१२ असार २०८३, शुक्रबार
चुनावी ग्राउन्ड जिरो

धादिङ १ मा चारपक्षीय प्रतिस्पर्धा, आशिकालाई मन नपराउने हाइवेका स्विङ भोटरको रोजाइमा कांग्रेस !

पुरानो मत जोगाएर जीत निकाल्ने रणनीतिमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी
धादिङ १ मा चारपक्षीय प्रतिस्पर्धा, आशिकालाई मन नपराउने हाइवेका स्विङ भोटरको रोजाइमा कांग्रेस !

यसपटक घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)मा भोट हाल्ने भनेर बसेका धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय युवक (रेग्मी थर) पछिल्लो समय दोधारमा छन् ।

धादिङ क्षेत्र नम्बर १ मा रास्वपाको तर्फबाट उम्मेदवार बनेकी आशिका तामाङसँग राजनीतिक अनुभव नभएको भन्दै उनी दोधारमा परेका हुन् । पछिल्लो समय उनको मन थोरै बदलिएको छ, अब प्रत्यक्षतर्फ रूख (नेपाली कांग्रेसका कृष्ण रिजाल) र समानुपातिकतर्फ घण्टीमा भोट हाल्ने मन बनाएको उनले खुलाए ।

‘राजनीतिक अनुभव भएन । बोल्ने शैली पनि छैन । केही एजेन्डा दिन सकेको छैन, त्यसैले प्रत्यक्षतर्फको भोट के गर्ने भन्ने दोधार भयो’, बेनीघाट बजारमा भेटिएका उनले लोकान्तरसँग भने, ‘हाइवेमा व्यवसाय गर्नेले पनि आशिकालाई खासै भोट दिने देखिँदैन, त्यसैले नयाँ र युवा उम्मेदवार भएकाले कृष्ण रिजाललाई मत दिने कि भन्ने सोचेको छु ।’

बेनीघाटबजारकै रामशरण पाण्डेले पनि आशिका सामाजिक अभियन्ताका रूपमा ठीक भए पनि क्षेत्रकै प्रतिनिधित्व गरेर संसद्‌मा जान योग्य नरहेको जिकिर गरे । 

‘समाजसेवाको हिसाबले त ठीकै हुन्, तर राजनीतिक हिसाबले ठीक छैनन्’, पाण्डेले भने, ‘यसपटक कांग्रेसलाई मत दिने सोचेको छु । २०४७ मा ल्याएको भोट जोगाउन सक्यो भने जित्छ ।’

धादिङ १ कम्युनिस्टको किल्ला हो । २०७४ मा यो क्षेत्रबाट कम्युनिस्ट गठबन्धनका उम्मेदवार भूमि त्रिपाठीले कांग्रेसविरुद्ध झण्डै २८ हजार मतान्तरले जीत हात पारेका थिए ।

२०७९ मा कांग्रेस, माओवादी र नेकपा एसको गठबन्धनबाट राजेन्द्र पाण्डेले चुनाव जिते । पाण्डेले ३६ हजार १८ मत ल्याउँदा एमालेका भूमिप्रसाद त्रिपाठीले २७ हजार ९९७ मत पाएका थिए । 

तत्कालीन समयमा रास्वपाबाट उम्मेदवार बनेका हिमेश पन्तले १२ हजार ४९४ मत पाए ।

समानुपातिकतर्फ एमालेले २४ हजार ८१३, हालको नेकपा (साविक माओवादी र नेकपा एस)ले २१ हजार ८२९, कांग्रेसले १६ हजार ५६७ मत ल्याउँदा रास्वपाले १० हजार १२७ मत पाएको थियो ।

अहिले रास्वपाको पक्षमा देशव्यापी माहोल छ । सामाजिक सञ्जालमा आशिकाको चर्चा कम छैन । तर, चुनावी ग्राउन्डमा भने मतदाताले उनीप्रति त्यति सकारात्मक धारणा बनाउन सकेको देखिएन ।

