
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको मिति नजिकिँदै गर्दा हर्क साम्पाङ (हर्कराज राई) उम्मेदवार रहेको सुनसरी-१ मा चुनावी प्रतिस्पर्धा तीब्र देखिएको छ । यो क्षेत्रमा नयाँसँग नयाँकै तीब्र प्रतिस्पर्धा भइरहेकाले परिवर्तन चाहेका मतदाता दुई धारमा बाँडिएका छन् ।
देशभर मतदाताले नयाँ नयाँ भनिरहेको समयमा सुनसरी १ मा नयाँ दल रास्वपा र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । सुनसरी १ मा कांग्रेस–एमाले भन्दा नेकपाका उम्मेदवार अगाडि रहेको मतदाताहरू बताउँछन् ।
पूर्वी पहाडी जिल्लाका अधिकांश क्षेत्रमा समीकरणमा फेरबदल ल्याइरहेको श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी १ मा उम्मेदवार छन् । २०७९ सालको चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर निर्वाचित भएका हर्कले प्रतिनिधिसभा निर्वाचनको मनोनयनका लागि राजीनामा गरेका थिए ।
मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिन खोजेका साम्पाङले चुनावी माहोल तताएका छन् । तर, ‘नयाँलाई हेर्ने’ भनिरहेका मतदाताले घण्टी रोज्छन् कि माटो भन्ने कुराले हर्कको जीत-हार निर्धारण गर्नेछ । तर पछिल्ला १३ दिनमा माहोल केही फेरबदल भएको पाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै व्यवसाय गर्ने भुपाल तामाङलाई १३ दिनपछि भेट्दा उनी माटोमै भोट दिन प्रतिबद्ध देखिए । ‘माटो र घण्टीकै बीच प्रतिस्पर्धा छ । बजार क्षेत्रका मानिसले हर्कलाई नै भोट दिन्छन्’, भुपालले भने ।
लोकान्तरसँग १३ दिनपछि कुरा गरेकी चन्दा तामाङले पनि माटोमै भोट दिन प्रतिवद्ध रहेको बताइन् । ‘अरूको कुरा म भन्न सक्दिनँ, मैले हर्कलाई नै भोट दिन्छु’, उनले भनिन् ।
तर, त्यही चोकमा भेटिएका विर्खबहादुर लिम्बुले घण्टीलाई भोट दिने बताए । ‘नयाँलाई हेर्ने हो, बालेनलाई प्रधानमन्त्री बनाउने हो’, उनले भने ।
धरान ११ का कृष्ण अधिकारीले यसपटक नयाँलाई र नयाँ मध्ये पनि बालेनलाई प्रधानमन्त्री भएको हेर्ने चाहना रहेको बताए । पुराना दललाई भोट हाल्नु पर्ने अवस्थामा घरमै सुतेर बस्ने उनको आक्रोश थियो ।
‘राजाबाट खोसेर ३६ वर्ष चलाएकालाई फेरि किन भोट दिने ? बाँकी रहेका उद्योग कलकारखाना पनि बेच्नलाई ?’, अधिकारीले भने, ‘हर्कलाई मेयरमा दिएकै हो, प्रधानमन्त्री बन्ने सम्भावना भएकोले मेरो भोट बालेनलाई नै हो । तलमाथि केही कुरा छैन ।’
पानीको गुन तिर्न खोज्दै धरानबासी !
मेयर भएपछि गरेको कामबाट धरानबासीबीच हर्क लोकप्रिय छन् । पानीको समस्या झेल्दै आएको धरानमा खानेपानी योजना सम्पन्न गरेको तथा बगरमा श्रम संस्कृति पार्क जस्ता कामले उनी परिचित छन् ।

