
चुनावी रिपोर्टिङका लागि माघ २१ गते काठमाडौं छाड्दा मेरो पनि बुझाइ त्यस्तै थियो– शहरी क्षेत्रका युवा मात्र परिवर्तन भएका होलान् । पूर्वी पहाड, मधेश र पाका मतदाता परम्परागत सोचाइमै होलान्, संसद्वादी दलको गढ कायमै होला ।
लोकान्तरका सम्पादक विमल गौतमसहित ताप्लेजुङबाट शुरू भएको हाम्रो यात्रा पूर्वी पहाड, मधेशका जिल्ला लुम्बिनी प्रदेश हुँदै पूर्वी रूकुमसम्म पुग्यो । मधेश र पूर्वी नेपालका जिल्लामा त हामी दोहोर्याएर पुग्यौं । मतदातासँग कुराकानी गरेर लामा लामा स्टोरी लेख्यौं ।
चुनावी रिपोर्टिङका दौरान केही अपवाद बाहेक हामीले राजनीतिक दलका नेतालाई भेटेनौं । किनकी हाम्रो रूची बदलिएको जनतमबारे बुझ्नु थियो, नेतालाई भेट्ने विषय प्राथमिकतामा थिएन । चुनिएर गएका नेताको कुरा त हामी आमनिर्वाचनपछिका ५९ महिना लेख्छौं ।
ताप्लेजुङ सदरमुकमाम फुङ्लिन, पाँचथरको फिदिम र इलाम आइपुग्दा मतदाताको मन बदलिएको बुझ्न काफी थियो । हामीले फिल्ड रिपोर्टिङ शुरू गर्दा चुनावको माहोल तातिसकेको थिएन, तर मतदाताले एउटा धारणा बनाइसकेका थिए ।
पूर्वी पहाडका जिल्लाबाट झापा झर्दा यसपटकको चुनावमा नयाँको लहर आएको प्रस्ट देखिएको थियो । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेका बालेन (बालेन्द्र) शाह मैदानमा रहेको झापा-५ मा लोकान्तरको टीमले ३ दिन लगाएर ७ सय ९ मतदातासँग कुरा गर्यौं ।
त्यही आधारमा माघ २६ गते विशेष रिपोर्ट प्रकाशित गर्यौं– नयाँप्रति अत्यधिक आकर्षण, रक्षात्मक अवस्थामा कांग्रेस एमाले ।
झापा ५ मा समाचारलाई ब्यालेन्स गर्नका लागि कांग्रेस–एमालेलाई भोट हाल्छौं भन्ने व्यक्ति पाउन मुस्किल थियो ।
झापा-५ का मतदातासँग गरेको कुराकानीका आधारमा फोटो र भिडियोसहित त्यो स्टोरी प्रकाशित गरेपछि एउटा तरंग सृजना भयो । काठमाडौंमा बसेर टीकाटिप्पणी गर्ने कतिपयले त्यो स्टोरीलाई स्वाभाविक रूपमा लिएनन्, तर धेरैले बदलिएको जनमतबारे थाहा पाए । कतिपयले फोन गरेरै भने– हामी काठमाडौंमा बसेर त्यहाँको वस्तुस्थिति बुझेका रहेनछौं ।
मतदाताको बदलिएको कुरा जस्ताको तस्तै लेख्दा कुनै दलप्रति पक्षधरता देखाएको आरोप र टिप्पणी भयो । लोकतान्त्रिक मूल्य मान्यता र शक्ति सन्तुलनमा विश्वास राख्ने भए पनि पंक्तिकारले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन । त्यसैले सत्य कुरा लेख्न धक मान्ने कुरा भएन ।
हामीले कुरा गरेका झापा-५ का मतदाताले ‘३५ वर्षदेखि पुरानै पार्टीलाई मत दिएको र यसपटक परिवर्तन चाहेको’ बताएका थिए । दमकको शहरी भेगदेखि गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका कयौं मतदातासँग उनीहरूको घर आँगनमा गएर कुरा गरिएको थियो । खेतबारीमा काम गर्दै गरेका कृषक, गृहिणी महिला, मजदूर, व्यापारीसँग कुरा गर्दा जवाफ सल्लाह गरेर दिएको जस्तो आउँथ्यो– पुरानोलाई पुग्यो, यसपटक नयाँलाई !