बेनीघाट बजारनजिकै अलि खर्च गर्न सक्ने ग्राहकलाई लक्षित गरी होटल खोलेका एक व्यवसायीले पनि आशिकाप्रति गुनासो व्यक्त गरे ।

‘यहाँ त्रिशुलीको भनेर जनकपुरको माछा बेच्ने पनि छन् । त्रिशुलीको स्पेसल माछा महँगोमा किनेर बेच्ने गरेको छु । एक किलो माछा ल्याएर काटकुट गर्दा ७०० ग्राम बच्छ । त्यही अनुसार मूल्य पर्ने नै भयो । अनि यो माछा किन महँगोमा बेचेको ? मान्छेलाई ठग्ने भनेर फेसबुकमा कराएर हुन्छ ?’, उनले गुनासो पोखे ।

सिद्धलेक ६ परेवाटारका राजन मगरले पुराना दलसँग जनता वाक्क भए पनि अहिले विकल्प नदेखिएको बताए । 

रास्वपा उम्मेदवार आशिकाप्रति उनको असन्तुष्टि झल्कियो । ‘जनता पुरानासँग वाक्क भएका छन् । तर, उपाय छैन । फेरि पुरानैलाई भोट हाल्नुपर्ने हो कि, थाहा छैन’, उनले भने ।

गजुरी १ का मनिष सुनारले कांग्रेस उम्मेदवार राम्रो रहेको बताए ।

‘कांग्रेसमा युवा र राम्रो छवि भएको उम्मेदवार हुनुहुन्छ । गगन थापाले विद्रोह गरेपछि कांग्रेसप्रति लहर छ’, उनले भने, ‘एमालेको अहिले बिग्रिएको छ । नेकपाका राजेन्द्र पाण्डे पनि धेरैपटक सांसद बन्नुभयो । आशिका अभियन्ताका रूपमा मात्र ठीक हो, संसद्‌मा हाम्रो आवाज बोल्न सक्नुहुन्न ।’

बेनीघाट मात्र होइन, गजुरी, सिम्लेदेखि धार्केसम्म आइपुग्दा पनि राजमार्ग क्षेत्रका स्विङ भोटरको यस्तो मनोविज्ञान भेट्न सकिन्छ । गगन थापा नेतृत्वमा आएपछि एउटा तप्काले कांग्रेससँग आश गरेको देखियो ।

चौपक्षीय प्रतिस्पर्धा

केही दशकयता कम्युनिस्टबाहेक अरूले चुनाव जित्न नसकेको यो क्षेत्रमा आशिकाको इन्ट्रीले चौपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अघिल्ला चुनावमा रक्षात्मक बन्दै आएको कांग्रेस पनि उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे र नेकपा एमालेका भूमि त्रिपाठी पनि चुनाव जित्ने लक्ष्यका साथ मैदानमा छन् । 

प्रतिस्पर्धामा आफू नै अगाडि रहेको दुवै पक्षको विश्लेषण छ । मतदातासँग कुराकानी गर्दा पनि यहाँ चौपक्षीय प्रतिस्पर्धा देखिन्छ । 

कृष्ण सिलवाल

सिद्धलेक गाउँपालिका वडा नम्बर १ कालीदहका कृष्ण सिलवालले नेकपाका राजेन्द्र पाण्डेलाई मत दिने बताए । धादिङ १ मा पाण्डेले धेरै काम गरेको उनको दाबी थियो ।

सिद्धलेक १ कै लक्ष्मी अधिकारीले अहिलेसम्म कांग्रेसलाई मत दिँदै आएको बताइन् । ‘हामीलाई दु:ख पर्दा कसैले बोलिदिँदैन । अहिलेसम्म कांग्रेसलाई मत दिँदै आएको हो’, अधिकारीले भनिन्, ‘यसपटक भन्न त नयाँ पनि भन्या छन्, के हुन्छ हेरौं ।’

लक्ष्मी अधिकारी

सिद्धलेककै नलाङका कृष्ण सुनारले आफू पहिला एमाले भए पनि यसपटक घण्टीमा भोट हाल्ने बताए ।

