२१ जेठ २०८३, बिहीबार
काठमाडौं-८ को फरक दृश्य

विराजप्रति नेवार समुदायकै असन्तुष्टि, रास्वपालाई भारी पर्न सक्छन् सुमन [भिडियो]

फागुन १०, २०८२
काठमाडौं
विराजप्रति नेवार समुदायकै असन्तुष्टि, रास्वपालाई भारी पर्न सक्छन् सुमन [भिडियो]

काठमाडौं क्षेत्र नम्बर ८ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । गल्ली–गल्लीमा पोस्टर, झण्डा र नाराको भिडभाड भए पनि मतदाता भने चुपचाप तर गम्भीर निर्णयको तयारीमा देखिन्छन् ।
 
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुँदा स्वतन्त्र उम्मेदवार सुमन सायमी झिनो मतान्तरले पराजित भएका थिए । अहिले सुमन नेपाली कम्युनिस्ट पार्टीबाट मैदानमा छन् । रास्वपाबाट विराज नै उम्मेदवार छन् । त्यसकारण यो पटक प्रतिस्पर्धा अझै पेचिलो हुने संकेत देखिन्छ ।

हामीले काठमाडौं–८ का मतदातासँग कुराकानी गर्दा उनीहरूले अघिल्लो अनुभव र वर्तमान आशा खुलस्त रूपमा सुनाए ।

स्थानीय मतदाता जगदीश श्रेष्ठले विगतका निर्वाचित प्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गरे । उनले यसअघि समुदायको नाममा जिताइएका प्रतिनिधि जनतामाझ फर्केर नआएको गुनासो गर्दै यसपटक परिवर्तनको चाहना रहेको बताए ।

‘नयाँ र पुराना सबै उस्तै हुन् । यो भन्दा अगाडि नेवार भनेर विराजलाई जिताएको फर्केर आएनन् । यो पटक सुमनले जितेको हेर्न मन छ । केही गर्छन् कि भन्ने आशा छ’, उनले भने ।

रामचन्द्र कँडेलले देशव्यापी माहोललाई आधार मान्दै यसपटक पनि ‘घण्टी’ पक्ष बलियो देखिएको धारणा राखे । नयाँलाई नै अवसर दिनुपर्ने आफ्नो सोच रहेको उनले बताए ।

‘देशव्यापी घण्टीकै माहोल छ । गत चुनावमा पनि घण्टीले नै जितेको हो, यो पटक पनि जित्छ जस्तो लाग्छ । यो पटक नयाँलाई नै हेर्ने हो’, उनले भने  । 

नयाँ र पुरानाबीच प्रतिस्पर्धा रोचक हुने स्थानीय रूपेश सिमालले आकलन गरे । अघिल्लो जितको आधारमा एक पक्ष बलियो देखिए पनि स्थानीय तहको समीकरणले परिणाम फरक हुन सक्ने उनको भनाइ छ ।

‘नयाँ र पुरानाको प्रतिस्पर्धा रोचक हुन्छ । यहाँबाट पहिले घण्टीले जितेको हुनाले राम्रो देखिन्छ । प्रदेश र वडामा राप्रपाले जितेको हुनाले यो पटक राप्रपाले जित्छ कि भन्ने पनि लाग्छ’, उनले भने ।

निर्वाचित प्रतिनिधिले देखाएको दूरीप्रति असन्तुष्टि जनाउँदै यसपटक नयाँ अनुहारप्रति झुकाव रहेको काजीबाबू खड्काको भनाइ छ ।

‘विराजले पहिले जितेर अत्तोपत्तो छैन । भोट माग्न आएको बेला पनि मैले केही काम भएन भनेँ । जे होस्, नयाँ अनुहारले जितोस् । जसले जिते पनि राम्रो होस् । यो पटक परिवर्तन हुन्छ भन्ने लाग्छ’, उनले भने ।

विकास र रोजगारीलाई प्राथमिकता दिनुपर्ने व्यवसायी कृष्ण ढकालले बताए । उनले प्रतिस्पर्धा कडा हुने संकेत गर्दै एमाले, कांग्रेस, रास्वपा र नेकपाका उम्मेदवारको प्रभाव रहेको धारणा राखे ।

‘जो आए पनि राम्रो मान्छे आओस् । हामी व्यवसायीलाई देश विकास गर्ने प्रतिनिधि चाहिएको छ । माहोल नयाँको छ । कांग्रेसको उम्मेदवार पनि राम्रो हुनुहुन्छ, सुमन सायमी पनि चर्चित मान्छे हुन्, विराजको पनि राम्रै छ । जसले जिते पनि युवालाई रोजगारीमा जोड्न सकून्’, उनले भने ।

स्थानीय मतदाता सरिता महर्जनले भने मुख्य प्रतिस्पर्धा विराज र सुमनबीच हुने धारणा राखिन् । उनले यसपटक सुमनले जित्ने बताइन् ।

‘यहाँ प्रतिस्पर्धा विराज र सुमनको नै हुन्छ । अघिल्लो पटक झिनो मतान्तरले सुमन हारेका थिए । त्यसैले यो पटक सुमनले जित्छन् भन्ने लाग्छ । विराजले पनि जितेर केही गरेनन्’, उनले भनिन् ।

स्थानीय मुद्दा नजिकबाट बुझेको हुनाले सुमन सायमीको पल्लाभारी हुने उमेश स्थापितको भनाइ छ । उनले सुमनलाई जिताउन आफू अभियानमै सक्रिय रहेको जानकारी पनि दिए ।

‘नागरिकका मुद्दा नजिकबाट बुझेको र यो क्षेत्रमा भिजेको मान्छे सुमन नै हुन् । यसपटक हामी सबैले सुमनलाई हेर्नुपर्छ भन्ने लागेर म चुनावी अभियानमै लागेको छु’, उनले भने ।

शान्ति श्रेष्ठले भने मतदातामा निराशा र दुविधा दुवै रहेको संकेत गरिन् । उनले यसपटक नयाँलाई हेर्ने विचार सुनाइन् ।

‘नयाँ र पुराना सबै उस्तै हुन् । जसले जिते पनि हामीलाई खासै आश छैन । तर यो पटक नयाँलाई हेरौं कि भन्ने लागेको छ’, उनले भनिन् ।

काठमाडौं–८ मा चुनावी प्रतिस्पर्धा गत चुनावको झिनो मतान्तरको स्मरणसँगै अझ पेचिलो बन्ने संकेत देखिन्छ । मतदातामा परिवर्तनको चाहना र नयाँ अनुहारप्रति झुकाव स्पष्ट छ ।

यस चुनावमा विकास, रोजगारी र स्थानीय मुद्दालाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिने देखिन्छ ।

हेर्नुहोस् भिडियो :

 

salt training

कमेन्ट गर्नुहोस्