कतिपय स्थानमा समाचार ब्यालेन्स गर्नका लागि एमाले-कांग्रेसलाई भोट हाल्छौं भन्ने मतदाता फेला पार्न पनि कठिन अवस्था थियो । ‘पुरानालाई पटक पटक हेर्यौं, यसपटक नयाँलाई’ भन्ने सूत्र मतदाताले कण्ठ पारेका थिए । अनुहार मात्र फरक हो, मतदाताको जवाफ एउटै थियो ।
नयाँको पक्षमा लहर, बालेन एक्ला उम्मेदवार !
अहिलेको चुनावमा कसैले मतदातामा अपिल पुर्याउन सकेको छ भने त्यो हो, रास्वपा । त्यसको केन्द्रमा छन्– बालेन । अन्य दलले माहोल तताउन सकेका छैनन् ।
तराईका जिल्ला होस् या पहाडी क्षेत्रमा यसपटक नयाँलाई भोट दिने बताएका अधिकांश मतदाताले ‘बालेनलाई प्रधानमन्त्री बनाउन’ भन्ने जवाफ दिए । ‘पैसामा भोट बेच्ने’ भनेर गलत भाष्य बनाइएका तराईका दलित र सुकुम्बासी बस्तीहरूले त्यसलाई भत्काइदिएका छन् ।
पान पसलमा ‘अबकी बार बालेन सरकार’ बोलका मैथली गीत ठूला स्पिकरमा बजिरहेका छन् । मधेशका दलित बस्तीहरूमा मतदाता भनिरहेका छन्– ‘बालेन सरकार !’
किन भनेर प्रश्न गर्दा जवाफ आउँछ– उनले काठमाडौं चम्काए, त्यस्तो मान्छे प्रधानमन्त्री बन्न पायो भने देशै चम्काउँछ ।
बालेनले काठमाडौं चम्काएको बताउने कतिपय त एकपटक काठमाडौं समेत पुगेका छैनन् ।
बालेनले इटहरीको सभामा सम्बोधन गरिरहेको समयमा हामी नजिकै धरानमा मतदातासँग कुरा गर्दै थियौं । मोबाइलमा बालेनको सम्बोधन सुन्दै गरेकी सुनिता राईले अरूलाई गाली नगरी मन जितेको बताइन् ।
‘थोरै बोलेर पनि बालेनले मतदाताको मत जितिरहनु भएको छ, नेता त त्यस्तो पो हुनुपर्छ’, राईले भनिन् ।

मोरङ ४ अन्तर्गतको ग्रामथानका चतुरलाल खाँ थारूले मधेशका जिल्लामा चैत-वैशाखको हुरीजस्तै नयाँको पक्षमा लहर चलिरहेको टिप्पणी गरेका थिए । ‘अहिले मधेशमा नयाँ दल घण्टीको पक्षमा हुरी चलिरहेको छ । मानिसहरू नयाँलाई भोट दिन आतुर देखिन्छन्’, थारूले भने ।
विराटनगरमा केही रिक्सा चालक आफ्नै खर्चमा ‘अबकी बार बालेन सरकार’ लेखिएको टिसर्ट लगाएर बसेका थिए । ‘बालेन सरकार आयो भने देशमा परिवर्तन हुन्छ कि ? मालपोत, कर कार्यालयदेखि नगरपालिकासम्मको भ्रष्टाचार रोकिन्छ कि भन्ने आशा छ, त्यसैले बालेन जिताऔं भनेर लागेका छौं’, विराटनगर महानगरपालिका २ का गोपाल सहनीले भने । बालेन सरकार लेखिएको टिसर्ट लगाएका विराटनगर १ का अनिल पोदारले देशमा आश गर्ने एउटा व्यक्ति बालेन मात्र रहेको दाबी गरे ।
मधेशका जिल्लाका महिलाहरूसँग कुरा गर्दा उनीहरूले एउटै जवाफ दिए– ‘घण्टी छापमा मोहर लगाएर बालेनलाई प्रधानमन्त्री बनाउने ।’
काठमाडौंमा गरिब विद्यार्थीलाई छात्रवृत्ति दिएको, अस्पतालमा गरिबका लागि कोटा छुट्याएको तथा विकास गरेकाले उनीप्रति आकर्षण रहेको बताए ।
मधेशका जिल्लाका रास्वपा उम्मेदवारले बालेनले माघ ५ गते जनकपुरमा गरेको भाषणको क्लिप माइकिङ गर्दै चुनाव प्रचार प्रसार गरिरहेका थिए । ‘मधेशीको छौरा’लाई प्रधानमन्त्री बनाउने हो ? भनेर गरेको सम्बोधनले मधेशका मतदातालाई आकर्षण गरेको देखियो ।
‘देउवाको घरमा पैसा जलेको भिडियो रिआईले बनाएको ?’
नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिबद्ध कार्यकर्ताले नयाँ पार्टीलाई रोज्नुमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई देखाए ।
देउवाको घरमा पैसा जलेको र त्यो भिडियो एआईले बनाएको भनेर केपी ओलीले गरेको दावीप्रति धरान- ६ पानबारीका कृष्णप्रसाद भट्टराईले आक्रोश व्यक्त गरे । ०१५ सालको चुनावमा कांग्रेसलाई भोट हालेको बताउने ८५ वर्षका भट्टराईले आरजुले कांग्रेसलाई डुबाएको आरोप लगाए ।
‘के बोलेको त्यस्तो ? भ्रष्टाचार गरेर पैसा जम्मा गर्ने अनि रिआई (एआई भन्न नजानेर रिआई भने)ले बनाएको भन्ने त्यसको घरमा पैसा जलाएको रिआईले हो ?’ भट्टराईले आक्रोश पोखे । फेसबुक र युट्युबमा आएका भिडियो हेरेर यी सबै कुरा थाहा पाएको उनले बताए ।
८२ वर्षका लक्ष्मीप्रसाद दाहालले एमालेका प्रदेश मन्त्रीको गाडीले ललितपुरको गोदावरीमा बालिकालाई हान्दा ओलीले बचाउ गरेको घटना स्मरण गरे ।
‘उनीहरू मिलेर गिरिबन्धुको जग्गा खाए, यस्तो सम्पत्ति खाँदा तपाईंको आँसु आउँछ कि आउँदैन ? एमालेको नेताले बच्चालाई गाडीले हान्दा केही होइन भन्ने त्यो ओली देश डढेलो लागेपछि सेनाको ब्यारेकमा गएर भाग्नु पर्यो कि परेन ?’ दाहालले भने, ‘ओलीले घरको भित्तामा ग्यास ल्याउँछु, पानीजहाज चलाउँछु, रेल ल्याउँछु भनेर नहुने कुरा गर्ने ? यस्ताले फेरि भोट माग्ने लाज लाग्दैन ?’

मोरङ ३ रमाइलो बजारका ८४ वर्षीय वासुदेव पोखरेल पनि पुराना दलले गरेको गल्तीका कारण मान्छेहरूले नयाँ दल रोज्न थालेको बताए ।
‘०१५ सालको चुनावमा थोरै ढाँटेर भोट दिएको हो, अहिले पुरानालाई भोट नदिने बरु सन्यासी हुनुपर्छ जस्तो लागेको छ’, नातामा मदन भण्डारीको मामा दाबी गर्ने पोखरेलले भने, ‘एमाले च्यात्तिँदै गयो, त्यहाँका सबै निकालिए, ओली मात्र बाँकी छन् । प्रधानमन्त्री छँदा आफ्नो पार्टीका मान्छे बचाए, अर्काको पार्टीलाई जाके, रविलाई जाके ।’
पुराना दलको नाम सुन्दा वाक्क भएका मतदाताले यसपटक चुनावमा बाढी ल्याउने उनले दाबी गरे । ‘मन्त्रीमण्डलको क्वार्टर रहेको बालुवाथान (प्रधानमन्त्री निवास बालुवाटार भन्न खोजेका) पनि बेचेर खाएछन्, फेरि तिनैलाई दिएर देश बेच्न दिने ?’, पोखरेलले प्रश्न गरे ।
मोरङ बुढीगंगा १ को एउटा सुकुम्बासी टोलका सुरेश ऋषिदेवले बालेनलाई प्रधामनन्त्री बनाउनका लागि घण्टीमा भोट हाल्ने बताए । ‘बालेन प्रधामनन्त्री भयो भने उसले हामी जस्ता गरिबको भलो गर्नेछ, अहिलेसम्म धेरैले हामीलाई छल गरे’, ऋषिदेवले भने ।