सोही ठाउँका पोष्टबहादुर भट्टले तारामा भोट दिने बताए । ‘म पहिला एमाले हो । केपी ओलीले संसद् विघटन गरेको बेलादेखि एमाले मन परेन । यसपटक तारा चिह्नका राजेन्द्र पाण्डेलाई भोट दिन्छु’, भट्टले भने ।

पोष्टबहादुर भट्ट

सिद्धलेक गाउँपालिका १ बैरेनीका नमराज भट्टले यसपटक घण्टीमा भोट हाल्ने बताए । तर, आशिकाप्रति उनको प्रतिक्रिया भने त्यति राम्रो थिएन । 

‘पहिला सूर्यमा भोट हाल्दै आएको हो । बाँचुञ्जेल एउटै भन्ने हुँदैन । हाम्रो गाउँमा कांग्रेस बढी छन्, तर मैले रवि लामिछाने र बालेन साहको अनुहार हेरेर भोट हाल्छु’, भट्टले भने, ‘आशिकाको त के कुरा गर्नु, त्यो बच्चा हो ।’

बैरेनीमै भेटिएका रामजी परियारले आफूले एमालेलाई भोट हाल्ने बताए । ‘यो देश बनाउने र जलाउनेबीचको प्रतिस्पर्धा हो, मेरो रोजाइ देश बनाउने पार्टी एमाले नै हुन्छ’, परियारले भने । उनको पुरानो पृष्ठभूमि माओवादी रहेछ ।

सिद्धलेक ६ परेवाटारका बमबहादुर श्रेष्ठले आफूले विगतदेखि नै राप्रपालाई मत दिँदै आएको बताए । सँगै रहेकी उनकी पत्नीले घण्टीमा भोट हाल्ने बताइन् ।

सिद्धलेककै एक महिला फुर्के खोलामा होटल चलाएर बसेकी रहिछन् । नाम बताउन अस्वीकार गरेकी उनले नयाँलाई हेर्ने बताइन् । तर, आशिकाप्रति भने उनको त्यति सकारात्मक प्रतिक्रिया थिएन ।

‘उम्मेदवार बन्न लायक मान्छे त होइनन्, बोल्न पनि जान्दिनन्, तर भोटचाहिँ घण्टीमा हाल्छु’, उनले भनिन् ।

बेनीघाट रोराङ गाउँपालिका ६ स्यादुलका निराजन चेपाङले आफ्नो परिवारबाट तारामा भोट जाने बताए । ‘मेरो त भोटर आईडी बनेको छैन । परिवारका सबैले तारामा भोट हाल्नुहुन्छ । हाम्रो गाउँमा सबै तारा नै छन्’, उनले भने ।

निराजन चेपाङ

बेनीघाट बजारकी सुरपना मियाले बुढा (पति)ले जहाँ भन्छन्, त्यहीँ मत हाल्ने बताइन् । ‘हामी पहिले त एमाले हो, यसपटक के हुन्छ हेरौं’, उनले भनिन् ।

बेनीघाट ५ बाउनटारका दिलिप कँडेलले केही युवाले नयाँ भने पनि पुराना दललाई भोट हाल्ने व्यक्तिहरू नै बढी रहेको बताए ।

दिलिप कँडेल

‘युवाले नयाँ भन्या छन् । तारा पनि छन्’, उनले भने, ‘एमालेलाई भोट हाल्दै आएको हो । भोट पाएपछि मतलब नै गर्दैनन् । राजेन्द्र पाण्डेले यो ठाउँमा काम पनि गर्‍याछन् । एमालेकै कतिपयको सोचाइ राजेन्द्र पाण्डे भन्ने पनि छ ।’

सिद्धलेककी पुण्यवती अर्यालले कुनै उम्मेदवार गतिलो नभएको बताइन् । ‘कुनै गतिलो छैनन् । राम्रो उठ्यो भए मन जान्थ्यो । कहाँ-कहाँबाट को ल्याए’, उनले भनिन्, ‘बरु राजेन्द्र पाण्डेलाई मत देलान् । कांग्रेसको पनि अहिले अलि राम्रो भएको छ ।’

