२२ जेठ २०८३, शुक्रबार
चुनावी पराजयबारे सीके राउत

बालेनसँग सहकार्य गरेको भए मलाई मधेशमा जयचन्द र मीर जाफर भन्थे: सीके राउत [अन्तर्वार्ता ]

बालेनको मायामा सबै लठ्ठ भए, तर्क-वितर्कको गुञ्जायस रहेन
फागुन २५, २०८२
काठमाडौं
बालेनसँग सहकार्य गरेको भए मलाई मधेशमा जयचन्द र मीर जाफर भन्थे: सीके राउत [अन्तर्वार्ता ]

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेशकेन्द्रित दलहरूले एक सीट पनि जित्न सकेनन् । मधेशकेन्द्रित दलहरूको आधार क्षेत्र मानिने मधेश प्रदेशमै तिनको पत्तासाफ भयो ।

मधेशमै वैकल्पिक शक्तिको रूपमा तीन वर्षअघि उदाएको जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतपनि यसपटक आफ्नै क्षेत्रमा पराजित भए । २०७९ सालको संसदीय निर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फराकिलो मतान्तरले सप्तरी- २ मा पराजित गरेका राउत यसपटक तेस्रो स्थानमा सीमित हुन पुगेका छन् ।

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव २८ हजार ४०४ मत ल्याएर निर्वाचित भएका छन् । जसपा नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत ल्याएका छन् भने सीके राउतले ९ हजार ८८० मत ल्याएका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले सीके राउतलाई समेत बोलाएर सहकार्य गर्न प्रस्ताव पेश गरेका थिए,तर उनले उक्त प्रस्ताव अस्वीकार गर्दै सहकार्य नगर्ने भनी चुनाव लडेका थिए ।

रास्वपाको सुनामीका कारण मधेशवादी दलको पत्तासाफ भएपछि अब मधेशवादी दलहरू कसरी अघि बढ्लान् भन्ने विषयमा लोकान्तरकर्मी अजयअनुरागीले राउतसँग कुराकानी गरेका छन् । प्रस्तुत छ,राउतसँग गरिएको कुराकानीको सम्पादित अंश :

योपटक जनमतसहित मधेशवादी दलहरूको पत्तासाफ नै भयो । जनमत पार्टीको अध्यक्ष रहेर पनि तपाईं आफैं पराजित हुनुभयो, कहाँ चुक्नुभयो ?

यसमा अहिलेचाहिँ कुनै एउटा पार्टी विशेषकै कमी–कमजोरी नभएर, यो लहरको कारणले भएको हो। लहर पनि मधेशको फेभरमा (पक्षमा) भएको हुनाले नै अब यसले मधेशी पार्टीहरूलाई पनि अलिकति प्रभाव पारेकै हो।

मधेशको फेभर भनेर बालेन प्रधानमन्त्री बन्ने कुरा गर्नुभएको हो ?

एकदम, एकदम। त्यो भनेको एकदम ऐतिहासिक नै हो । अहिलेसम्म नभएको कुरा थियो । र, बालेनको छवि पनि अब सामाजिक सञ्जालबाट होस् कि कुनै माध्यमबाट, राम्रो बनाइएको थियो । र, बालेन प्रधानमन्त्री बन्ने भएपछि मधेशी जनताहरू निकै नै हर्षित भए । 'यही मौका हो' भनेर मज्जाले समर्थन गरे । त्यस पछाडि बालेनले पनि अब संघीयतालाई खारेज हैन, बलियो बनाउने भनेर जनकपुरबाट प्रतिबद्धता जनाउनुभयो । त्यसले पनि जनताको मन जित्ने काम गर्‍यो ।

बालेन रास्वपामा जानुअघि तपाईंले भेट्नुभएको थियो, अहिले किन सहकार्य गरिएन छ जस्तो लागेको छैन ?