यी बृद्धहरूका भनाइ प्रतिनिधिमुलक हुन्, जसले जीवनको उत्तरार्द्धमा मत परिवर्तन गरेर नाती पुस्तालाई विश्वास गरिरहेका छन् ।
नेपाली राजनीतिको पानीढलो
‘पुरानालाई ३५ वर्ष हेर्यौं, यसपटक नयाँलाई’ भन्ने मतदाताको बेगले यसपटकको चुनावमा हुरी बतास ल्याउँदैछ । वैकल्पिक शक्तिको रूपमा उदाउँदै गरेको रास्वपाप्रति पूरै भरोसा भएर नभइ परपरागत राजनीतिक दलप्रतिको भरोसा टुटेका कारण आक्रोशको भोट रास्वपालाई जाँदैछ ।
मतदाताहरूले सतर्कतापूर्वक भनिरहेका छन्, एकपटक रास्वपालाई परीक्षण गर्ने हो, धोका भयो भने अर्कोपटक दण्ड दिने हो । रास्वपालाई भोट दिने भनेका सबै मतदाताले आस्थाको राजनीतिक दल छाडेका छैनन्, तर शीर्ष नेतालाई सबक सिकाउन पनि यसपटक मत परिवर्तन गर्ने पक्षमा पुगेका छन् ।
यसर्थ, फागुन २१ गतेको निर्वाचन नेपाली राजनीतिमा नयाँ र पुरानाको विभाजन रेखा कोर्ने पानीढलो हुँदैछ । नेपालमा लोकतन्त्र स्थापनाका लागि लामो संघर्ष गरेका दल रक्षात्मक अवस्थामा पुग्ने र लामो इतिहास नभएका नयाँ दलले चुनाव जित्ने सम्भावना देखिँदैछ ।

यसका लागि रास्वपाले आम जनतामा अपिल पुर्याएको छ । गाउँ, दूरदराजका आफ्नो नाम लेख्न नजान्ने महिलाले पनि यसपटक नयाँलाई दिने भनिरहेका छन् । किन नयाँलाई भनेर सोध्दा जवाफ आउँछ- ‘नयाँले अवसर पाए भने काम गर्छन् ।’
यसपटकको चुनावमा सबभन्दा बढी कसैले गुमाउँदैछ भने त्यो एमालेले हो । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा तथा ‘मिसन ०८४’ र निर्णायक राष्ट्रिय शक्ति बनाउने भनेर चुनावमा होमिएको एमाले तेस्रो पोजिसजका लागि नेकपासँग प्रतिस्पर्धा गर्ने अवस्थामा छ । एमालेका कार्यकर्ताहरू रक्षात्मक छन् । कतिपय उम्मेदवारले पार्टी नेतृत्वको नाम लिएका छैनन्, प्रचार सामाग्रीमा ओलीको फोटो हालेका छैनन् ।
‘यी नानी त ठीकै हुन्, तर टाउको नै ठीक भएन’, एक उम्मेदवारले आफूले बेहोर्नुपरेको समस्या सुनाउँदै भने ।
देशका २५ भन्दा बढी जिल्लामा स्वयं आफैंले मतदातासँग कुरा गर्दा र लोकान्तरको टीमले कर्णाली, सूदूरपश्चिम र हिमालीसहित देशका ७० भन्दा बढी जिल्लाको रिपोर्टिङको आधारमा लेख्दैछु- रास्वपा बहुमतसहितको पहिलो दल बन्दैछ ।
फराकिलो अन्तरसहित कांग्रेस दोस्रो बन्दैछ । गगन थापाले कांग्रेसको नेतृत्व लिएर चुनावमा गए पनि नेतृत्व परिवर्तन गरेको र सुधारिएको भन्ने म्यासेज गाउँमा पुगेको छैन । गगनले कांग्रेस पुनर्गठन गर्ने बेलासम्म मतदाताले एउटा धारणा बनाइसकेका थिए । नयाँ र पुरानो शक्तिलाई मिलाएर लैजान सक्ने सामर्थ भएको नेता गगन हो भन्नेमा बौद्धिक मतदाता सचेत छन्, तर सीमान्तकृत समुदायका मतदाताले यो बुझेका छैनन् ।
