलालेवी सुनार र लक्ष्मी घिसिङ लगायत ।

भूमे २ मेरावाङकी लीलादेवी सुनारले रूकुमपश्चिममा अन्य उम्मेदवारले चुनाव जित्ने सम्भावना नरहेको बताइन् । ‘अरू दलका उम्मेदवारको अलिअलि चर्चा भए पनि सबैले तारा तारा भनिरहेका छन्, चुनाव जित्ने प्रचण्डले नै हो,’ सुनारले भनिन् ।

ललितपुरको चापागाउँमा माइती रहेकी लक्ष्मी घिसिङ रूकुमकोटमा व्यवसाय गरेर बसेकी छन् । देशका अन्य भागमा नयाँको पक्षमा माहोल देखिए पनि रूकुममा त्यस्तो नरहेको उनले दाबी गरिन् । ‘अन्य दलको पनि चर्चा छ, तर देखिने खालको छैन,’ घिसिङले लोकान्तरसँग भनिन्, ‘यहाँ पुरानैको दबदबा छ । अन्तिममा जित्ने ताराले नै हो ।’

भूमे २ काक्रीकी मन्जु बुढा पनि रूकुममा प्रचण्डकै सम्भावना देख्छिन् । ‘आउन त अन्य उम्मेदवार पनि आउनुभएको छ । तर चुनाव जित्ने माहोल प्रचण्डकै छ । किनभने यो माओवादीको प्रभाव रहेको ठाउँ हो,’ बुढाले भनिन् ।

जिल्लामा माओवादी सरकारका पालामा विकास भएकाले मतदाता अझै पनि प्रचण्डलाई भोट दिने पक्षमा रहेको उनले बताइन् ।

संगम सुनार, मानसिंह मल्ल, टपस गुरूङ र दिलिप खड्का ।

रूकुमकोटकी कल्पना मल्लले देशको कान्छो जिल्ला र नयाँ सदरमुकाम भएकाले प्रचण्डले चुनाव जितेर गएपछि विकास हुने अपेक्षा राखेको बताइन् । ‘यो कान्छो जिल्लाको सदरमुकाम त्यति व्यवस्थित छैन, यहाँ खानेपानीको समस्या छ । बाटा पनि व्यवस्थित छैनन्,’ मल्लले भनिन्, ‘प्रचण्ड फेरि प्रधानमन्त्री बन्नुभयो भने यहाँको विकासले फड्को मार्छ,’ उनले भनिन् ।

पुथा १४ का संगम सुनारले चर्चित नेता भएकाले प्रचण्डकै पक्षमा माहोल देखिएको बताए । ‘कांग्रेस–एमालेका उम्मेदवारहरू हिँडिरहेका भए पनि अन्तिममा जित्ने प्रचण्डले नै हो, अरूको चान्स छैन,’ सुनारले भने ।

भूमे ३ मोरावाङका मानसिंह मल्लले प्रचण्ड आएपछि जिल्लामा विकास हुन्छ कि भन्ने आशाले मतदाता आकर्षित भइरहेको बताए । ‘नयाँको पनि अलिअलि चर्चा छ । आएका सबैले हामीले जित्छौँ त भनिरहेका छन्, तर अन्तिममा जित्ने प्रचण्डले नै हो,’ मल्लले भने । पुथा १२ का टपस गुरूङले पनि प्रचण्डकै सम्भावना रहेको बताए ।

null

पुथा १२ कै सुरेन्द्र मल्लले केन्द्रीय नेता भएकाले प्रचण्डको पक्षमा राम्रो माहोल देखिएको बताए । ‘प्रचण्ड आएपछि रूकुमको विकासमा कोशेढुंगा हुन्छ भन्ने यहाँका मतदाताको अपेक्षा छ,’ मल्लले भने ।

प्रचण्डको छायाँमा कांग्रेस–एमालेका उम्मेदवार

विगतदेखि नै माओवादी (हाल नेकपा)को दबदबा रहेको रूकुमपूर्वमा नेपाली कांग्रेस र नेकपा एमाले रक्षात्मक देखिएका छन् । ‘हेवीवेट’ प्रचण्ड उम्मेदवार बनेपछि कांग्रेस–एमालेका उम्मेदवार छायाँमा परेका हुन् ।

