२८ जेठ २०८३, बिहीबार

बाह्य व्यक्ति ल्याएर मुख्यालयमा तालाबन्दी गरिएको एन्फा नेतृत्वको आरोप

फागुन २५, २०८२
काठमाडौं
बाह्य व्यक्ति ल्याएर मुख्यालयमा तालाबन्दी गरिएको एन्फा नेतृत्वको आरोप
फाइल फोटो

अखिल नेपाल फूटबल संघ (एन्फा)ले आफ्नो मुख्यालयमा नेपाल फूटबल खेलाडी संघद्वारा लगाइएको ताला तत्काल खोल्न सम्बन्धित पक्षसँग आव्हान गरेको छ । खेलाडी संघले तीन बुँदे मागसहित आइतबारदेखि एन्फा मुख्यालयमा तालाबन्दी गरेको छ ।

एन्फाद्वारा सोमबार जारी विज्ञप्तिमा सातदोबाटोस्थित मुख्यालयमा लगाइएको ताला तत्काल नखोलिए त्यसबाट नेपाली फूटबल गतिविधिमा पर्न जाने प्रतिकूल असरको जिम्मा खेलाडी संघले नै लिनुपर्ने चेतावनी पनि दिएको छ ।

एन्फाले तालाबन्दी गर्ने कार्यमा खेलाडी संघका पदाधिकारी र खेलाडीमात्र नभई बाह्य व्यक्तिहरूको समेत संलग्नता रहेको आरोप पनि लगाएको छ । प्रेस विज्ञप्तिमा एन्फा सार्वजनिक संस्था भएकाले संघको भौतिक संरचनाको सुरक्षाका लागि सरकार र सुरक्षा निकायसँग आग्रह पनि गरिएको छ ।

‘एन्फासँग आबद्ध खेलाडी संघको आव्हानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगमा सहभागी खेलाडी र केही बाह्य व्यक्ति सहभागी गराइ गरिएको तालाबन्दी संघको सदस्य संस्थाको मर्यादा विपरीत छ । अनुशासनहिन र अराजक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आव्हान गर्दछौं,’ एन्फाले भनेको छ ।

खेलाडी संघले भने एन्फाले आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाएको छ । तालाबन्दी गर्न आइतबार एन्फा मुख्यालय पुगेका संघका पदाधिकारीले एन्फा नेतृत्वविरुद्ध प्रदर्शन पनि गरेका थिए ।

संघले आफ्ना माग पूरा नभएसम्म एन्फा मुख्यालयमा लगाइएको ताला नखोलिने जनाएको छ । खेलाडी संघले माग पूरा नभएसम्म ताला नखोल्न एन्फालाई चेतावनी पनि दिएको छ ।

यसअघि प्रतिबद्धता जनाए अनुसार निर्धारित समयमै शीर्ष डिभिजनको शहीद स्मारक लिगको मिति सार्वजनिक गर्नुपर्ने माग खेलाडी संघले गरेको छ ।

यसैगरी, खेलाडी अक्षय कोषको विस्तृत विवरण पेस गर्नुपर्ने माग पनि खेलाडी संघले राखेको छ । संघले खेलाडीको तलब–भत्ता र पुरस्कार रकम तत्काल उपलब्ध गर्नुपर्ने मागसमेत राखेको छ ।

एन्फाले भने खेलाडी संघले राखेका मागहरू विरोधाभाषपूर्ण रहेको दाबी गरेको छ । एन्फाले यसअघि भएको सहमतिअनुसार जारी राष्ट्रिय लिग सम्पन्न भएको महिनापछि ‘ए’ डिभिजन शुरू गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

यसैगरी, एन्फाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फूटबल प्रतियोगिताको फाइनल खेलको टिकट बिक्रीबाट संकलन भएको रकम मध्येबाट केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णय भइसकेको र त्यसपछि संघ प्रतिबद्ध रहेको पनि जनाएको छ ।

‘वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रुपमा भुक्तानी गरिसकिएको छ । अघिल्लो कार्यसमितिले निर्णय गरी बाँकी रहेको पुरस्कार रकमको सन्दर्भमा आन्तरिक स्रोतबाट भुक्तानी गर्नुपर्ने हुँदा क्रमिक रुपमा भुक्तानी गर्दै जान संघ प्रतिबद्ध छ,’ एन्फाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्