
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि हरेक बुथमा ३० जनाको भोलेन्टियर फोर्स निर्माण गर्न पार्टीपंतीलाई निर्देशन दिएका छन् । सोमबार झापाको दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा कार्यक्रममा एमालेले शान्तिपूर्ण चुनाव चाहेको बताए ।
निर्वाचनमा बुथ कब्जा गर्ने कल्पना पनि नगर्न उनले चेतावनी दिए । 'एमाले शान्तिपूर्ण चुनाव चाहन्छ । धाँधलीरहित चुनाव चाहन्छ । मतदानमा कुनै व्यवधान हुनु हुँदैन । कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरे हुन्छ । कसैले छूट पाउनेवाल छैन,' ओलीले भने, 'भोलेन्टियर फोर्स चुनावका लागि मात्रै गठन गरिएको होइन । यो पानी बाँड्ने फोर्स होइन । शान्ति सुव्यवस्था कायम गर्ने जनताको शक्ति हो । चुनावको बेला गाउँ गाउँमा सुरक्षा समितिहरू बनाउनुस् । चुनावका लागि हरेक बुथमा ३० जनाको भोलन्टियर फोर्स निर्माण गर्नुस् ।'
अब आतंक मच्याउनेहरूलाई फोर्सले नियन्त्रण गर्ने उनले बताए । 'राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्दा अधिकार सुरक्षित हुन सक्दैन । अधिकार मात्रै होइन हाम्रा घर र कार्यालयहरू जले । संसद् जल्यो । सिंहदरबार जलाइयो । न्यायालय जलाइयो । नगरपालिका र गाउँपालिका जले । उद्योगहरू जले । देश जल्यो,' उनले भने, 'त्यतिबेला हामीले नेसनल युथ फोर्स बनाएका थिएनौं । अब कसैले जलाउन पाउने छैन । अब कुनै संरचना जलाउन दिइने छैन । प्रहरीका हतियार खोस्ने आतंककारी र अपराधीहरूलाई फोर्सले नियन्त्रण गर्ने छ । यो देखाउन मात्रै बनाइएको होइन । देशमा आतंक फैलिन नदिन बनाइएको हो ।'