
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह झापा ५ बाट विजयी हुने ‘लोकान्तर सर्वेक्षण’ले देखाएको छ ।
लोकान्तर डट्कमले झापा ५ का विभिन्न क्षेत्रमा गरेको सर्वेक्षणले रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका बालेन फराकिलो मतान्तरसहित निर्वाचित हुने देखाएको हो । पछिल्ला ३ निर्वाचनमा ओली लगातार विजयी भएका थिए ।
झापा ५ अन्तर्गतका दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका १६ सय ४६ मतदातासँग गरिएको सर्वेक्षणमा बालेन निर्वाचित हुने देखिएको हो ।
लोकान्तर डट्कमले माघ २४, २५ र २६ तथा फागुन १४, १५ र १६ गते झापा ५ का विभिन्न ठाउँका मतदातासँग कुराकानी तथा सर्वेक्षण गरेको थियो ।
पहिलोपटक बालेनलाई मतदान गर्ने बताएका मतदाताले मन फेरे कि पुरानै अडानमा कायमै छन् भनेर ‘लंगिच्युड रिसर्च’ गरिएको थियो ।
लोकान्तरले त्यही ठाउँमा गएर दोहोर्याएर कुरा गर्दा पनि मतदाताले मत परिवर्तन नगर्ने बताए । तीमध्येकी हुन्, गौरीगञ्ज गाउँपालिकाकी राधा महतो ।
‘हामीलाई कुनै कुराले पनि प्रभावित गर्ने छैन । बालेनलाई प्रधानमन्त्री बनाउन यसपटकको भोट घण्टी छापमा’ महतोले दोस्रोपटक लोकान्तरसँग कुरा गर्दै भनिन् ।
लोकान्तरको सर्वेक्षणले बालेन ५३ दशमलव ४९ प्रतिशत मतसहित विजयी हुने देखाएको छ । ओलीले २१ दशमलव ६७ प्रतिशत मत पाउने देखिएको छ ।
नेपाली कांग्रेसकी मन्दरा चिमोरिया, नेकपाका रञ्जित तामाङ र श्रम संस्कृति पार्टीका समीर तामाङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने लोकान्तरको सर्वेक्षणले देखाएको छ ।
कांग्रेसकी मन्दराले ८ दशमलव ३२, श्रम संस्कृति पार्टीका समीरले ७ दशमलव १९ र नेकपाका रञ्जितले ६ दशमलव ३४ प्रतिशत र अन्यले २.९९ प्रतिशत मत ल्याउने लोकान्तरको सर्वेक्षणले देखाएको छ । झापा ५ मा बालेन, ओलीसहित २४ जना उम्मेदवार छन् ।

१९ वर्षदेखि ८६ वर्षका मतदातामा गरिएको थियो सर्वेक्षण
लोकान्तरको सर्वेक्षणमा १९ वर्षका युवादेखि ८६ वर्षका वृद्धसमेत सहभागी भएका थिए । सर्वेक्षणमा सहभागीमध्ये अधिकांश ३० देखि ५५ वर्ष उमेरका मतदाता थिए ।
सर्वेक्षणमा सहभागी अधिकांश महिला मतदाताले रास्वपालाई भोट दिने बताए । झापा ५ मा नेपाली कांग्रेसकी महिला उम्मेदवार मन्दरा चिमोरिया उम्मेदवार छिन् । तर, उनलाई भोट दिन्छौं भन्ने पुरुष मतदाता छन् ।
एमाले अध्यक्ष ओलीलाई पटक–पटक मत दिएको र यसपटक नयाँलाई भोट दिन चाहेको मतदाताले बताएका थिए । ‘जेनजी आन्दोलन’ दबाएको, पटक–पटक अवसर पाए पनि देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेकाले यसपटक भोट नदिने उनीहरूले बताए ।
हेर्नुहोस् यो पनि:
विशेष रिपोर्ट : नयाँका पक्षमा झन् खुल्दै मतदाता, थप अप्ठ्यारोमा ओली [१२९ को भिडियो]
विशेष रिपोर्ट : सात सय मतदातासँग कुरा गरेपछि झापा-५ मा जे देखियो...
सर्वेक्षणमा सहभागीमध्ये ८९ प्रतिशत नयाँ मतदाता (पहिलोपटक मतदान गर्न लागेका)ले यसपटक नयाँ पार्टीलाई मत दिने बताए । तीमध्ये ९३ प्रतिशतले रास्वपा र बाँकी ७ प्रतिशतले श्रम संस्कृति पार्टीलाई भोट दिने बताए ।
गौरादह नगरपालिकाका ८६ वर्षका लक्ष्मीप्रसाद बरालले यसपटक मत परिवर्तन गर्न लागेको बताए । ‘केपी ओलीलाई हामीले यहाँबाट ५ खेप जिताएर पठाएकै हो, यसपटक नयाँलाई दिने हो । नाति पुस्ताका युवा नेता बालेन प्रधानमन्त्री बनेको देख्न मन छ,’ बरालले भने ।
झापा ५ मा १ लाख ६३ हजार ३ सय ७७ मतदाता छन् । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट ६४ प्रतिशत मत खसेको थियो ।
रोचक कुरा त एउटै परिवारको भोट दुईतिर बाँडिएको पनि देखियो । रूख या सूर्यलाई भोट दिने बताएका अभिभावकका छोराछोरीले नयाँलाई रोज्ने बताए ।

