०४ साउन २०८३, सोमबार
चुनावी ग्राउन्ड जिरो- सुर्खेत १

पूर्णबहादुरले उत्तराधिकारी तोकेका आफ्नै भाइलाई सूर्य र घण्टीको चुनौती

फागुन १४, २०८२
सुर्खेत
पूर्णबहादुरले उत्तराधिकारी तोकेका आफ्नै भाइलाई सूर्य र घण्टीको चुनौती

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छाडेको क्षेत्र सुर्खेत-१ मा उनकै सहोदर भाइ विष्णुबहादुर खड्का चुनावी मैदानमा छन् । 

विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्यसमितिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदक भएका खडका उम्मेदवार छैनन् । पार्टी आधिकारिकताको विषयमा रिट हालेका कारण चुनाव नलड्ने बताएका पूर्णले आफ्नो क्षेत्रमा भाइ विष्णुलाई उम्मेदवार बनाएका छन् । पूर्णले आफ्नो विरासत भाइको काँधमा बोकाउन खोजे पनि विष्णुलाई त्यति सहज देखिएको छैन ।

पूर्ण स्वयं विगतमा नेकपा एमालेका ध्रुवकुमार शाहीसँग चुनाव हार्दै-जित्दै आएका पात्र हुन् । उहिले उनका भाइ विष्णु पनि उनै शाहीविरुद्ध चुनावी मैदानमा छन् । 

२०७४ सालको चुनावमा एमालेका शाहीले ३३ हजार ७५९ मत ल्याएर कांग्रेसका पूर्णलाई पराजित गरेका थिए । त्यतिबेला पूर्णले ३३ हजार ३७७ मत ल्याएका थिए । उनी त्यतिबेला ३८२ मतको झिनो अन्तरले पराजित हुन पुगेका थिए ।

त्यसपछि २०७९ सालको प्रतिनिधिसभाको चुनावमा भने खड्काले शाहीलाई  हराएर प्रतिनिधिसभा पुग्न सफल भएका थिए । अघिल्लो चुनावमा ३८२ मतको अन्तरले पराजित भएका खड्काले २०७९ मा एमालेका शाहीलाई ११ हजार ७१९ मतको फराकिलो अन्तरले पराजित गरेका थिए । खड्काले ४२ हजार ६०७ मत ल्याउँदा शाहीले ३० हजार ९८८ मत मात्र ल्याएका थिए ।

null

तर, यसपटक फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावमा खड्काका साइँला भाइ विष्णुलाई पुनः एमालेका शाहीले दरो चुनौती दिएका छन् । हामीले सुर्खेत-१ का विभिन्न स्थानीय तहका विभिन्न वडाका मतदातासँग बुझ्दा कांग्रेसको विरासत जोगाउन विष्णुलाई यसपटक त्यति सहज नहुने देखिन्छ । 

नेपाली कांग्रेसकै पूर्वनेता टेकबहादुर सिंह ठकुरी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार भएपछि कांग्रेसलाई थप चुनौती देखिएको छ । ठकुरी २०७४ सालको प्रदेशसभामा सुर्खेत १ (१) मा नेपाली कांग्रेसबाट उम्मेदवार थिए । उनी त्यतिबेला नेकपा माओवादी केन्द्रका ठम्मरबहादुर विष्टसँग २२० मतले पराजित भएका थिए । ठकुरीले १५ हजार १३२ मत ल्याउँदा विष्टले १५ हजार ३५२ मत ल्याएका थिए । नेपाली कांग्रेसकै नेता अहिले रास्वपाबाट उम्मेदवार भएकोले उनले कांग्रेसकै मत बढी काट्ने स्थानीयहरूको आकलन छ । 

यहाँ कांग्रेसका खड्का, एमालेका शाही र रास्वपाका ठकुरीबाहेक पनि विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का जितबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवि हमाल ठकुरी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट धनसिं सार्की, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट गजबहादुर खप्तडी मगर पनि उम्मेदवार छन् । 

null

त्यसैगरी, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा,  श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, मितेरी पार्टी नेपालबाट प्रकाश बुढा मगर, नेकपा (माओवादी)बाट हिरु शाही, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र आम जनता पार्टीबाट रमेश सेन्चुरी उम्मेदवार छन् ।