बेनीघाट ३ का जनकराज त्रिपाठीले यसपटक धादिङ १ मा चौपक्षीय (एमाले, कांग्रेस, नेकपा र रास्वपा) प्रतिस्पर्धा हुने बताए । 

जनकराज त्रिपाठी

‘हिजोकाले पनि काम त गरेकै हुन् । पहिला जितेको हिसाबले राजेन्द्र पाण्डे नै अगाडि होलान् । यसपटक चारै उम्मेदवारलाई उस्तै-उस्तै मत जान्छ’, उनले भने । 

बेनीघाट ३ मलेखुका राजकुमार पाण्डेले यसपटक कांग्रेस आशावादी देखिएको बताए । 

राजकुमार पाण्डे ।

‘यसपटक अन्यौल छ । तर, कांग्रेस आशावादी भएको छ, जित्न त के गर्छ । पहिला कांग्रेसको ८/१० हजार भोट बिक्थ्यो । यसपटक त्यस्तो हुँदैन’, उनले भने, ‘राजेन्द्र पाण्डेले एमालेको ५/६ हजार भोट आश गर्‍याछन्, तर त्यस्तो होला जस्तो लाग्दैन ।’

संगठनात्मक हिसाबले एमाले नै बलियो रहेको उनको भनाइ थियो ।

उनले आशिकाको पनि आलोचना गरे । ‘राजनीति गर्ने र विकास गर्ने क्षमता भएको मान्छे हो जस्तो लाग्दैन । सिक्नलाई नै समय लाग्छ । डोनेसन ल्याएर पैसा बाँड्नजस्तो सजिलो हुँदैन’, उनले भने । 

मलेखुकै सुस्मिता सिलवालले आफू बच्चैदेखि एमाले भएको बताइन् । ‘हामी बच्चैदेखि एमाले हो । एमालेले नै जितिरहेको क्षेत्र हो । राजेन्द्र पाण्डे पनि पहिला एमाले नै हुनुहुन्थ्यो’, उनले भनिन् ।

गजुरी १ गजुरी बजारका योगप्रसाद न्यौपानेले एमाले अगाडि रहेको तर्क गरे । रास्वपा उम्मेदवार आशिकाप्रति उनको असन्तुष्टि थियो । 

योगप्रसाद न्यौपाने

‘सबै कामका लागि योग्यता तोकिन्छ, राजनीतिमा तोकिन्न । केही राहत बाँडेको आधारमा नेता बन्या छन् । नेपाल नै रहने हो कि नरहने हो भन्ने चिन्ता छ । पुराना दलले खाएको भन्दा बढी एक दिनमा जलाएरै सकाए’, न्यौपानेले भने, ‘२०७९ को मत हेर्ने हो भने पनि एमाले अगाडि देखिन्छ, त्यही भएर अहिले सबै एमालेविरुद्ध लागेका हुन् ।’

गजुरी ८ सानोबांगेका मधु श्रेष्ठले  घण्टी र ताराको माहोल बराबरी रहेको बताए  । ‘गजुरीमा चाहिँ ताराको अलि राम्रो छ । धेरै वडा जितेको पनि छ’, श्रेष्ठले भने । गजुरी ६ जोगीटारका भीमबहादुर बिकले आफ्नोतिर कांग्रेस धेरै रहेको बताए ।

रामभक्त बस्नेत
गजुरी ८ किराञ्चोकका रामभक्त बस्नेतले आफूले तारामा भोट हाल्ने बताए । ‘साँचो कुरा भन्दा भोट तारामै हाल्ने हो । हाम्रो ठाउँबाट ९५ प्रतिशत भोट राजेन्द्र पाण्डेलाई जान्छ’, उनले भने, ‘यसपटक हाम्रो प्रतिस्पर्धा आशिकासँग हो ।’

गल्छी ७ भल्टारकी सुशीला धितातले आफूहरूले  विगतमा एमालेलाई मत दिँदै आएको बताइन् । ‘साँचो कुरा भन्दा हामीले एमालेलाई भोट हाल्दै आएको हो । यसपटक छोराछोरीले घण्टी भन्या छन्, तर के हुन्छ, थाहा छैन’, उनले भनिन् ।