धरान १८ की उर्मिला राई कोकाहाको पानी धरानमा ल्याउँदा गरिएको श्रमदान बिर्सन सकेकी छैनन् । ‘चमेरो जस्तो झुन्डिएर श्रमदान गरेर धरानमा पानी ल्याएको हो, हर्कको यो योगदानलाई कसैले बिर्सन मिल्छ ?’, उनले भनिन्, ‘उनले बोल्न जान्दैनन् होला, तर कदापी भ्रष्ट हुँदैनन् ।’
अटोरिक्सा चलाउने दीपक राई मेयरको रूपमा गरेको राम्रो कामका कारण धरानबासीले हर्कलाई भोट दिने विश्वास गर्छन् । ‘हर्कले राम्रो काम गरेका छन्, उनैले चुनाव जित्छन् । माटोमा भोट दिने हो’, दीपकले भने ।
धरान १८ का अर्जुन राई, मनिला र जुवेल राईले माटोमा भोट दिने बताए । तीनैजनाको भनाइ छ– ‘हर्कले धरानमा राम्रो गरेका छन्, सांसद बनेर गएमा अझ धेरै काम गर्छन् ।’
धरानको मेयरका रूपमा गरेको कामपछि हर्कको चर्चा देशभर भयो । त्यही लोकप्रियताको आधारमा उनले नयाँ पार्टी खोले, जसले पूर्वी पहाडी जिल्लाका चुनावी समीकरणमा काफी बदलाव ल्याउने देखिन्छ ।
०७९ सालको स्थानीय तह निर्वाचनमा हर्कले २० हजार ८ सय २१ मत पाएर धरानको मेयर बनेका थिए । त्यो बेला कांग्रेस उम्मेदवार किशोर राईले १६ हजार ५९ मत पाएका थिए ।
लगत्तै मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी गोमा तामाङ (सरिन)ले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । १७ हजार ५९ मत पाएर अशोक राई विजयी भएका थिए । परिवर्तनको पक्षमा प्रकट भएको त्यो मत बाँडिने सम्भावना रहेको आकलन पनि भइरहेको छ ।

यो क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट सुजेन्द्र तामाङ, नेकपा एमालेबाट टीकाराम लिम्बु, नेकपाबाट सूर्यबहादुर भट्टराई तथा राप्रपाबाट उद्धव श्रेष्ठ उम्मेदवार छन् । जनजाती बाहुल्य रहेको यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेसन, संघीय लोकतान्त्रिक राष्टिय मञ्च र उज्यालो नेपाल पार्टीका समेत उम्मेदवार छन् । उज्यालो नेपालको पार्टीका उम्मेदवार डम्बर लावतीको चुनावी सभामा सम्बोधन गर्न कुलमान घिसिङ मंगलबार धरान आउँदा केही मानिस उपस्थित भएका थिए ।
धरान १५ का महेश्वर राई माटो र घण्टीको तीब्र प्रतिस्पर्धा चलिरहेकाले अहिल्यै आकलन गर्न नसकिने बताउँछन् । ‘धरानका मान्छेले हर्कलाई रूचाइरहेका छन्, घण्टी पनि त्यत्तिकै दाबेदार छ । मुख्य प्रतिस्पर्धा नै नयाँ नयाँबीच हुँदा मतदाता अन्योलमा पनि छन्’, महेश्वरले भने ।
छुच्चो बोली पर्न सक्छ भारी !
माटोमा भोट हाल्ने बताएका उनका समर्थक नै साम्पाङका अभिव्यक्तिबाट आजित छन् । कसैलाई दलाल करार गर्ने हर्कको शैलीप्रति सन्तुष्ट छैनन् ।
सुनसरी १ का मतदाता विकास कार्कीले हर्कको बोली उनकै लागि गलपासो बनिरहेको बताए । सामाजिक सञ्जालमा लेखेका सस्ता कुराले उनको क्षयीकरण भइरहेको दाबी कार्कीले गरे ।
‘हिजो अस्ति मात्र उनले नयाँ दलका नेतालाई ठग र दलाल भनेर लेखेका छन्, कुनै एउटा दलको नेताले अर्को दलको नेतालाई बोल्ने भाषा त्यही हो ?’ कार्कीले भने, ‘कसैलाई गाली नगरी बालेनले आज धेरैको मन जितिरहेका छन् । हर्क धेरै बोलेर बिग्रिए ।’

पढ्नुहोस यो पनि :
धरान भोटेपुलका नन्दबहादुर तामाङ हर्कको मुख छुचो भए पनि मान्छे इमान्दार रहेको बताउँछन् । ‘उनले बोल्न जाँदैनन् होला, मुख छुचो छ । तर अहिलेको नेतामा उनीजत्तिको इमान्दार कोही छैनन्’, तामाङले भने, ‘मैले ठोकुवा गरेर भन्न सक्छु, उनले भ्रष्टाचार गर्दैनन् ।’
धरान बजारका दीपक श्रेष्ठ चुनावी माहोल घण्टीको पक्षमा रहेको बताउँछन् । ‘हर्कले धरानमा गरेको राम्रो कामको कसैले विरोध गरेका छैनन्, तर संसदीय चुनावमा उनीभन्दा रास्वपा उम्मेदवार बलियो छन्’, श्रेष्ठले भने, ‘सरिन यसअघि थोरै मतले पराजित भएकी थिइन्, यसपटक धेरैले घण्टीमा दिने भनेका छन् ।’
मंगलबार सुनसरीको इटहरीमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह सभामा थिए । यसको प्रभाव धरान क्षेत्रमा समेत परेको छ ।
धरानमा प्रतिस्पर्धा, बाहिर घण्टी बलियो
सुनसरी १ मा धरान उपमहानगरका २० वडाका अतिरिक्त बराहक्षेत्र नगरपालिकाका ५ वटा वडा र रामधुनी नगरपालिकाका २ वटा वडा पर्छन् । धरानको कोर बजार एरियामा हर्क र रास्वपा उम्मेदवारको तीब्र प्रतिस्पर्धा रहँदा बजार बाहिरका क्षेत्रमा भने घण्टी नै बलियो पाइएको छ ।
धरान ६ को पानबारी क्षेत्रका मतादाताले माटो भन्दा घण्टीको नाम लिए । धरानमा मकै पोलेर बसिरहेका रविन तामाङले हर्कलाई भोट दिने बताए । ‘उनले काम गरेर देखाएका छन, मौका पाए अझ राम्रो काम गर्नेछन्’ रविनले भने ।
धरान ८ का चित्रबहादुर तामाङले हर्कलाई भोट दिने बताए । अर्का मतदाता किनार राईले पनि हर्कलाई नै भोट दिने बताए ।

