
अमेरिकाबाट निरन्तर आक्रमणको धम्की आइरहेका बेला इरान र रूसले ओमान सागर र उत्तरी हिन्द महासागरमा संयुक्त नौसैनिक अभ्यास गरेका छन् ।
मध्यपूर्वमा बढ्दो तनावका बीच यी दुई शक्ति राष्ट्रले आफ्नो सामरिक उपस्थिति र सैन्य सहकार्य प्रदर्शन गरेका हुन् ।
संयुक्त अभ्यासका प्रवक्ता रियर एडमिरल हसन मगसुदलूका अनुसार यस युद्धाभ्यासको मुख्य उद्देश्य समुद्री सुरक्षा अभिवृद्धि गर्नु र दुई देशबीचको नौसैनिक सहयोगलाई थप मजबुत बनाउनु रहेको छ ।
रुसी रक्षा मन्त्रालयले पनि यस हप्ता आफ्नो एक नौसैनिक जहाजले इरानी नौसेनासँग मिलेर गल्फ अफ ओमानमा अभ्यास गरेको पुष्टि गरेको छ ।
यो सैन्य अभ्यास यस्तो समयमा भएको छ जब अमेरिकाले इरान नजिकै आफ्ना अत्याधुनिक युद्धपोतहरू तैनाथ गरेको छ र तेहरानमाथि दबाब बढाएको छ । यद्यपि, तनावका बीच अमेरिका र इरानबीच 'अप्रत्यक्ष' वार्ताहरू पनि जारी रहेका छन् । रुसले मध्यपूर्वमा अमेरिकी सैन्य संसाधनको बढ्दो उपस्थितिले यस क्षेत्रमा तनाव पहिलेभन्दा निकै खतरनाक स्तरमा पुगेको टिप्पणी गरेको छ ।
मस्कोले इरान र अन्य सम्बन्धित पक्षहरूलाई परिस्थिति नियन्त्रण बाहिर जान नदिन र थप द्वन्द्व निम्त्याउने खालका गतिविधि नगर्न संयम र सावधानी अपनाउन अपील गरेको छ । रूस र इरानबीच लामो समयदेखि रणनीतिक साझेदारीको सम्झौता कायम छ, तर यो सम्झौतामा एक-अर्काको रक्षाका लागि प्रत्यक्ष सैन्य हस्तक्षेप गर्ने प्रावधान भने समावेश छैन ।
पछिल्लो समयमा पश्चिमी देशहरूको दबाब र नाकाबन्दी झेलिरहेका रुस र इरानबीच बढ्दो सैन्य र रणनीतिक निकटतालाई अन्तर्राष्ट्रिय जगतले विशेष चासोका साथ हेरिरहेको छ । समुद्री मार्गमा आफ्नो पकड बलियो बनाउन र अमेरिकी वर्चस्वलाई चुनौती दिन यी दुई देशले यस्ता संयुक्त अभ्यासहरूलाई निरन्तरता दिँदै आएका छन् ।