अब यस्तो छ, यसमा पक्कै पनि त्यहाँ सहकार्य गरेर गएको भए अहिले पूरै मधेशकै क्रेडिट हामीलाई आउँथ्यो होला, हैन ? र, धेरै सिटमा हामी जित्थ्यौं होला । तर, मलाई त्यसको बिल्कुलै पछुतो छैन । हामीचाहिँ एजेन्डा र सिद्धान्तको राजनीति गर्छौं, सिटको राजनीति गर्दैनौं, एउटा कुरा ।

अर्को कुरा बालेन आफ्नै बलमा मधेशमा छिरे, हैन ? तर, यदि कथमकदाचित मैले मिलेर यस्तो भएको भए, मान्छेले मलाई के भन्थ्यो ? 'जयचन्द' भन्थ्यो । 'मीर जाफर' भन्थ्यो, हैन ? त्यो भएको हुनाले त्यो कलंक म बोक्न चाहन्नँ । (मीर जाफर र चयचन्दलाई मधेशमा गद्धारको रूपमा चिन्ने गरिन्छ ।)

भविष्यमा केही भयो भने त्यसका लागि ठूलो जिम्मेवारी मैले बहन गर्नुपर्थ्यो । त्यही भएर यसमा मलाई कुनै पनि पछुतो छैन । भलै, यसले चाहिँ ५० वटा सिट मैले मधेशमा ल्याउन सक्थें मिलेर । त्यो नल्याउँदा पनि, जिरो सिटमा झर्दा पनि त्यसको मलाई कुनै पछुतो छैन ।

यदि बालेनसँग सहकार्य गरेर जानुभएको भए  के कुराको आधारमा तपाईंलाई'जयचन्द' 'मीर जाफर'को आरोप लाग्थ्यो? एजेन्डा छाड्नुपर्थ्यो र?

त्यतिबेला उहाँको एजेन्डा क्लियर थिएन र अहिले पनि के हुन्छ ठेगान छैन  । जनताले विश्वास त गरे । तर, त्यो विश्वासमा खरो नै उत्रिन्छ त्यो पार्टी भन्ने छैन । किनभने अहिले पनि घोषणापत्रमा संघीयतालाई पुनर्संरचना गर्ने जस्तो केही कुराहरू लेखिएको छ । अस्पष्ट भाषामा लेखिएको छ । एउटा कुरा त्यो भयो ।

अर्को कुरा, मानौं अहिले ल हामीले रास्वपासँग मिलेर निर्वाचन लडेको भए र निर्वाचनमा यसरी स्विप गरेको भए त्यसको जिम्मेवार कसलाई ठहराउँथ्यो ? सिके राउतलाई ठहराउँथ्यो मान्छेले । सिके राउतकै कारणले गर्दाखेरि पहिलासम्म छिर्न नसकेको रास्वपा अहिले मधेशमा छिर्न सक्यो । अनि त्यो त कस्तो भयो भन्दाखेरि ठ्याक्कै त्यही भाष्य निर्माण गर्ने काम त भइहाल्थ्यो नि !

क्षेत्रीय शक्ति निकै कमजोर बनेको देखियो छिमेकमा हेर्ने हो भने बीजेपी र नरेन्द्र मोदीको उदयपछि क्षेत्रीय पार्टी झन् कमजोर बन्दै गएको स्थिति छ । अबपार्टी संगठनलाई कसरी चलायमान बनाउनुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । बीजेपीसँग रास्वपाको तुलना हुन सक्दैन । बीजेपी भनेको ७०-८० वर्षदेखि  ग्रासरुटसम्म बनाएको संगठन हो । उसले त्यहीअनुसार जनतालाई सर्भिस प्रोभाइड गर्छ । अहिले रास्वपाले ल्याएको मत बालेन लहरको मत हो । गाउँसम्म संगठन छैन । अस्ति नै हामी कुनै पनि बुथमा जाँदा उसको बुथ एजेन्टसम्म पनि थिएन । मान्छे नै थिएन । कतै पनि तपाईंले देख्नुभएको होला, बाहिर मान्छे थिएन, अरू पार्टीका मान्छेहरू हुन्थे, त्यसको मान्छे पनि थिएन ।