धरान १५ का मानबहादुर दर्जीले पुराना दलले देशलाई कंगाल बनाएकाले यसपटक नयाँ पार्टीलाइ भोट दिने बताए । ‘नयाँ मध्ये पनि म बालेनको पक्षमा हो । हर्कको बोलीमा ठेगान छैन, उनले सबैलाई अपमान गरेर बोल्छन्’ दर्जीले भने, ‘यसपटक नयाँलाई दिने हो कुरै छैन ।’ बाहिर खुल्न नसके पनि धरानको बजारमा समेत घण्टी नै अगाडि रहेको उनले दाबी गरे ।
मकै पोलेर बसेकी धरान १५ की शान्ति तामाङ पनि घण्टीको पक्षमा छिन् । ‘सबैले घण्टी घण्टी भनिरहेका छन्, यसपटक मेरो विचार पनि त्यतै छ’, उनले भनिन् ।
धरान ७ का रिकेश श्रेष्ठले कांग्रेसलाई भोट दिने बताए । ‘हाम्रो बुवाहरूले पनि कांग्रेसमा भोट दिँदै आउनु भएको हो, अहिले कांग्रेसमा पनि युवा नेता आएका छन् । मेरो भोट रूखमा हो’, उनले भने ।
धरान ९ का लक्ष्मण श्रेष्ठ माटो र घण्टीबीच तीव्र प्रतिस्पर्धा रहेकाले कसले जित्छ भनेर अनुमान लगाउन नसकिने बताउँछन् । ‘माटो र घण्टीबीच नै प्रतिस्पर्धा छ । तेस्रोमा नेकपाको पनि चर्चा छ । कांग्रेस-एमाले भन्दा नेकपाको चर्चा बढी छ’, श्रेष्ठले भने ।
धरानको कोर बजार भन्दा बाहिर पानबारीका राजकुमार योगीले घण्टी र माटोबीच बराबर प्रतिस्पर्धा रहेको बताए । ‘विगतमा एमालेलाई भोट दिएको हो, यसपटक नयाँलाई दिने विचार छ । नयाँमा पनि घण्टीमा भोट हाल्ने इच्छा छ’, योगीले भने ।
नेपाली कांग्रेसकी क्रियाशील सदस्य समेत रहेकी धरान ६ की रूका दर्लामी मगरले यसपटक धेरैले घण्टी घण्टी भनेको सुनिरहेको बताइन् । ‘पुरानाले केही गरेनन् भनेर आरोप लागेको छ, गर्ने त नयाँले पनि होइनन् । प्रचण्डले जलाउन नसकेको सिंहदरबार नयाँ भनिएकाले जलाए । तर मतदाताले त्यो कुरा सुन्नेवाला छैनन्’, दर्लामीले भनिन् ।

