०८ साउन २०८३, शुक्रबार
रास्वपालाई अवसरसँगै चुनौती

चौतर्फी दबाबमा रहेको अर्थतन्त्र कसरी चलायमान बनाउने ?, नयाँ सरकारलाई विज्ञका १० सुझाव

फागुन २६, २०८२
काठमाडौं
चौतर्फी दबाबमा रहेको अर्थतन्त्र कसरी चलायमान बनाउने ?, नयाँ सरकारलाई विज्ञका १० सुझाव

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव पार्‍यो । उक्त आन्दोलनबाट ८४ अर्ब ४५ करोडभन्दा बढीको भौतिक क्षति भएको अध्ययन समितिको रिपोर्टले देखाएको छ । 

त्यसमा पनि ३३ अर्ब बढीको मात्रै निजी क्षेत्रमा क्षति भएको थियो । आन्दोलनपछि निजी क्षेत्रको मनोबलमा ठूलो धक्का लागेको छ । जसले गर्दा देशमा नयाँ लगानी भित्र्याउन चुनौती बनेको छ ।

निजी क्षेत्रमा भएको आक्रमण र राजनीतिक अस्थिरताले जताततै बनाएको डरको माहोल अहिलेसम्म यथावत् रहेको व्यवसायीहरू बताउँछन् । जसले गर्दा आर्थिक गतिविधि सुस्त भइरहेको छ । आन्दोलनपछि बनेको अन्तरिम सरकारको जगमा आन्तरिक व्यापार व्यवसाय सामान्य अवस्थामा फर्किएको छ । तर, व्यापार व्यवसायमा सुधार र लगानीकर्तामा उत्साह भने देखिएको छैन ।

चुनावबाट करिब दुई तिहाइ नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अब सरकारको नेतृत्व गर्नेछ । यस्तो अवस्थामा अब बन्ने सरकारलाई अवसरसँगै चुनौती रहेको अर्थविद्हरू बताउँछन् ।

जेनजी आन्दोलनपछि देशमा आर्थिक गतिविधि चलायमान हुन नसकेको र अर्थतन्त्र सुस्ताएको अर्थशास्त्री डा.जितेन्द्र उपाध्याय बताउँछन् ।

‘निर्वाचनअघि सबैतिरको माहोल शान्त थियो । आर्थिक गतिविधिहरू पनि राम्रो भइरहेको थिएन । जेनजी आन्दोलनपछि आर्थिक गतिविधिहरू चलायमान हुन नसकेको अवस्था थियो र अझै पनि त्यो यथावत् छ । यद्यपि केही सुधार भइरहेको छ । निर्वाचनबाट केही आशा गर्न सकिन्छ । करिब करिब एउटा स्थिर सरकार बन्छ भन्ने देखिएको छ । जुन राम्रो पनि हो’, उनले भने । 

अब निर्वाचनपछि बन्ने सरकारको नीति र दृष्टिकोणले देशको अर्थतन्त्रले लिने गति निर्धारण गर्ने डा. उपाध्याय बताउँछन् । बहुमतसहित बन्न लागेको सरकारले अर्थतन्त्रका समस्या समाधान गर्न सक्ने क्षता राखेको उनको भनाइ छ ।

‘अर्थतन्त्र चलायमान र आर्थिक गतिविधि राम्रो हुनका लागि राजनीतिक स्थिरता हुनुपर्छ । तर, राजनीतिक परिपक्वता र अनुभव पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, जसले विश्वासको वातावरण बनाउनका लागि अहम् भूमिका निर्वाह गर्छ’, उनले भने, ‘अहिले बहुमतको नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग त्यसको कमी छ जस्तो लाग्छ । यद्यपि आँट, विश्वास र युवाहरूको जोस छ । अब नयाँ शक्तिले प्रत्येक क्षेत्रका विज्ञलाई समेटेर समस्या पहिचान गरी समाधान गर्नुपर्छ । यसका लागि हाम्रा वास्तविक धरातल बुझेका विज्ञदेखि सबैलाई समान रूपमा एकैसाथ लगेर जानुपर्ने चुनौती छ ।’

उनका अनुसार यसका साथै भूराजनीतिलाई पनि मिलाएर लैजानुपर्ने हुन्छ । एकातिर चीनसँगको सम्बन्ध, अर्कोतिर भारसँगको सम्बन्ध र पश्चिमसँगको सम्बन्ध र व्यापारको लागि कसरी हुन्छ कसैलाई असर नपर्ने गरी काम गर्नुपर्ने छ ।