भनेपछि उसले गाउँसम्म सेवा प्रदान गर्न सक्ने हैसियत, सांगठनिक  संरचना अहिले बनिसकेको छैन । यो अवस्थामा कस्तो हुन्छ भन्दाखेरि जनताको अपेक्षा निश्चित रूपमा, खासगरी मधेशी जनताको अपेक्षा पूरा गर्नै नसक्ने हुन्छ ।

र, यो जुन अहिले लहरको मत आयो, यो दुई-चार वर्षपछि खिइएर जान्छ ।  म दाबीका साथ भन्छु, तीन-चार वर्षपछि चुनाव रास्वपाले लड्यो भने जस्तो हालत अहिले हाम्रो भएको छ, त्यस्तै हालत रास्वपाको हुन्छ । त्योचाहिँ हामी दाबी गर्न सक्छौं ।

त्यही भएर मधेशी जनताको अपेक्षा धेरै ठूलो छ । घर अगाडिको फोहोर पनि सफा भएन, नाला पनि सफा भएन भने त्यसको लागि पनि जिम्मेवार सांसदलाई नै ठान्ने प्रवृत्ति छ त्यहाँ । हरेक कुरा पूरा गर्दिनुपर्ने प्रवृत्ति छ ।

भनेपछि वडाले गर्नुपर्ने कामका लागि पनि सांसदलाई नै जिम्मेवार मान्नुपर्ने प्रवृत्ति छ?
एकदम, एकदम । हरेक कुरा  । जस्तै मैले नै आजसम्म सयौं  योजना ल्याइदिएँ । अभूतपूर्व विकास गरें । तैपनि यस्तो भोगेँ, भोग्नुपर्‍यो । मैले मात्रै होइन, अर्को ठाउँमा रेणु दाहाल जति विकास कसले गरेको थियो ? त्यही पनि उहाँले त्यो नियति भोग्नुपर्‍यो । भनेपछि जनताको अपेक्षा त्यस्तो हुन्छ । त्यो भएको हुनाले अहिले जुन लहर देखियो, ठीक छ यसमा एउटा पार्टीले झन्डै-झन्डै दुईतिहाइ बहुमत ल्याएको छ । त्यसका लागि हामी खुसी नै छौं, कमसेकम अब बहानाचाहिँ बनाउन पाइँदैन । केही कामहरू गर्न सकियोस् । जे गर्न चाहन्छन्, त्यो गर्न सकोस् भनेर त्यसका लागि हामी खुशी नै छौं । तर, हामी के ढुक्क छौं भने यो दुई-तीन वर्षपछाडि चाहिँ जनता फेरि आजित हुन्छन् र हामीतिरै फर्किन्छन् ।

२०७९ सालको निर्वाचनमा मधेशका जनताले तपाईंलाई वैकल्पिक शक्ति मानेर जिताएर पठाएका थिए । यसपटक चुनाव प्रचारका क्रममा बालेनलाई तपाईंले सबैभन्दा बढी अट्याक गर्नुभएको थियो । बालेनले तपाईंहरूलाई अफ्ट्यारो पार्दैछ भन्ने अनुमान लगाइसक्नुभएको थियो र ?

हामी राजनीतिकर्मी भएको हुनाले त्यसो गर्नैपर्छ । भनौं न मधेशको अभिभावक भएको हुनाले पनि मधेशमाथि कतैबाट हमला हुँदा हामीले बोल्नै पर्ने हुन्छ । 'को खुसी होला, को नाराज होला' भनेर हामीले सोच्ने होइन । त्यो हाम्रो जिम्मेवारी हो । मधेशमाथि कुनै कतैबाट खतरा छ भने त्यो चाहिँ बोलेर जनतालाई सुसूचित गर्नु कमसेकम त्यो हाम्रो जिम्मेवारी हो । त्यही भएर बालेनचाहिँ यो संसदीय राजनीतिमा, पार्टीमा प्रवेश गर्नुभन्दा अगाडि पनि, तपाईंले मेरो स्पिच हेर्न सक्नुहुन्छ, जतिबेला कवाडीहरूलाई हटाउँदै थिए, त्यतिबेला पनि खुलस्त यहाँ काठमाडौंको सभाबाट बालेनको विरोध गरेको हुँ ।

