
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन शुरू गर्ने बताएका छन् ।
नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नम्बर १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उनले सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताए ।
'भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानूनी प्रक्रियालाई सघाउँछौं, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानूनलाई सहयोग गर्ने संस्कार बसाल्छौं,' शर्माले भने ।
उनले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाए । 'नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौं,' उनले भने ।
शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहोर्याउन मतदातालाई आग्रह गरे । 'सिंगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाँक्ने क्षमता कांग्रेससँग छ,' उनले भने ।
जेनजी युवाहरूले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उनको तर्क थियो ।