२४ जेठ २०८३, आइतबार
पुस्तक समीक्षा

समवेतको सम्झना

फागुन १६, २०८२
काठमाडौं
समवेतको सम्झना

नेपाली साहित्यका सिद्धहस्त लेखक हुन् लक्ष्मणप्रसाद गौतम । त्रिवि नेपाली केन्द्रीय विभागमा लामो समयदेखि आवद्ध रहँदै आएका गौतम कुशल शिक्षक हुन्, प्रशिक्षक हुन्, अनि हुन् शब्दशब्दांश चिरेर र अक्षरअक्षरमा छिरेर गूढतम दार्शनिक निचोड निकाल्ने कुशल शल्य चिकित्सक पनि । दुई दशकअघि विद्यावरिधि पढेका र गरेका गौतम हाल आफैँ विद्यावारिधि पढाइरहेका छन् । उनका दर्जनौँ अनुसन्धानात्मक समालोचना कृति प्रकाशित छन् । यसैमध्येको पछिल्लो कृति हो ‘समवेत’ निबन्ध सङ्ग्रह । शिखा बुक्सले प्रकाशित गरेको यस पुस्तकलाई हालै पढ्ने अवसर जुर्‍यो, प्रकाशक मित्र पुष्पराज पौडेलको सौजन्यमा । सरसर्ती पढ्दा आफूलाई लागेको कुरा पोख्ने जमर्काे गरेको छु, यस आलेखमा ।    

कलेबरको हिसाबले समवेत खासै ठूलो छैन । कुल २२० पृष्ठको पुस्तकमा पाँचखण्ड रहेको छ । यीमध्ये पहिलो खण्ड उपासना हो, जसमा पाँच वटा निबन्ध रहेका छन् । त्यस्तै भावना–स्पर्श शीर्षकको दोस्रो खण्डमा चारवटा, ऋतदृष्टि शीर्षकको तेस्रो खण्डमा चारवटा तथा प्रत्यास्मरण शीर्षकको चौथो खण्डमा चारवटा र विसंलाप शीर्षकको पाँचौँ खण्डमा चारवटा निबन्ध रहेका छन् । मूल्य ५२५ रहेको पुस्तकको बाह्य परिचय यिनै हुन् तर आन्तरिक परिचय भने अथाह छ । त्यसैले यति नै हो भनेर मापन सकिन्न । पढ्दै जाँदा पाठकलाई पुस्तक कतै दार्शनिक विम्बहरूको ठेली हो कि जस्तो लाग्न सक्छ भने कतै विद्यावारिधिकै वारिधि नै पो हो कि जस्तो लाग्न सक्छ ।  

निबन्धहरू सबै दार्शनिक प्रकृतिका छन्, प्रकरण दार्शनिक छन्, प्रस्तुति दार्शनिक छन् ।  सबैले कुनै न कुनैरूपमा दर्शन बोलेका छन्, जीवन बोलेका छन्, जगत् बोलेका छन्, प्रकृति बोलेका छन्, प्रक्रिया बोलेका छन् । उदाहरणका लागि पहिलो उपासना प्रकरणलाई नै लिन सकिन्छ, जहाँ शब्दको उपासना भएको छ, शास्त्रको उपासना भएको छ, सरस्वतीको उपासना भएको छ, जीवनको उपासना भएको छ, जगत्को उपासना भएको छ । समग्रतामा भन्नुपर्दा मानव र मानवताको उपासना भएको छ । लेखकले यहाँ यस्तो विम्ब प्रयोग गरेका छन् जहाँ जीवन र जगत्को सिङ्गो प्रतिबिम्ब पाउन सकिन्छ । नि:सन्देह लेखकले यस प्रकरणको ‘पुस्तकमा ध्यानास्थ छु म’ शीर्षकको निबन्धमा भनेजस्तै पुस्तक पढ्नजस्तो सजिलो हुँदैन मानिस पढ्नलाई । पुस्तक पो जस्तो हो त्यस्तै देखिन्छ त तर मानिस ? शायद संसारमा पढ्न नसकिने वस्तु मानिस नै हुनुपर्छ, आफूले आफैँलाई पढ्दा पनि र अरूले पढिदिँदा पनि ।

