२६ असार २०८३, शुक्रबार

चुनावी नतिजापछि योगेश भट्टराईको आत्मसमीक्षा- जनताले हाम्रो नीति र नेतृत्व अस्वीकृत गरे

फागुन २५, २०८२
काठमाडौं
चुनावी नतिजापछि योगेश भट्टराईको आत्मसमीक्षा- जनताले हाम्रो नीति र नेतृत्व अस्वीकृत गरे

नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन परिणामपछि पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्तालाई खुला बहस र रूपान्तरणको बाटोमा लाग्न आह्वान गरेका हुन्।

भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमा कुरा गरेको र त्यत्तिकै संख्यामा सन्देशहरू पढेको उल्लेख गरेका छन् । ती संवादहरूमा पार्टीका कार्यकर्ता र शुभेच्छुकबाट सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना र उपायका विविध धारणा आएको उनले बताएका छन्। धेरैले आफूले बोल्न र पहल लिनुपर्ने दबाब तथा प्रेरणा दिएको पनि उनले उल्लेख गरेका छन्।

उनले हालको निर्वाचन परिणामलाई जनताले पार्टीको नीति र नेतृत्वप्रति दिएको शान्तिपूर्ण अस्वीकृति भएको स्वीकार गरेका छन्। यस्तो अवस्थाबाट बाहिरिन पार्टीभित्र सर्वांगीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जन गर्नुपर्ने उनको धारणा छ।

भदौ २३ र २४ पछि पार्टीले लिएका कतिपय नीतिहरू सही नभएको भन्दै आफूहरूले बैठक, भेटघाट र महाधिवेशनमार्फत नेतृत्वलाई पटक–पटक सुधार गर्न आग्रह गरेको स्मरण गरेका छन्। तर त्यसमा सफलता नपाएको उनको भनाइ छ। अब भने पार्टीभित्र पुनः खुला छलफल र बहस आवश्यक भएको उनले बताए । 

उनले जिम्मेवारी र जवाफदेहिताको प्रश्न पनि उठाएका छन्। पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र नभई जिम्मेवारीमा रहेका विभिन्न तहका कमिटी र नेताहरू पनि जिम्मेवार रहेको उनले बताएका छन्। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय कमिटी र केन्द्रीय सचिवालयले सफलता वा असफलताको भार बोक्नुपर्ने उनको धारणा छ।

भट्टराईले पार्टीले सामना गरेको असफलतालाई सामूहिक असफलता भन्दै सामूहिक बुद्धि र पहलबाट मात्र यस अवस्थालाई बदल्न सकिने बताएका छन्। उनले सबै नेता र कार्यकर्तालाई विगतका गुटगत घेराबाट बाहिर निस्केर खुला बहसमा सहभागी हुन आह्वान गरेका छन्।

उनले पार्टी, जनसंगठन तथा प्रवासका तहगत कमिटी र सदस्यहरूलाई आफ्ना सुझावहरू पार्टी नेतृत्वसमक्ष पठाउन आग्रह गरेका छन्। 'कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत् हामी उठने छौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ,' उनले भनेका छन्, 'संयम र धैर्यताकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभर्त्सना होइन आत्मसमीक्षाको बाटोमा हिँड्नन म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।' 

salt training

कमेन्ट गर्नुहोस्