
हङ्गेरी र स्लोभाकियाले ‘द्रुज्बा पाइपलाइन’बाट हुने रुसी तेल आपूर्तिमा अवरोध भए पनि पेट्रोलियम पदार्थको अभावको जोखिम नहुने युरोपेली सङ्घ (इयू) ले जनाएको छ ।
स्थितिबारे छलफल गर्न बोलाइएको विशेषज्ञहरूको बैठकपछि इयूका प्रवक्ताले वैकल्पिक स्रोतबाट आपूर्ति व्यवस्था गरिएको बताएका छन् ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका निकट मानिने इयू नेतामध्ये एक हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनलाई ९० अर्ब युरो (१०६ अर्ब डलर) को इयू ऋण र किएभले प्रमुख तेल पाइपलाइन पुनः सञ्चालन नगरेसम्म रूसमाथि नयाँ चरणको प्रतिबन्ध नलगाउन ‘भिटो शक्ति’ प्रयोग गरेका छन् ।
ओर्बानले युक्रेनले पाइपलाइन पुनः सञ्चालनमा जानाजानी ढिलाइ गरेको आरोप लगाएका छन् । युक्रेनले जनवरीमा रूसी आक्रमणका कारण पाइपलाइन क्षतिग्रस्त भएको जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मर्मत कार्य अझै पूरा नभएको बताएका छन् । उनले बुडापेस्टलाई मस्कोसँग यो विषय उठाउन सुझाव दिएका छन् । युक्रेनको पूर्वाधारविरुद्ध हवाई अभियानका क्रममा पाइपलाइनमा पटक–पटक बमबारी भएकाले तत्काल सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।
हङ्गेरी र स्लोभाकियाले तीन महिनासम्मका आयात धान्न सक्ने तेलको आपतकालीन भण्डार प्रयोग गर्न थालेका छन् । युरोपेली आयोगका प्रवक्ता अन्ना–काइसा इटकोनेनले क्रोएशिया हुँदै जाने एड्रिया पाइपलाइन तथा अन्य स्रोतबाट गैर–रूसी कच्चा तेल आपूर्ति भइरहेको बताएका छन् ।
उनका अनुसार एड्रिया पाइपलाइन अहिले हङ्गेरी र स्लोभाकियाको मुख्य वैकल्पिक मार्ग बनेको छ र आवश्यक परिमाणमा आपूर्ति बढाउन पर्याप्त क्षमता रहेको छ ।
युक्रेनलाई दिने इयू ऋणमा हङ्गेरीले लगाएको भिटो हटाउन उच्चस्तरीय वार्ता जारी रहेको इयूले जनाएको छ ।
बुडापेस्टको विरोधका बाबजुद इयू प्रमुख उर्सुला भोन डेर लेयनले युरोपेली सङ्घले ऋणसम्बन्धी विषयमा कुनै न कुनै उपायमार्फत अघि बढ्ने बताएका छन् । उनका अनुसार विभिन्न विकल्पहरू उपलब्ध छन् र तिनको प्रयोग गरिनेछ ।