
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को महत्वपूर्ण खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको सानदार जित दर्ता गरेको छ।
अहमदाबादमा आइतबार राति भएको प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय टोली १८.५ ओभरमा मात्र १११ रनमा समेटिन पुग्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाको सुरुवात भने सुखद रहेन। प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी कक र कप्तान एडेन मार्करम सस्तैमा आउट भएपछि टोली दबाबमा परेको थियो।
१० रनमा पहिलो र १२ रनमा दोस्रो विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि डेभिड मिलर र डेवाल्ड ब्रेभिसले इनिङ्स सम्हाले। मिलरले विष्फोटक ब्याटिङ गर्दै ३५ बलमा ७ चौका र ३ छक्काको मद्दतले ६३ रन बनाए।
उनलाई ब्रेभिसले २९ बलमा ४५ रन बनाएर राम्रो साथ दिए। अन्त्यमा ट्रिस्टन स्टब्सले २४ बलमा अविजित ४४ रनको योगदान दिएपछि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रनको बलियो योगफल तयार गर्यो। भारतका लागि जसप्रित बुमराहले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए भने अर्शदीप सिंहले २ विकेट हात पारे।
१८८ रनको लक्ष्य पछ्याएको भारतको जवाफी ब्याटिङ निकै फितलो रह्यो। पहिलो ओभरमै ओपनर इशान किशन शून्यमा आउट भएपछि भारतीय इनिङ्स धर्मराउन सुरु गरेको थियो। तिलक वर्मा र अभिषेक शर्मा पनि सस्तैमा पभेलियन फर्किए। कप्तान सूर्यकुमार यादव १८ रन र हार्दिक पाण्ड्या १८ रन बनाएर आउट भएपछि भारत पूर्ण रूपमा दबाबमा आयो।
मध्यक्रमका ब्याट्सम्यान शिवम् दुबेले ३७ बलमा ४२ रन बनाउँदै केही बेर संघर्ष गरे पनि अन्य ब्याट्सम्यानहरूले दोहोरो अंक समेत छुन सकेनन्।
भारतलाई सस्तोमा समेट्न दक्षिण अफ्रिकाका बलर मार्को यान्सेनले उत्कृष्ट प्रदर्शन गरे। उनले ३.५ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, स्पिनर केशव महाराजले ३ विकेट र कोर्बिन बोशले २ विकेट लिएपछि भारतीय पारी १८.५ ओभरमा १११ रनमै अन्त्य भयो।