पानबारीमा भेटिएका ८२ वर्षका लक्ष्मीप्रसाद दाहाल र ८५ वर्षका कृष्णप्रसाद भट्टराईले यसपटक नयाँलाई भोट दिने योजनामा रहेको बताए । राजनीतिक रूपमा चेतनशील रहेका यी बृद्धले अब नयाँलाई दिने बताए ।
‘मैले १५ सालको चुनावमा पनि भोट हालेको हुँ, धेरैपटक कांग्रेसलाई भोट दिएँ । यसपटक नयाँलाई दिने विचार छ’, भट्टराईले भने, ‘हामीले भोट दिएको पार्टीको नेताको घरमा त्यत्रो पैसा थुपारेका रहेछन् । त्यो कहाँबाट आयो ? अझै रिआई (एआई भन्न नजानेर रिआइ भने)ले बनाएको भनेर भन्छन्, लाज छैन ?’
विगतमा एमालेलाई पनि भोट दिएका दाहालले केपी ओलीका कारण एमाले पतन भएको दाबी गरे । ‘एमाले त बुद्धिजीवीको पार्टी भन्थे, हेर्नुस् त ओलीको कुरा । मान्छे त्यसै आक्रोशित भएका छन् ? देउवाको घरमा पैसा जलेको कुरा उसले बचाउ गर्नुपर्ने ?’
सुनसरी १ की मतदाता सम्झना कार्कीले विगतमा कांग्रेस–एमालेको प्रचारमा हिँडेका मान्छे समेत यसपटक नयाँलाई भोट दिने भनेर हिँडिरहेको बताइन् । ‘वास्तवमै मान्छेले नयाँ नयाँ भनिरहेका छन, सबैको मुखमा एउटै कुरा छ–पुरानालाई धेरै हेर्यौं । यसपटक नयाँलाई मौका दिऔं’, उनले भनिन् ।
बालेन शाहले पूर्वका जिल्लामा आएर गरेको सम्बोधनका कारण पनि रास्वपाको माहोल बढेको उनको बुझाइ छ ।
के भन्छन् धरानका अन्य मतदाता ?
संसदीय राजनीतिमा प्रवेश गरेका हर्क साम्पाङको ‘क्रेज’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदयले धरानका मतदाता स्पष्ट रूपमा विभाजित देखिएका छन् ।
धरान–१५ का पूर्ण खड्का, जो पहिला नेपाली कांग्रेसलाई सघाउँदै आएका थिए, यसपटक हर्कको पक्षमा खुलेका छन् । ‘पहिलाकाले भाषण मात्र गरे, पानी खुवाएनन् । हर्कले खुवाए, त्यसैले मेरो समर्थन उनलाई नै छ,’ खड्काले भने ।
धरान–७ का कांग्रेसका क्रियाशील सदस्य दामोदर शाक्यले समेत यसपटक हर्कलाई नै सघाउने बताएका छन् भने धरान–८ का दुर्गा रोक्का हर्कको ‘आँटिलो’ स्वभाव र ‘रैथाने’ पहिचानका कारण उनकै पक्षमा उभिएका छन् ।

धरानमा रास्वपाको प्रभाव पनि उत्तिकै बलियो देखिएको छ । विशेषगरी परम्परागत पार्टीसँग रुष्ट भएकाहरू रास्वपामा आकर्षित छन् । धरान–८ की धनमाया तामाङले वर्षौंदेखि ‘रुख’मा हाल्दै आएको भोट यसपटक फेर्ने निर्णय गरेकी छिन् । उनी भन्छिन्, ‘यसपटक मत परिवर्तन गर्ने हो, घण्टीमा हाल्ने हो ।’
धरान–१० का किरण श्रेष्ठको चार जनाको परिवार नै घण्टीको पक्षमा रहेछ । बालेनलाई प्रधानमन्त्री भएको हेर्नका लागि घण्टीमा भोट हाल्न लागेको उनीहरूको तर्क छ । यस्तै, धरान–१२ का रामकुमार तामाङ पनि घण्टीकै पक्षमा देखिएका छन् ।
हर्क साम्पाङको कामको प्रशंसा भए पनि उनको ‘बोली’का कारण केही मतदाता भने उनीसँग रुष्ट छन् । धरान–८ का करण राईको तर्क निकै रोचक छ । उनी भन्छन्, ‘हर्कलाई भोट पनि दिनु अनि गाली पनि खानु ? त्यसैले यसपटक घण्टीलाई समर्थन गर्ने सोच बनाएको छु ।’ मेयरको निर्वाचनमा हर्कलाई नै मत दिएको उनको भनाइ छ ।

यस्तै, धरान–१ का भाइश्वर लिम्बुले हर्कको मुख छुच्चो भए पनि विकासप्रेमी भएकाले समर्थन गर्ने बताए बताए ।
धरान-१ कै गान्दीप राई र घनेन्द्र राज लावतीको विचार फरक छ । उनीहरूका अनुसार रवि लामिछाने जेल परेपछि घण्टीको माहोल केही खस्किएको छ भने हर्कले पनि धेरै बोलेर जनमत बिगारेका छन् । उनीहरू यतिबेला तारा चुनाव चिह्नका उम्मेदवार मनोज भट्टराईलाई उपयुक्त विकल्प मान्छन् ।
केही मतदाता भने आफ्नो पुरानो घर छोड्न तयार छैनन् । धरान–७ की शोभा श्रेष्ठ र कल्पना श्रेष्ठले आफूहरू पहिलादेखि नै एमालेको समर्थक रहेको र यसपटक पनि ‘सूर्य’मै मतदान गर्ने बताए ।