०८ साउन २०८३, शुक्रबार

सुनसरी-३ मा भगबती चौधरीको घरदैलो अभियान तीब्र

फागुन १७, २०८२
काठमाडौं
सुनसरी-३ मा भगबती चौधरीको घरदैलो अभियान तीब्र

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले घरदैलो अभियान तीब्र पारेकी छन् ।

निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरू हुने समय नजिकिँदै गर्दा चौधरीले आफ्नो अभियानलाई तीब्र बनाएकी हुन् । 

चौधरी अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएकी थिइन् । उनले त्योबेला ४० हजार ७ सय ८८ मत ल्याएर जीत हासिल गर्दा उनका प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गरेका थिए । कांग्रेसबाट अहिले पनि उनै विजय उम्मेदवार छन् ।

अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरेका थिए ।

एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमान्डर लिलम बस्नेतले यस पटक ११ हजार मतान्तरले जीत हासिल गर्ने दाबी गरे । अघिल्लो निर्वाचनमा ५ हजार १ सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उनले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दाबी गरेका हुन् ।

एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको भनाइ छ । 

भगबती चौधरीले फरवार्ड लघुबित्तमार्फत् ५० हजार बढी महिलालाई स्वरोजगार बनाएकी एमाले नेताहरू बताउँछन् । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएकी चौधरीले ५ अब हजार जनालाई रोजगार बनाउने प्रतिबद्धता जनाएकी छन् । 

‘०७९ सालमा ५ वर्षका लागि निर्वाचित भएर गएको  थिएँ, ५ वर्ष पूरा कार्यकाल काम गर्न पाएकाोभए त्यसबेलाका धेरै प्रतिबद्धताहरू पुरा हुने थिए । अब पुनः जितेर गएर ती प्रतिबद्धताहरू पुरा गर्छु । कामको पूर्णताका लागि पनि मेरो उम्मेदवारी हो’, चौधरीले भनिन् । 

चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गरिन् । संसद्‌मा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उनले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गरिन् । 

सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । 

कूल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूह अनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।

salt training

कमेन्ट गर्नुहोस्