रुख र घण्टीबीच मत विभाजन हुँदा जित्ने एमालेको दाउ

गुर्भाकोट नगरपालिका-९ पोखरेमा भेटिएका ५८ वर्षीय गगन सिंह राना मगर भने सुर्खेतमा कांग्रेस र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि कसले जित्ने भन्ने कुरा घण्टीमा भर पर्ने बताउँछन् । 

‘यहाँ मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुन्छ तर हार र जीतबीचको फरक भने घण्टीमा भर पर्छ’,  मगरले लोकान्तरसँग भने, ‘घण्टीको उम्मेदवार कांग्रेसबाटै आएको हुनाले उसले स्वाभाविक रूपमा कांग्रेसकै मत बढी काट्ने हो । तर, एमालेकै भोट पनि उसले काट्छ तर कति काट्छ भन्ने यकिन नभएको हुनाले अहिले नै यकिन भन्न सक्ने अवस्था छैन ।’

त्यहीँ भेटिएका ३४ वर्षीय नन्दलाल घर्ती र २९ वर्षीय राजु विकले भने आफूहरू घण्टीकै पक्षमा मतदान गर्ने खुलाए । तर, ५१ वर्षीय मोहन पुन भने अहिलेसम्म द्विविधामै रहेको बताए ।

उनी द्वन्द्वपीडित भएको हुनाले यसअघि कांग्रेस र एमालेमा मतदान गर्दै आएको भए पनि यस पटक के गर्ने भन्ने निर्णय गर्न नसकेको बताउँछन् । 

सोही वडामा भेटिएका ३६ वर्षीय नविन राना मगरले पनि कता मत हाल्ने भन्ने टुंगो नलागेको बताए । 

गुर्भाकोट नगरपालिकाको वडा नम्बर ९ बोटेचौरमा भेटिएका ७० वर्षीय तुलबहादुर सुनारले कांग्रेसमै मतदान गर्ने बताए ।

null

‘'पानी जता बग्छ उतै त होला नि’, उनले लोकान्तरसँग भने, ‘पहिले त पूर्णबहादुर खड्कालाई नै हालेको हो । यसपटक पनि कांग्रेसलाई नै हाल्ने हो ।’

सोही वडामा भेटिएका ७२ वर्षीय ओबिलाल खड्का भने अहिलेसम्म के गर्ने टुंगो नलागेको बताउँछन् । ‘अहिलेसम्मको अवस्था हेर्दा घण्टी, रूख र सूर्यमै प्रतिस्पर्धा होला जस्तो देखिन्छ’, खड्काले लोकान्तरसँग भने, ‘यस क्षेत्रमा घण्टीले कांग्रेसकै बढी मत काट्छ । थोरै-थोरै एमालेको पनि मत काट्ला ।’

सोही वडाकी २८ वर्षीया लक्ष्मी वलीले भने यसपटक मत परिवर्तन गर्ने बताइन् । 

‘कति पुरानैलाई दिने ? नयाँलाई पनि पालो दिनुपर्छ’, उनले लोकान्तरसँग भनिन्, ‘हामीले त घण्टीमै मतदान गर्ने हो तर यहाँ घण्टी जित्छ भन्ने अवस्था पनि देखिँदैन ।’ समानुपातिकतर्फ भने सबैभन्दा बढी मत यस क्षेत्रमा घण्टीले नै पाउने उनको आकलन छ ।

गुर्भाकोट नगरपालिका-४ पारखेतका ४४ वर्षीय यज्ञ खड्काले पनि यसपटक मत परिवर्तन गर्ने बताए । आफ्नो घरमा कूल ४ वटा भोट रहेकोमा सबै घण्टीमै जाने उनले खुलाए ।

