०९ साउन २०८३, शनिबार
रुपन्देही-२ को अन्तिम नतिजा

एमाले उपाध्यक्ष पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका खरेल विजयी

फागुन २३, २०८२
बुटवल
एमाले उपाध्यक्ष पौडेललाई ४३ हजार मतले पछि पार्दै रास्वपाका खरेल विजयी

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । 

खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

२०६४ को पहिलो संविधानसभा चुनावसहित त्यस यताका सबै निर्वाचनमा सहज जीत निकाल्दै आएका पौडेलले यो पटक फराकिलो मतान्तरले पराजय बेहोरेका छन् । 

निर्वाचनको टिकट वितरणका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुरूमा पौडेललाई पाल्पा क्षेत्र नम्बर २ को टिकट दिएका थिए । तर, रुपन्देही २ का नेता कार्यकर्ताले दबाब दिएर उनलाई फिर्ता गराएका थिए ।

पौडेलले २०६४ मा तत्कालीन माओवादीका भक्तिप्रसाद पाण्डेलाई करिब दुई हजार मतान्तरले पराजित गरेका थिए । यस्तै, २०७० सालको दोस्रो संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

२०७४ सालको चुनावमा पौडेलले नेपाली कांग्रेसका युवराज गिरीलाई २२ हजारको फराकिलो मतान्तरले जितेका थिए । २०७९ सालको चुनावमा भने रास्वपाका गणेश पौडेललाई १ हजार ६३६ मतको झिनो अन्तरले मात्र पराजित गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्