‘उषा–आमन्त्रण’ यसै प्रकरणको अर्को निबन्ध हो । यस निबन्धमा लेखक उषगानमा निमग्न देखिन्छन् ऋग्वेदीय ऋषिहरूजस्तै । यहाँ उनले भनेका छन्– ‘दिनको उज्यालोमा रमाउँछ मानिस तर त्यही दिवस आमन्त्रण गर्ने उषालार्ई बिर्सिदिन्छन् सबैले ।’ हो, सबैले कहाँ सम्झने गरेका छन् र उषालाई । हरेक दिन व्याउने भनेको उषाले नै हो र मानिसले ब्युँझन सिकेको पनि उषाबाटै हो तर हामीमा त्यही उषालाई बिर्सने बानी हाबी छ । यद्यपि, यहाँ अभिधा अर्थमा देश विकासको असमान अवस्थाको झलक पाउन सकिन्छ तर त्यो त एउटा विशृद्ध अभिधामात्र हो । लक्षणा र व्यञ्जना त यति गहन छ कि जहाँ वर्तमान समग्र मानवव्यवहार र विचार सोलोडोलोरूपमा प्रतिविम्बित हुन पुगेको पाइन्छ ।      

त्यस्तै ‘कोठाभित्र ययावर म’ अर्को निबन्ध हो यसै प्रकरणको, जसमा पठन संस्कृति हराउँदै गएपछिको चिन्ता छरप्रष्ट भएका छन् । यसै निबन्धको एउटा स्थानमा लेखकले भनेका छन्– ‘मनमस्तिष्कमा धूलो र धुवाँ भरिएको बेला एक झर पानी बर्षाउँछ पुस्तकले र मनमस्तिष्कलाई स्वच्छ बनाउँछ एक छिन् ।’ निसन्देह ज्ञान र विज्ञान हमेसा साथै हुन्छ र उसको साधन पनि सँगै हुन्छ । प्रकृति आफैँ ज्ञानको स्रोत हो, ज्ञानको भण्डार हो, जसलाई बुझाउने काम पुस्तकले गर्दछ तर त्यसैलाई बेवास्ता गरी ज्ञानको खोजीमा हिँड्ने गरेकाले होला मानिस आफूले आफैँलाई नचिन्ने गरी हराएको छ । यस्तैयस्तै कुराको बिम्व पाउन सकिन्छ यस निबन्धमा ।  

‘लय र विलय’ पनि त्यत्तिकै बेजोड दार्शनिक प्रकृतिको निबन्ध हो यस प्रकरणको, जहाँ मानिसलाई मानिस चिन्न कति गाह्रो हुन्छ भन्ने कुरा दर्शाउन खोजिएको छ । मानिसको बाहिरी परिचय एउटा हुन्छ भित्री परिचय अर्कै आउँछ पत्रैपत्र बनेर । नि:सन्देह लेखकले भनेजस्तै जीवनमा धेरै चिनिन्छन्, चिनिएका हुन्छन् मानिस तर मान्छेभित्रको मान्छेहरू चिन्दा भेटिन्छन्, भेटिएका हुन्छन् अनेकथरि अमूर्त अनुहारहरू । हो यही हो दुनियाँ र दुनियाँको दर्पण ।

‘म अर्थात् विकीर्ण’ शीर्षकको निबन्ध पनि उत्तिकै दार्शनिक प्रकृतिको निबन्ध हो । मानिस सबै विकीर्ण छ, विकीर्णताको भारी बोकेर हिँडेको छ । आउन त ऊ सम्पूर्णताका लागि आएको हो, सम्पूर्णबाटै आएको हो र सम्पूर्णताकै लागि आएको हो तर विकीर्णताका दलदलमा नचिनेगरी यसरी भासिन पुगेको छ कि राम्रो मबाहेक केही पढ्नै सकेको छैन । आफूमात्र राम्रो भएपछि अरू सबै नराम्रो हुने नै भए । जब आफूमात्र राम्रो र अरू सबै नराम्रो देखिन थाल्छ तब मानिस यति बढी विकीर्ण हुन्छ कि कुन सड्को सङ्कीर्णताको आहालमा डुब्न पुग्छ मानिस पत्तै हुँदैन । यस्तैयस्तै विम्बको झलक पाउन सकिन्छ यस निबन्धमा ।

