
टी-२० विश्वकपको सुपर–८ चरण अन्तर्गत आज तेस्रो खेलमा दुई बलिया टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुने यो खेलले गत वर्षको विश्वकप फाइनलको सम्झना ताजा गराउनेछ।
सन् २०२४ को फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै १७ वर्षपछि विश्वविजेता बनेको थियो । आजको खेल दक्षिण अफ्रिकाका लागि बदला लिने अवसर समेत हुनेछ।
दुवै टोली जारी विश्वकपको समूह चरणमा अपराजित रहँदै सुपर–८ मा प्रवेश गरेका हुन्। भारतले अमेरिका, नामिबिया, पाकिस्तान र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले क्यानडा, अफगानिस्तान, न्यूजिल्याण्ड र युएईलाई हराउँदै समूह 'डी' को शीर्ष स्थान ओगटेको थियो।
हालसम्म यी दुई टोलीबीच भएका ३५ टी–२० अन्तर्राष्ट्रिय खेलमा भारत २१ र दक्षिण अफ्रिका १३ खेलमा विजयी भएका छन्। विश्वकपको इतिहासमा सात पटक भेट हुँदा भारतले ५ र दक्षिण अफ्रिकाले २ खेल जितेका छन्।
खेलाडीहरूको प्रदर्शनलाई हेर्दा भारतका लागि इशान किशनले ४ खेलमा १७६ रन बनाउँदै ब्याटिङ सम्हालिरहेका छन् भने बलिङमा वरुण चक्रवर्तीले ९ विकेट लिएर उत्कृष्ट लय देखाएका छन्।
अर्कोतर्फ, दक्षिण अफ्रिकी कप्तान एडेन मार्करमले १७८ रन बनाएका छन् भने तीव्र गतिका बलर लुंगी एनगिडीले ३ खेलमा ८ विकेट झार्दै भारतीय ब्याट्सम्यानलाई चुनौती दिने तयारीमा छन्। भारतीय ओपनर अभिषेक शर्मा लगातार तीन खेलमा शून्यमा आउट भएर दबाबमा रहे पनि कप्तान सूर्यकुमार यादवले उनलाई पूर्ण समर्थन गर्दै टोलीले साथ दिने बताएका छन् ।
आजको खेलमा भारतीय टोलीमा एक परिवर्तनको सम्भावना छ। अघिल्लो खेलमा आराम दिइएका उपकप्तान अक्षर पटेल टोलीमा फर्कन सक्नेछन्। अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको पिच ब्याटिङका लागि निकै अनुकूल मानिन्छ ।