०८ साउन २०८३, शुक्रबार

मेस्सी उत्कृष्ट खेलाडी घोषित

साउन ६, २०८३
काठमाडौं
मेस्सी उत्कृष्ट खेलाडी घोषित

अन्तर्राष्ट्रिय खेल पत्रकार महासङ्घ (एआईपीएस)ले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीलाई फिफा विश्वकप २०२६ को उत्कृष्ट खेलाडी घोषित गरेको छ ।

विश्वभरका १२१ देशका ४७२ खेल पत्रकारको सहभागितामा गरेको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताए । जसमा मेस्सीले कुल एक हजार १७९ अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बाप्पे (७१७ अङ्क) र इङ्ल्यान्डका जुड बेलिङ्घम (४७० अङ्क) लाई पछि पारेका थिए ।

एआईपीएसले आयोजना गरेको मतदानमा एआईपीएस कार्डधारी खेल पत्रकारहरू तथा एआईपीएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकारहरू मतदाता रहेका थिए । उनीहरूले विश्वकपका उत्कृष्ट तीन खेलाडीलाई प्राथमिकताको आधारमा छनोट गरेका हुन् ।

मतदान प्रणालीअनुसार पहिलो स्थानका खेलाडीले पाँच अङ्क, दोस्रो स्थानले तीन अङ्क र तेस्रो स्थानले एक अङ्क प्राप्त गरेका थिए । जुलाई १३ मा सार्वजनिक गरिएको अन्तिम सूचीमा २० खेलाडी समावेश थिए । विश्वभरका खेल पत्रकारहरूको मतका आधारमा लियोनल मेस्सीलाई फिफा विश्वकप २०२६ को एआईपीएस उत्कृष्ट खेलाडी घोषित गरिएको हो ।

उनन्चालीस वर्षीय मेस्सी विश्वकपको इतिहासमा छ संस्करण खेल्ने तीन खेलाडीमध्ये एक बन्दै २०२६ को विश्वकपमा सहभागी भएका थिए । लगातार दोस्रो विश्वकप उपाधिबाट उनी एक जितले मात्र टाढा रहे पनि उनले आफ्नो उमेरलाई चुनौती दिने अद्भुत प्रदर्शनमार्फत विश्व फुटबललाई फेरि एकपटक मोहित बनाउन सफल भए ।

विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि मेस्सी निकै भावुक बनेका थिए । अर्जेन्टिनी समर्थकहरूले उनको नाम गुञ्जाइरहँदा उनी आँसुमा डुबेका थिए । उनले सोमबार इन्स्टाग्राममार्फत भनेका थिए, “यो पीडा असाध्यै ठूलो छ । यो घाउ निको हुन समय लाग्नेछ । तर हामीले अन्तिमसम्म दिएको सङ्घर्ष, असम्भवजस्ता खेललाई जितमा बदल्दै सिर्जना गरेका अविस्मरणीय क्षणहरूलाई म सधैं सम्झिरहनेछु ।”

सन् २०२६ को विश्वकपमा अर्जेन्टिनी टोलीका प्रशिक्षक लियोनेल स्कालोनीको टोलीका लागि मेस्सी वास्तविक धड्कन बने । विशेषगरी निर्णायक क्षणहरूमा उनले टोलीलाई नेतृत्व प्रदान गरे । आठ खेलमा आठ गोल र चार असिस्ट गर्दै उनले अर्जेन्टिनालाई फाइनलसम्म पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अर्जेन्टिनाले प्रतियोगिताभर कठिन अवस्थाबाट खेललाई आफ्नो पक्षमा पार्ने र अतिरिक्त समयमा सङ्घर्ष गरेर जित निकाल्ने कला प्रदर्शन गरेको थियो, जसको केन्द्रमा मेस्सी नै थिए ।

salt training

कमेन्ट गर्नुहोस्