गुर्भाकोट नगरपालिका वडा नम्बर ९ का ८१ वर्षीय नोखबहादुर डाँगीले पनि यसपटक मत परिवर्तन गरेर नयाँलाई मौका दिने बताउँछन् । 

‘यहाँ घण्टीकै माहोल छ’, डाँगीले लोकान्तरसँग भने, ‘देशमा परिवर्तन आवश्यक छ । यसपटक नयाँलाई हेर्नुपर्छ । नयाँलाई पनि एकपटक हेर्नु पर्छ । उसले काम नगरे अर्को चुनावमा त्यसलाई पनि भोट नदिए हुन्छ ।’

null

गुर्भाकोट नगरपालिकाको वडा नम्बर ८ पुलबजारमा भेटिएका ३२ वर्षीया एक महिलाले पनि यस पटक मत परिवर्तन गर्ने बताइन् । पहिले एमालेमा मत हालेको भए पनि यस पटक घण्टीमै मतदान गर्ने उनले बताइन् । उनको घरमा रहेको २ मत घण्टीमा जाने ती महिलाको  दाबी छ । 

त्यहीँ भेटिएकी २५ वर्षीया सुमित्रा खत्री भने आफू पहिलेदेखि नै एमाले रहेकाले यस पटक पनि सूर्यमै मतदान गर्ने बताइन् । 
गुर्भाकोट-८ मेहेलकुनाकी ५१ वर्षीया रेशमा खत्रीले आफ्नो घरमा रहेको १४ वटा मत नै कांग्रेसमा जाने बताइन् ।

त्यसपछि हामी लेकबेशी नगरपालिका पुग्यौं । त्यस नगरपालिकाको वडा नम्बर १ मिलडाँडामा भेटिएकी ६२ वर्षीया गौरी बस्नेतले एमालेमै मतदान गर्ने खुलाइन् । 

‘अहिलेसम्म हामीले सूर्यमै मतदान गरेका छौं’, उनले लोकान्तरसँग भनिन्,  ‘यसपटक पनि सूर्यमै मतदान गर्छौं ।’ आफ्नो घरमा ७ वटा भोट रहेकोमा सबै एमालेमै जाने उनले बताइन् ।

सोही वडामा भेटिएका ४७ वर्षीय पूर्णबहादुर पुन भने अहिले अनिर्णित रहेको बताउँछन् । विगतमा एमाले, माले, कांग्रेस सबैलाई भोट दिएको भए पनि यसपटक के गर्ने भन्ने कुरा विचार गर्न बाँकी रहेको उनले सुनाए । 

null

सोही वडामा भेटिएका ४१ वर्षीय चित्रबहादुर फौजा भने विगतमा कांग्रेस, एमालेमा मतदान गर्दै आएको भए पनि यसपटक मत परिवर्तन हुने बताउँछन् ।

उनीसँगै रहेका ५८ वर्षीय हर्षबहादुर फौजा मगर पनि द्विविधामै रहेछन् । ‘पहिले त राष्ट्रिय जनमोर्चामा नै भोट हाल्दै आएको हो’,  उनले लोकान्तरसँग भने, ‘तर, यसपटक के गर्ने भने द्विविधामै छु ।’

लेकबेशी नगरपालिका वडा नम्बर ४ दशरथपुरमा भेटिएका ७८ वर्षीय हरि प्रसाद पौडेलले भने आफू दक्षिणपन्थी रहेकोले उतै मत जाने बताए ।

‘म दक्षिणपन्थी हो त्यसैबाट बुझ्नुस्’, उनले लोकान्तरसँग भने, ‘यो नगरपालिकाको नगर प्रमुख पनि यही वडाको भएकाले यस वडाबाट बढी मत कांग्रेसलाई नै जान्छ ।’

त्यसैगरी लेकबेशी नगरपालिका वडा नम्बर ६ कल्याणका ४० वर्षीय चन्द्रबहादुर सोती मगरले आफ्नो भोट माटोमा हाल्ने बताए । 