‘नयाँ र पुरानाको विभाजन रेखा’ले गर्दा गगनलाई पनि पुरानै पार्टीको कित्तामा पुर्याइदिएको छ ।

यसपटक मधेश केन्द्रित दल जसपा, पूर्वपञ्चको पार्टी राप्रपा, पूर्वका नवोदित श्रम संस्कृति र कुलमानको पार्टी उज्यालो नेपालले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउन मुस्किल पर्ने देखिन्छ ।
पाँचौं चुनावको अनौठो अनुभव
२०६४ सालको संविधानसभा निर्वाचनयता भएका सबै चुनावको रिपोर्टिङ गरेको अनुभव रहे पनि यसपटकको चुनाव धेरै हिसाबले फरक लाग्यो । २०६४ सालको संविधानसभा निर्वाचनको बेला सामाजिक सञ्जाल आएकै थिएनन्, मानिसहरू एफएम रेडियोलाई सूचनाको आधार मान्थे ।
भर्खरै शान्ति प्रक्रियामा आएको माओवादी नयाँ थियो । उसले नारा लगाएको थियो– ‘पटक पटक हेर्यौं अरूलाई यसपटक हेरौं माओवादीलाई ।’ त्यो नारालाई देशभरका मतदाताले मन पराए । माओवादीले प्रत्यक्षतर्फ बहुमतसहित देशभर उभार ल्याउन सफल भयो ।
तर त्यो जनमतलाई माओवादीले सदुपयोग गर्न सकेन । देश राजनीतिक अस्थिरतामा फस्यो र दोहोर्याएर संविधानसभा चुनाव गर्नुपर्ने अवस्था भयो । ०७० सालको संविधानसभा निर्वाचनसम्म आइपुग्दा शहरी क्षेत्रमा इन्टरनेटको प्रयोग बढ्दो थियो । मानिसहरूले मत फेरे ।

०७४ सालको चुनावको पूर्वसन्ध्यामा आकस्मिक रूपमा वामपन्थी गठबन्धन भयो । त्यो वामपन्थी गठबन्धनलाई पनि मतदानाले अनुमोदन गरे । दुइतिहाइ नजिकको बहुमत दिए । त्यो अवसरलाई कम्युनिस्टहरूले सदुपयोग गर्न सकेनन् । नयाँ संविधानपछि भएको पहिलो आम निर्वाचनबाट बनेको संसद्ले २ पटक विघटनको चोट बेहोर्नुपर्यो । त्यहीँबाट राजनीतिक अस्थिरता शुरू भयो ।
०७९ सालमा भएको चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्यो, तर चुनाव लगत्तै गैरसंसदीय अभ्यास भयो । तेस्रो दलले सरकारको नेतृत्व दाबी गरेर अस्थिरताको नयाँ च्याप्टर शुरू भयो । कहिले कसको कहिले कसको बुइ चढेर प्रचण्डले सरकार चलाए ।
प्रचण्डलाई तह लगाउन भन्दै शेरबहादुर देउवा र केपी ओलीले अर्को खतरनाक कार्ड खेले, जसले देशलाई अकल्पनीय दुर्घटनामा धकेल्यो । संसद्का पहिलो र दोस्रो दलले स्वेच्छाचारी ढंगले सरकार चलाउँदाको परिणाम भदौ २३–२४ मा देशले चुकायो ।
त्यही आन्दोलनपछि देश मध्यावधि चुनावमा होमियो, जुन चुनावले नेपाली राजनीतिको नयाँ पानीढलो बनाउँदैछ । भदौ २४ को घटनालाई हेर्ने दुई दृष्टिकोण भएका पार्टीहरूबीच चुनावमा प्रतिस्पर्धा हुँदैछ ।
जे होस् बिहीबारको चुनावले एकप्रकारको हुरीबतास नै ल्याउने छनक देखिएको छ ।