१७ असार २०८३, बुधबार

अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु

फागुन ८, २०८२
काठमाडौं
अस्ट्रियामा हिमआँधीमा परी दुई जनाको मृत्यु

अस्ट्रियामा शुक्रबार आएको ठूलो हिमआँधीका कारण व्यापक क्षेत्रमा विद्युत सेवामा अवरोध आएको छ।

आँधीका कारण सडकमा रूख ढल्ने र सडक भत्किने समस्याले यातायात सेवासमेत प्रभावित भएको छ। हिउँमा पुरिएका एक व्यक्तिसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उत्तरी सहर लिन्जको आवासीय परिसरमा छानाबाट हिउँको थुप्रो खस्दा ५३ वर्षीय एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

पश्चिमी टायरोल क्षेत्रमा हिमपहिरोमा परी जर्मनीका एक हिमक्रीडा खेलाडीको मृत्यु भएको प्रहरीले जनाएको छ।

अल्पाइन राष्ट्र अस्ट्रियामा बिहीबारदेखि परेको हिउँ जमिनमा ४० सेन्टिमिटर (१६ इन्च) सम्म जमेको छ। यसले दक्षिणपूर्वी अस्ट्रियाको ग्राज सहर वरपरको क्षेत्रमा हिमपहिरोको जोखिम बढाएको छ।

भियना अन्तर्राष्ट्रिय विमानस्थलले बिहान सबै उडान अस्थायी रूपमा रोकिएको र दिउँसोका उडान केही समय अवरुद्ध भएको जनाएको छ।

भियना वरपरको मुख्य राजमार्गमध्ये एक अनिश्चित समयका लागि बन्द गरिएको थियो भने अन्य राजमार्गका भागहरू हिउँको बहाव, अलपत्र सवारीसाधन वा खराब दृश्यताका कारण अवरुद्ध भएका थिए, राष्ट्रिय मोटर चालक संघले जनाएको छ।

विद्युत कम्पनीहरूले स्टायरियासहित दक्षिण र पूर्वका धेरै क्षेत्रमा बिजुली कटौती भएको जनाएका छन्, जहाँ ३० हजार परिवारमा विद्युत सेवा प्रभावित भएको छ।

छिमेकी स्लोभेनियामा पनि ४० हजार घरपरिवार प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्