‘विगतमा एमालेमा मत हाल्दै आएको हो’, उनले लोकान्तरसँग भने, ‘तर यसपटक माटोमा मत हाल्ने विचार गरेका छौं ।’ आफ्नो घरको तीन वटा भोट माटोमा जाने उनले खुलाए ।

null

त्यसैगरी, लेकबेशी नगरपालिका वडा नम्बर ६ पुग्दा ५१ वर्षीय कुलबहादुर सारु भेटिए । उनले एमालेमै मतदान गर्ने बताए ।

‘हामी पहिले पनि एमालेलाई नै भोट दिँदै आएका छौं । यसपटक पनि एमालेलाई नै दिने हो’, सारुले लोकान्तरसँग भने । उनको घरमा रहेको ८ मत एमालेमै जाने उनले बताए ।

त्यहीँ भेटिएका वडा नम्बर ७ का ३७ वर्षीय रुकबहादुर नेपालीले पनि आफ्नो घरमा रहेको १० मध्ये खस्ने ८ मत सबै एमालेमा जाने बताए । वडा नम्बर ७ कै ५२ वर्षीय दीपक खत्रीले पनि आफ्नो घरको २ मत एमालेमा जाने बताए ।

तर, सोही वडाका ३७ वर्षीय नरेन्द्र बुढाले भने आफूहरूले तारामा मतदान गर्ने खुलाए । उनको घरमा रहेको ३ मत तारामा जाने उनले बताए । 

त्यसैगरी, लेकबेशी-६ हिलेसिताका ५२ वर्षीय देवबहादुर ओलीले भने आफ्नो घरको ६ भोट तारामा जाने खुलाए । त्यसैगरी, लेकबेशी-३ का ६५ वर्षीय टोपबहादुर रानाले पनि आफ्नो घरको ५ मत तारामा जाने खुलाए ।

त्यसैगरी, लेकबेशी नगरपालिका-१० का ५० वर्षीय दीपेन्द्र चपाईंले व्यक्तिको नाताले प्रत्यक्षमा रूखमा मतदान गर्ने बताए । ‘यदि  मतपत्रमा नो भोटको विकल्प भइदिएको भए त्यसैमा मत दिन्थेँ’, चपाईंले लोकान्तरसँग भने, ‘तर त्यो विकल्प नभएको हुनाले व्यक्तिको नाताले प्रत्यक्षमा रुखमा मतदान गर्ने हो ।’ समानुपातिकतर्फ भने घण्टीमा नै आफ्नो मत जाने उनले खुलाए ।

null

सोही वडाका २३ वर्षीय हेमन्त सिँजालीले पनि आफ्नो घरको मत रुखमै जाने बताए ।

सुर्खेत-१ मा गुर्भाकोट नगरपालिका, लेकबेशी नगरपालिका, भेरीगंगा नगरपालिका, सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १५ र १६ पर्छ ।

हामीले अन्य स्थानीय तहका कतिपय वडामा समेत पुग्दा त्यस्तै अवस्था पाइयो । धेरैजसोले सूर्य र रुखमा प्रतिस्पर्धा हुने भने पनि घण्टीले पनि पछ्याइरहेको बताए । यद्यपि, रास्वपाका मतदाताले स्वयंले पनि आफ्ना उम्मेदवारलाई सशक्त उम्मेदवार भने मानेको देखिएन । 

परिवर्तनको लहर भन्दै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेको नाममा घण्टीमा पनि उल्लेख्य मत जाने देखिन्छ । केही दिन पहिले रवि र बालेनले सम्बोधन गरेको सुर्खेतको सभापश्चात रास्वपामा उभार आएको देखिन्छ । एक पटक नयाँलाई अवसर दिऊँ, केही गर्छन् कि भन्ने मनोविज्ञान पनि मतदातामा देखियो ।

त्यसैगरी, नेकपा एमालेभित्र कांग्रेसको मत रास्वपाले काट्ने र आफ्नो मत जोगाउन सके चुनाव जित्न सकिने आकलन छ । त्यसैले वडाबाटै संगठन लागेर मत टाइट गर्ने रणनीति एमालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्