त्यतिबेला उहाँ मेरो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा आउनुभएकै  थिएन । त्यहीबेला पनि मैले विरोध गरेकै हो । किन भन्दाखेरि मधेशी समुदायमाथि हमला भइराखेको थियो । मधेशी समुदायहरूलाई कुटपिट गर्दै यहाँबाट भगाइराखिएको थियो । अनि त्यो मेरो जिम्मेवारी थियो कि मधेशी समुदायको लागि म बोलौँ । र, अहिले पनि त्यही भएको हो । हामीले  के देख्यौँ भने यहाँ मधेशी समुदायसँग धोकाधडी हुँदैछ । त्यो थाहा भएपछि त्यसलाई जनतालाई सुसूचित गर्नsf लागि हामीले बोलेका हौँ । त्यो हाम्रो जिम्मेवारी हो ।

तपाईंहरूको आफ्नो पनि कमी कमजोरी थियो भन्ने लागिराखेको छैन ?
मलाई चाहिँ लाग्दैन । जति एउटा सांसदले गर्नुपर्ने हो १६५ वटा निर्वाचन क्षेत्रमा, त्यो पनि कार्यकाल पूरा नगर्दै साढे दुई वर्षमा नै गर्‍यौं । जुन तरिकाले सेवा दियौं, जुन तरिकाले जनतासँग सम्पर्कमा बस्यौं, त्यो तरिकाले मलाई लाग्दैन अन्यत्र दुई चार क्षेत्रभन्दा बाहिर कतै पनि देखिएको होला । साढे दुई वर्ष यिनीहरूलाई पनि चलाउन दिनुस् । र त्यसपछि हामी तुलना गर्नेछौं कि यिनीहरूले चाहिँ कुन क्षेत्रमा कति विकास गर्छन् ? कुन क्षेत्रको जनतासँग कति सम्पर्कमा बस्छन् ? कुन क्षेत्रको जनताको कति समस्यालाई समाधान गर्छन् ? त्यो हामी पनि हेर्नेछौं । त्यही भएर साढे दुई वर्षपछि फेरि यिनीहरूलाई चुनाव लड्न भन्नुस् न, त्यसपछि हामी हेर्नेछौं । अहिले त अब के हुन्छ भन्दाखेरि मायामा सबै कुरा फिक्का हुन्छ । अहिले त्यति मात्रै भएको हो ।

कम्तीमा उपेन्द्र यादव र तपाईंले त सुनामीलाई रोक्न सक्नुहुन्छ भन्ने धेरैलाई लागेको थियो नि?

यो लहर भन्ने कुरा कस्तो हुन्छ भन्दाखेरि त्यसमा मान्छे लठ्ठ भएपछि उसको केही कमी कमजोरी, केही पनि तर्क, केही पनि विकास, केही कुराले काम गर्दैन हेर्नुस् । यहाँ एकसे एक संघर्ष गरेका नेताहरू छन् । एकसे एक  योग्यता भएका नेताहरू छन् । एकसे एक  दुःख–कष्ट झेलेका नेताहरू छन् । तर, कसैको केही कुरा लागेन त्यहाँ । एउटा कुरा बुझ्नुपर्छ, लहर भनेकै त्यही हो । त्यो भएको हुनाले हामीले यसमा सकेनौं । हामी स्वीकार्छौं, सकेनौं । तर हामी दुःखी चाहिँ छैनौं फेरि ।

तपाईं पनि यस्तै लहरबाट उदाउनुभएको हो । विदेशमा रहेका मधेशीहरूको तपाईंप्रति सद्भाव थियो । अहिले त्यो नभएर पनि अप्ठ्यारो परेको हो ?

