०२ साउन २०८३, शनिबार

सुकुम्बासीको सपना पूरा गर्ने विश्वदीपको प्रतिबद्धता

फागुन १३, २०८२
बुटवल
सुकुम्बासीको सपना पूरा गर्ने विश्वदीपको प्रतिबद्धता

आफ्नो घर–जग्गाको लालपूर्जा नहुँदा सबैभन्दा पीडा भोग्ने बासिन्दा हुन् अव्यवस्थित र सुकुम्बासी बस्तीका बासिन्दा । उनीहरूले आफू बसिरहेको जग्गा वा घरलाई बैंकमा राखेर न कुनै कामका लागि ऋण लिन पाउँछन, न बेचबिखन गर्न नै । 

सुकुम्बासी बस्तीका बासिन्दाको मुख्य गुनासो छ, ‘अघिपछि  गाउँघरमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर दिनदिनै भोट माग्न आउँछन् । आश देखाएर जान्छन्, चुनाव जितेपछि फर्किएर आउँदैनन् ।’ 

जनताले गुनासो गरिरहेको यही समयमा मंगलबार दिउँसो रुपन्देहीको सैनामैना– १ पेरिसडाँडा टोलमा टुपलुक्क पुगे रुपन्देही– २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ । उनीसँगै उनको चुनावी अभियानमा हिँडेका कार्यकर्ताहरू थिए । उनीहरुको मुख्य उद्देश्य थियो- आफ्ना पक्षमा भोट माग्नु ।

तर सैनामैनाका बासिन्दालाई चुनावी भोटको चिन्ता भन्दा पनि लामो समयदेखि लालपूर्जा नपाएको चिन्ता थियो । त्यो चिन्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार बनेका विश्वदीपसँग पनि मिल्दो जुल्दो थियो । किनकि उनी पनि सैनामैनाकै बासिन्दा हुन् । अन्य मतदाताले जस्तै आफू स्वयंले पनि घरजग्गाको लालपूर्जा पाएका छैनन् ।

बस्तीको चोकमा जम्मा भएका मतदाताले उनलाई स्थानीय समस्या बताउन थाले । सडकमा नाली व्यवस्थित नहुँदा वर्षाको समयमा वस्ती डुबानमा पर्ने गरेको , पक्की सडकको निर्माण र रोजगारीको समस्या रहेको आदि सुनाउँदै आफ्नै भूमिको अधिकारबाट बञ्चित भएर सुकुम्बासी बन्नु परेको नमीठो पीडा सुनाए ।

लगत्तै उनीहरूलाई सम्बोधन गर्दै विश्वदीपले भने– ‘मेरो घर पनि सैनामैना बनकट्टामै पर्छ । म स्वयं पनि लालापूर्जाविहीन नागरिक हुँ । आफ्नो घरको लालापूर्जा नहुँदाको पीडा मैले नजिकबाट भोगेको छु ।’ 

उम्मेदवार पाण्डेलाई नचिनेका केही स्थानीयले खासखुस गर्न थाले । सैनामैनाकै उम्मेदवार हो भन्ने उनी बोलेर सक्दा नसक्दै स्थानीयले मत माग्न आएकासँग नै उम्मेदवार विश्वदीपको विगत बुझिसकेका थिए । उनी दिवंगत भक्ति पाण्डेका छोरा हुन् भन्ने बुझेपछि खुलेर स्थानीयले भने– ‘आफ्नै सम्पत्ति भएर पनि सुकुम्बासी भइयो । हामीलाई आश्वासन नदिनू । पूर्जा दिलाउन पहल गर्नू । हाम्रो आर्शिवाद छ ।’

तर यत्ति कुराले उम्मेदवार पाण्डेको मन खुसी थिएन । किनकि उनलाई चुनाव त लागेको थियो नै, त्यो भन्दा आफ्ना बुवा स्व. भक्ति पाण्डले विगतको निर्वाचनमा देखेको सपना पूरा नभएकोमा द:खी थिए । त्यसैले उनले स्थानीयसँग खुलेर भने– ‘निर्वाचनमा विजयी भएपछि मैले यो भूमि र यहाँका बासिन्दालाई धोका दिने छैन । बुवाको सपना पूरा गर्छु । लालपूर्जा दिलाएरै छाड्ने छु ।’

सैनामैना यस्तो बस्ती हो, जसको जगबिना बुटवलको विकास अधुरो र अपूरो हुँदैछ । नेकपाका उम्मेदवार पाण्डेले यही कारण सैनामैनाका टोल–टोलमा घरदैलो गर्दै भने– ‘सैनामैनाको विकासले नै समग्र रुपन्देहीको विकासको ढोका खोल्न सक्दछ । त्यसैले यहाँका बासिन्दाको भूमिमाथिको पूर्ण अधिकार लालपूर्जाको ग्यारेन्टी गरिनेछ ।’

सैनामैना नगरपालिकाका जनप्रतिनिधि भुवनबहादुर क्षेत्रीका अनुसार पालिकाभित्र १६ हजारभन्दा बढी अव्यवस्थित बसोबासी रहेका छन । तीमध्ये वडा नम्बर १ का एक सय ७३ वटा लालपूर्जा मात्र हालसम्म बाँडिएको छ, नापीको काम सकिएको छ । यस वडामा मात्रै झण्डै ४ हजार पाँच सयले राजस्व बुझाउने गर्दछन् । 

तर अधिकांश वडामा नापजाँच नै भएको छैन । अव्यवस्थित र सुकुम्बासी समस्या सैनामैनाको मात्रै समस्या  होइन, रुपन्देही क्षेत्र नं २ मा पर्ने बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा पनि उस्तै छ । निर्वाचनका बेला यी ठाँउका बासिन्दाले दैलोमै लालपूर्जा पाएको अनुभूति गर्छन् अर्थात् मौखिक आश्वासन पाउँछन् । तर उम्मेदवारले निर्वाचन जितेपछि उनीहरूका सपना बिर्सिदिने गरेको गुनासो स्थानीयको छ । 

विश्वदीपले बोलेको कुरामा आफू प्रतिबद्ध रहेको बताएका छन् । भोट तान्न सुकुम्बासीका समस्याबारे बोलेको त होइन नि ? भन्ने प्रश्नमा उनले भने– ‘मैले अहिले नै बोलेका कुरा नगरेर राजनीतिक भविष्य धरापमा पार्नुछैन । अरूले बोले, काम गरेनन् । मैले बोलेको पनि छु, काम पूरा गरेर पनि देखाउँछु । कानूनसम्मत हुने काम पनि नभइरहेको अवस्थालाई अन्त्य गर्न पहल लिन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्