
कोलम्बोमा हुने तय भएको पाकिस्तान र न्यूजिल्याण्डबीचको टी-२० विश्वकपको महत्वपूर्ण सुपर-८ खेल वर्षाका कारण रद्द भएको छ।
शनिबार साँझ पाकिस्तानका कप्तान सलमान आगाले टस जितेर बलिङ गर्ने निर्णय गरे तापनि खेल सुरु हुनुअघि नै भारी वर्षा भएपछि एक बल पनि नफ्याकी खेल टुङ्गिएको हो।
झण्डै साढे दुई घण्टाको पर्खाइपछि म्याच रेफ्रीले खेल सम्भव नभएको भन्दै रद्द गर्ने निर्णय गरेसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। जारी प्रतियोगितामा वर्षाका कारण खेल रद्द भएको यो दोस्रो पटक हो । यसअघि जिम्बाब्वे र आयरल्याण्डबीचको खेल पनि खराब मौसमकै कारण रद्द भएको थियो।
यो खेल रद्द भएसँगै दुवै टोलीका लागि सेमिफाइनलको समीकरण निकै कठिन बनेको छ। अब अन्तिम चारमा स्थान सुरक्षित गर्न पाकिस्तान र न्यूजिल्याण्ड दुवैले आफ्ना बाँकी दुई खेल अनिवार्य रूपमा जित्नुपर्ने दबाब सिर्जना भएको छ। समूह-२ मा रहेका यी दुई टोलीले अब इङ्गल्याण्ड र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्न बाँकी छ।
टसका बेला दुवै टोलीले आफ्ना मुख्य खेलाडीसहितको बलियो प्लेइङ-११ मैदानमा उतारेका थिए। पाकिस्तानको नेतृत्व सलमान आगाले गरिरहेका छन् भने न्यूजिल्याण्डको कप्तानी मिचेल सेन्टनरले सम्हालिरहेका छन्।
कोलम्बोको मौसमले खेल रोकेपछि दुवै टोलीका समर्थकहरू निराश बनेका छन् भने अब सबैको नजर यस समूहका आगामी खेलहरूमा केन्द्रित भएको छ।