‘दिनको उज्यालोमा रमाउँछ मानिस तर, त्यही दिवस आमन्त्रण गर्ने उषालार्ई बिर्सिदिन्छन् सबैले ।’ हो, सबैले कहाँ सम्झने गरेका छन् र उषालाई । हरेक दिन व्याउने भनेको उषाले नै हो र मानिसले ब्युँझन सिकेको पनि उषाबाटै हो तर हामीमा त्यही उषालाई बिर्सने बानी हाबी छ ।

त्यस्तै ‘भावना–स्पर्श प्रकरणको पहिलो निबन्ध हो ‘एउटा नदी छ म आफैँभित्र’ शीर्षको निबन्ध । यहाँ जीवनलाई नदीसँग तुलना गरिएको छ । के जीवन पनि नदीजस्तै निरन्तर बगिरहेको छैन र ? नदीको उद्देश्य हुन्छ आफ्नै अंशी समुद्रलाई भेट्नु भने मानिसको पनि उद्देश्य हुन्छ आफ्नै अंशी परमात्मालाई प्राप्त गर्ने । त्यसैले उनीहरू दुवै शुरूमा शुद्ध हुन्छन्, पवित्र हुन्छन्, पवित्र उद्देश्य बोकेर हिँडेका हुन्छन् तर बीचतिर पुग्दानपुग्दै यति बढी प्रदु:षित बन्छन्, बनाइन्छन् कि दुवै नाकमुख छोपेर हिँडनुपर्ने अवस्थामा पुगिरहेका हुन्छन् तर वास्तविकता के हो भने मानिसले नाकमुख छोपेर हिँडने जति चलाखी गरे पनि मनमस्तिष्कभित्रको प्रदूषण किन छोपिन्थ्यो र ? त्यसैले त गन्तव्य भुलेर निकै टाढा पुग्दैछ मानिस ? नदीले त जति नै प्रदूषणको भारी बोके पनि एक दिन समुद्रलाई भेटेकै हुन्छ तर मानिसले ?

त्यस्तै ‘काँडालाई पनि फूलजस्तै थापेर पोल्टाभरि’ शीर्षकको अर्को निबन्धमा जीवनलाई निखार्नका लागि कति बढी घोट्टिनुपर्छ भन्ने कुराको बिम्ब पाउन सकिन्छ । काँडाको सामना नगरी कहाँ फूललाई प्राप्त गर्न सकिन्छ र ? जसले काँडाको सामना गर्ने हिम्मत गर्दछ, उसैले फूल टिप्ने अवसर पाउँछ । होइन भने मृगतृष्णाबाहेक हात लागि केही हुनेवाला छैन ।

यस्तैयस्तै कुराको असङ्ख्य बिम्ब पोखिएका छन् सबै निबन्धमा तर स्थानाभावले ती सबैलाई उल्लेख गर्न सकिएन । सारमा यति भन्न सकिन्छ सबै निबन्धले जीवनलाई देखाएको छ, जीवनको सारलाई देखाएको छ र अनि देखाएको छ सार भेट्न नसक्नुको कारण र सिकाएको छ सार भेट्न सकिने तरिका पनि । त्यसैले पुस्तक जीवन र जगत्को ऐना बन्न पुगेको देखिन्छ र यिनै कुराहरूले गर्दा पुस्तक सबैले एकपटक पढ्नै पर्ने हुन पुगेको पाइन्छ  ।     

salt training

कमेन्ट गर्नुहोस्