थाक्रे २ सिम्लेका हरि थापाले आफूहरूले पहिला एमालेलाई मत दिँदै आएको बताए । ‘हामी पहिला एमाले हो । घण्टीको पनि ठीकठीकै छ, के हुन्छ हेरौं’, उनले भने ।

सिम्लेकै नवराज रिजालले आफ्नै गाउँ-ठाउँको भएकाले कांग्रेसलाई भोट दिने बताए ।

‘छिमेककै उम्मेदवार हुनुहुन्छ । यहाँ त कांग्रेसकै चहलपहल छ । घण्टीको खासै छैन । आशिकाले राजनीतिक माहोल त्यति बुझेको जस्तो पनि लाग्दैन, बोल्न पनि जान्दिनन्’, रिजालले भने । उनको पुरानो पृष्ठभूमि एमाले रहेछ ।

थाक्रे ६ महादेववेशीका रामकृष्ण कार्कीले यसपटक एमालेले जित्ने दाबी गरे । ‘पाँच दलको गठबन्धनविरुद्ध पनि एमालेले झण्डै २८ हजार मत ल्याएको हो । हामी अझै पनि अगाडि छौं’, उनले भने ।

null

थाक्रे ६ कै हरिकुमार अधिकारीले केही वडाबाट रास्वपामा गएकाहरू पनि फर्किने क्रम शुरू भएको बताए । 

‘आशिकाको कुनै एजेन्डा छैन । रास्वपामा गएका पनि फर्किएका छन् । बोली चिप्लियो भनेर हुँदैन । लेखेको पढ्न त यस्तो छ, संसद‌्मा गएर के गर्ने हो ?’, उनले भने, ‘हाम्रोमा एमालेले जित्छ ।’

सोही ठाउँका सुदीप गर्तौला पनि एमाले समर्थक नै रहेछन् । ‘अहिले धेरै मान्छे खुल्या छैनन्, तर जीत एमालेकै हुन्छ’, उनले भने ।

धुनिबेसी ८ खर्के डाँडाका शम्भु लुइँटेसहित व्यक्ति तारा चिह्न अंकित ब्याच लगाएर बसिरहेको भेटिए । नेकपाका राजेन्द्र पाण्डेले जित्ने दाबी गरेका उनले रास्वपाका आशिका तामाङलाई धेरैले सिरियस नलिएको बताए ।

उनीसँगै रहेका प्रकाश रेग्मीले पनि राजेन्द्र पाण्डेजत्तिको नेता यो क्षेत्रमा नरहेको जिकिर गरे । थाक्रे २ सिम्ले बजारका ईश्वर तामाङले घण्टी र ताराको प्रतिस्पर्धा हुने बताए ।

‘बन्न त ताराको माहोल बनिरहेको छ । काम नगरेका पनि होइनन्, तर पुरानालाई हेरिसकियो । यसपटक मेरो समर्थन घण्टीलाई छ’, उनले भने, ‘यसपटक तारा र घण्टीकै प्रतिस्पर्धा हुन्छ ।’

थाक्रे ६ का ५६ वर्षीय पुरुषले आफ्नो वडाबाट ५० प्रतिशत भोट घण्टीमा जाने बताए । ‘हाम्रो वडाबाट करिब ५० प्रतिशत मत घण्टीमा जाने देखिन्छ । अहिले उम्मेदवार कसैले हेरेकै छैनन्, केवल मोबाइल हेर्‍यो, पुग्यो । घण्टीकै महोल बनिरहेको छ,’ उनले भने ।

धुनिबेसी ५ पुरानो धार्केका राम मानन्धरले यसपटक नयाँलाई हेर्ने बताए ।

राम मानन्धर

‘कुनै समय सबैभन्दा बढी मत ल्याएर वडा सदस्य जितको हुँ  । अहिले नयाँलाई मौका दिनुपर्छ’, उनले भने ।