अब के भयो भन्दा नयाँप्रति आशा जाग्यो । नयाँप्रति माया जाग्यो । अनि माया जागेपछि त्यहाँ केही तर्क, वितर्क, कसले कति समर्पण गर्‍यो, कसले कति बलिदानी दियो, कसले कति वर्ष जेल बस्यो, केही कुराले अर्थ राख्दैन ।

मधेशको संसदीय राजनीतिमा तपाईं पनि त नयाँ नै हो नि !

त्यही पनि बुझ्न सकेनन् जनताले । रास्वपा पनि त हामीभन्दा नयाँ पार्टी होइन नि । बालेनको मायामा फसेको हुनाले नयाँ–पुराना छुट्ट्याउन सकेनन् । केही कुरा लागेन । तर, हामी यसबाट विचलित भएका छैनौं । हामीलाई के ढुक्क छ भने यो दुई-तीन वर्षपछि फेरि योभन्दा कडारूपमा हामी उदाउने छौं । किनभने यसपछि त थाहा भयो नि, यो दुई तिहाइको सरकारले पनि मधेशीलाई प्रधानमन्त्री बनाइदिँदा पनि मधेशका जुन आधारभूत समस्याहरू छन्, त्यो समाधान हुने रहेनछ । भनेपछि बल्ल हाम्रो राजनीतिक सुरुवात हुनेछ ।​

तपाईंहरूले विभिन्न मधेशकेन्द्रित मुद्दा उठाउनुभएको थियो, त्यसले पनि किन काम गरेन ?

मुद्दाले काम किन गरेन भने त्यसको बाटो गलत थियो । संसदीय बाटोबाट हामीले दुई-चारवटा सिट जितेर त्यहाँ गर्न सक्दैनथ्यौं । र, गर्न सकेनौं पनि ।  अहिले जनताले झन्डै दुईतिहाइ दिएको छ, त्यसले या त गरेर देखाओस्, या त मधेशले आफ्नो बाटो तय गरोस्  ।

उपेन्द्रजी र तपाईं  मिलेर आएको भए पनि यही अवस्था हुन्थ्यो होला हैन?
यही अवस्था हुन्थ्यो । त्यसमा धेरै पछुताउनुपर्ने आवश्यकता नै छैन । यही अवस्था हुन्थ्यो ।

अब के हुन्छ? तपाईंहरूको एकीकरणको सम्भावना छ,या फेरि'वेट एन्ड सी' नै हुन्छ ?
हैन, हामी चाहिँ अहिले प्रतीक्षा गर्छौं । हामी आत्तिहाल्नु पर्ने अवस्था छैन । आत्तिएका छैनौं । हतारमा पनि छैनौं ।  दुई-तीन वर्ष सरकार चलाउन दिऊँ यिनीहरूलाई । के-के माग पूरा गर्छन् हेरौं । स्वायत्तता दिन्छन् कि दिँदैन  । प्रदेश प्रणाली दिन्छन् कि दिँदैनन् । १२ लाख रोजगारी भनेपछि त्यो दिन्छन् कि दिँदैनन् । त्यो पहिला हामी हेरौँ दुई-तीन वर्षमा । त्यसपछि बल्ल जनताले आफ्नो बाटो आफैं रोज्छन् ।

संघीयतालाई लिएर बालेनप्रति अझै आशंका छ तपाईंहरूको ?

हैन, अब त्यो त के हुन्छ भन्ने उसको पार्टीले निर्धारण गर्ने हो नि । अब जितेपछि बल्ल पो त्यसमा कति लागु गर्छ, कति लागु गर्दैन, के गर्छ भन्ने कुरा हेर्न पाइन्छ । अहिलेसम्म त कागज मात्रै गरेको हो ।

तपाईंहरू सडकमा जाने सम्भावना रहन्छ?

एकदम रहन्छ । तर, हामी अनावश्यक डिस्टर्ब पनि गर्ने पक्षमा छैनौं। पहिला चाहिँ दुई वर्ष उनीहरूलाई काम गर्न दिऊँ । त्यस पछाडिको मात्रै कुरा हो ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्