कांग्रेसबाट निवर्तमान समानुपातिक सांसद कुसुमदेवी थापा उम्मेदवार छिन् । रूकुमकोटका कांग्रेसका समर्थक रेशम थापा आफूहरूको पक्षमा राम्रो माहोल रहेको दाबी गर्छन् । ‘हाम्रो उम्मेदवार यहीको चेली हो, अन्यत्र हारिन्छ भनेर आएको टुरिस्ट उम्मेदवार होइन,’ थापाले लोकान्तरसँग भने, ‘परिवर्तन चाहने रूकुमका दिदीबहिनीले कुसुमदेवी थापालाई चुनाव जिताएर इतिहास कायम गर्छन् ।’

चानसरी पुन लगायत

चानसरी पुनले एमालेलाई भोट दिने बताइन् । ‘प्रचण्ड आए पनि हामीलाई मतलब छैन, एमालेलाई भोट दिने हो ।’

रूकुमकोटका विकास रोका मगरले यसपटक नयाँलाई हेर्ने विचार गरेको बताए । ‘सन्दीप पुन शहीद परिवारका सदस्य हुन्, यसपटक उनलाई दिऔं कि भन्ने विचार आएको छ । हेरौँ के हुन्छ ?’ उनले भने ।

माओवादी पार्टीका अर्का उम्मेदवार, प्रचण्ड माओवादीकै नेता !

देशकै कान्छो जिल्ला, अत्यन्तै कम मतदाता, जनजातिको बाहुल्यता र ‘माओवादी जनयुद्ध’को छाप बाँकी रहेको रूकुमपूर्वमा प्रचण्ड अन्य दलका शीर्ष नेताको तुलनामा सुरक्षित देखिन्छन् । उनलाई टक्कर दिने अरू हेभीवेट उम्मेदवार नभएका कारण पनि प्रचण्डले डोमिनेट गरिरहेका छन् ।

प्रचण्ड उम्मेदवार रहेको क्षेत्रमा कांग्रेसबाट कुसुमदेवी थापा, एमालेबाट लीलामणि गौतम, रास्वपाबाट लखनकुमार थापा उम्मेदवार छन् । यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन र विप्लव नेतृत्वको नेकपा माओवादीबाट जुद्धबहादुर बुढा मगर उम्मेदवार छन् ।

null

रोचक कुरा– झण्डै ३ दशकदेखि माओवादीको नाम सुन्दै आएका स्थानीय मतदाताहरू अहिले पनि प्रचण्डलाई ‘माओवादी’ उम्मेदवार भनेर झुक्किन्छन् । २०५२ सालमा सशस्त्र जनयुद्ध शुरू भएपछि २०८२ कात्तिक १९ सम्म (२०७५–०७७ मा एमालेसँग पार्टी एकता भएको समयबाहेक) प्रचण्डको पार्टीले अगाडि या पछाडि माओवादी नाम झुन्ड्याउँदै आएको छ ।

देशका अन्य क्षेत्रमा ०७९ सालको निर्वाचनमा पाएको मतको खासै अर्थ नभए पनि रूकुमपूर्वमा धेरथोर मिल्छ । पुथाउत्तरगंगा, भूमे र सिस्ने गरी ३ वटा स्थानीय तह रहेकोमा ०७९ सालको चुनावमा तत्कालीन माओवादीले ३ वटै पालिका जितेको थियो । कांग्रेससँग तालमेल गरेको माओवादीका पूर्णबहादुर घर्ती फराकिलो मतान्तरले विजयी भएका थिए ।

घर्तीले १२ हजार मत पाउँदा एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत पाएका थिए । चुनावी प्रचारमा घरदैलो गरिरहेका प्रचण्डले जिल्लाको विकासलाई नै मूल मुद्दा बनाइरहेको मतदाताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्