धुनिबेसी ५ कुनाइखोलाका कृष्ण श्रेष्ठले यसपालि नयाँलाई नै हेर्ने बताए । ‘यसपालि नयाँलाई मत दिने हो । सबैलाई दिएर हेरेको हो’, उनले भने ।

सिद्धलेक १ कालीदहका नरबहादुर श्रेष्ठले प्रत्यक्षमा घण्टी र समानुपातिकमा पुरानै पार्टीलाई मत दिने बताए ।

सिद्धलेक २ का कृष्णबहादुर घलेले आफ्नो पृष्ठभूमि कांग्रेस रहे पनि नयाँलाई हेर्न चाहेको बताए ।

कृष्णबहादुर घले

सिद्धलेक १ की रिता भट्टले आफ्नो ठाउँमा धेरै एमाले र कांग्रेस रहेको भन्दै पहिले जहाँ दिँदै आएको हो, त्यतै भोट हाल्ने बताइन् ।

सिद्धलेक ५ की फम्फा घलेले युवाहरूले घण्टी भने पनि भोट हाल्ने धेरै युवा गाउँमा नरहेको बताइन् ।

बेनिघाट रोराङ ५ का ३२ वर्षीय केशर थापा मगरले मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र नेकपाबीच हुने बताए ।

बेनीघाट ५ कै मन्दिर श्रेष्ठले भोटर आईडी नभएकाहरूले चाहिँ घण्टी भनिरहेको भन्दै आफ्नो झुकाव कांग्रेसतर्फ रहेको खुलाए ।

बेनीघाट ३ का रामशरण सिलवालले एकपटक नयाँलाई मौका दिन मन लागेको बताए ।

रामशरण सिलवाल

मलेखु बजारमा फलफूल पसल सञ्चालन गर्दै आएकी बेनिघाट ३ की सुमित्रा ठकुरीले एकपटक नयाँलाई मौका दिने बताइन् ।

गजुरी गाउँपालिका ३ चौकीटोलका केशव सुनारले घण्टी र रुखबीच प्रतिस्पर्धा हुने दाबी गरे ।

‘घण्टी र कांग्रेसकै प्रतिस्पर्धा हुन्छ । दुवै राम्रा छन् । अहिलेको मत कांग्रेसलाई हो । उम्मेदवार पनि नयाँ छन् । नयाँ भएर आएको कांग्रेसलाई मेरो भोट’, उनले भने ।

गजुरी ६ का हरिचन्द्र आलेले आफ्नो भोट कांग्रेसलाई जाने बताए । ‘अहिले घण्टी भन्दै हिँडिरहेका छन्, तर भोट दिन्छन् कि दिन्ननन्, भन्न सकिन्न । हाम्रो मत कांग्रेसलाई हो । मत परिवर्तन हुँदैन’, उनले भने ।

गजुरी ६ का मीनबहादुर मगरले कांग्रेस र नेकपाबीच प्रतिस्पर्धा हुने विश्लेषण गरे ।

‘कसैले घण्टी बजाउने भन्छन्, तर थाहा छैन के गर्छन् । मैले तारामा भोट दिने भनेको हो । प्रतिस्पर्धामा रूख र तारा नै आउँछन्,’ उनले भने ।

यीबाहेक अन्य कैयन् व्यक्तिसँग पनि हामीले कुराकानी गर्‍यौं, उनीहरूले आफ्नो पहिचान खुलाउन चाहेनन् । 

यसरी नाम खुलाउन नमान्नेमध्ये अधिकांश एमालेलाई मत दिन्छु भन्नेहरू थिए । देशव्यापी रूपमा एमालेको मनोबल कमजोर बनिरहेको अवस्थामा यहाँ पनि त्यसको झल्को देखियो ।

३०० भन्दा बढीसँग कुराकानी गरेपछि हाम्रो निष्कर्ष छ, यसपटक धादिङ १ मा चौपक्षीय प्रतिस्पर्धा हुन्छ । कांग्रेस र रास्वपाबीच स्विङ भोटमा प्रतिस्पर्धा भइरहेको स्थितिमा एमाले र नेकपा भने पुरानो मत जोगाएर जीत निकाल्ने रणनीतिमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्