बालेनलाई प्रधानमन्त्री देख्न चाहने ५४ प्रतिशत, त्यसपछि गगन
सर्वेक्षणमा सहभागीमध्ये ५४ प्रतिशतले अबको प्रधानमन्त्री बालेन हुनुपर्ने बताए । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रधानमन्त्री भएको देख्न चाहनेको संख्या २३ प्रतिशत पाइयो छ । १७ प्रतिशतले केपी शर्मा ओली र ६ प्रतिशतले अन्यलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताए ।
कांग्रेसबाहेक अन्य दललाई मत दिन लागेका कतिपयले पनि प्रधानमन्त्रीका रूपमा गगनको नाम लिए । रास्वपालाई मत दिन्छु भन्ने अधिकांशको रोजाइमा भने बालेन नै रहेको पाइयो ।
सूर्यलाई भोट हाल्छौं भनेका कतिपय मतदाताले समेत फेरि ओली प्रधानमन्त्री बन्न नहुने धारणा राखे ।

सर्वेक्षणमा सहभागीलाई देशको प्रधानमन्त्री कसलाई देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा ८ अप्सन छान्न दिइएको थियो ।
काठमाडौं महानगरको मेयरको रूपमा गरेको कामबाट प्रभावित भएर बालेनलाई भोट दिने निष्कर्षमा पुगेको बताएका थिए । बालेन निर्वाचित भए झापालाई समेत काठमाडौं जस्तै चम्काउँछन् भन्ने मतदाताको बुझाइ थियो ।
बालेनले काठमाडौंलाई चम्काएको बताएका कतिपय मतदाताले अहिलेसम्म काठमाडौं नपुगेको बताए । बालेनले काठमाडौंमा छात्रवृत्ति दिएको, अस्पतालमा गरिब निमुखाका लागि शय्या छुट्याउन बाध्य बनाएको जस्ता कुराले आफूहरूलाई आकर्षण गरेको उनीहरूले बताए ।
सर्वेक्षणमा सहभागीलाई उम्मेदवारसँगको प्रमुख अपेक्षा के हो ? भनेर सोधिएको थियो । विकास, सुशासन, भ्रष्टाचार अन्त्य, रोजगारी, नीति निर्माण र अन्य भन्ने अप्सनमा टिक लगाउन दिइएको थियो । अधिकांश मतदाताले सुशासन हुनुपर्ने बताए ।
उम्मेदवारी मनोनयनदेखि मौन अवधि अघिसम्म बालेनले गरेको ‘रोड शो’ले पनि उनीप्रति आकर्षण बढाएको मतदाताले बताए । आफैँ गाडी हाँकेर मतदातासँग हात मिलाउँदै हिँड्ने र सेल्फी खिच्ने शैलीका कारण पनि युवाहरूले बालेनलाई मत दिने बताए ।
फोटो डिजाइन गर्दा 'प्रि-इलेक्सन पोल' हुनुपर्नेमा अन्यथा भएकाले सच्च्याइएको छ । (सम्पादक)