‘आत्मनिर्भर अर्थतन्त्र बनाउनुका साथै वैदेशिक लगानी भित्र्याउने नीति पनि सुधार गर्नुपर्ने आवश्यक छ । यसका साथै अहिले भइरहेकै कामलाई सुधार गरेर लैजाँदा मात्रै धेरै कुरा आफैं ठीक भइहाल्छ’, उनले भने,  ‘विशेषगरी जलविद्युत, कृषि र पर्यटन क्षेत्रलाई केन्द्र बनाएर जाने हो भने हामी आत्मनिर्भर  हुन्छौं । स्पष्ट आर्थिक मार्गचित्रसहित अगाडि बढिरहेको नयाँ सरकारलाई नीति, नियम र कानून फेर्ने पूर्ण बहुमत छ । त्यसैले राम्रो काम गर्न सक्ने अवसर छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको बहुमतले स्थिर सरकार दिने देखिएको र त्यसले मनोबल बढाएको अर्थविद् अनलराज भट्टराई बताउँछन् । नयाँ बन्ने सरकारले स्थिर सरकारको आधार तयार गरी निजी क्षेत्रका लागि कन्फिडेन्सको माहोल बनाएको उनको भनाइ छ ।

अर्थविद् अनलराज भट्टराई र अर्थशास्त्री डा.जितेन्द्र उपाध्याय ।

स्रोत व्यवस्थापनको ठूलो चुनौती रहेको भट्टराईको भनाइ छ । घोषणा गरिएका योजनाको कार्यान्वयनमा लागि सबैभन्दा ठूलो र मुख्य स्रोत व्यवस्थापन रहेको अर्थविद् भट्टराई बताउँछन् ।

‘कुनै पनि योजनाका लागि हामीसँग सीमित स्रोत छ । त्यसैले बजेटमा नै प्राथमिकीकरण गरेर जानुपर्छ । सरकारले मात्रै गरेर हुँदैन । निजी क्षेत्रको लगानी र सार्वजनिक–निजी साझेदारीमा काम गर्नुपर्ने हुन्छ । यसका साथै दातृ निकायहरूबाट ऋण  अथवा अनुदान, गैर आवासीय नेपालीको लगानी लगायतका विषयहरू छन्’, उनले भने । 

अर्थविद् भट्टराईले अर्थतन्त्रको आर्थिक रूपान्तरणका लागि खाका नै तयार गरेका छन् । उनको आर्थिक रूपान्तरण खाका अनुसार ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर आगामी ५ वर्षमा हासिल गर्दै १० लाख उत्पादनशील क्षेत्रमा रोजगारी सृजना गर्न सकिन्छ । यसका साथै वैदेशिक रोजगारीमा निर्भरता घटाउने र संस्थागत सुदृढीकरण गर्नका लागि १० प्रमुख रणनीति छन् ।

उनका अनुसार पहिलो सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि एन्टीकरपसन अथ्योरिटी स्थापना गरी डिजिटल खरिद प्रणाली लागू गर्नुपर्ने छ ।

‘दोस्रो; युवा रोजगारी र मानव पुँजीका लागि स्टार्टअप कोष, प्राविधिक शिक्षा र पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा जोड दिइनुपर्छ । तेस्रो; वित्तीय क्षेत्र सुधार गर्न बैंकहरूको सुपरिवेक्षण बलियो बनाउने र पुँजी बजारको विकास गर्नुपर्छ’, उनले भने  ।

चौथोमा राजस्व सुधारका लागि करको दायरा बढाउने र सरकारी खर्चमा मितव्ययिता अपनाउनुपर्ने विषय छ । पाँचौं; पूर्वाधार र औद्योगिक रूपान्तरणबाट २५ हजार मेगावाट जलविद्युत उत्पादन, राष्ट्रिय राजमार्गको आधुनिकीकरण र विशेष आर्थिक क्षेत्रको विकास गर्नका गर्नुपर्ने भट्टराई बताउँछन् । 

‘छैटौं; निर्यात विविधीकरण र रेमिट्यान्सको सही अनुगमन गर्नुपर्छ । सातौं; निजी क्षेत्र विकासका लागि व्यवसाय दर्ता प्रक्रिया सरल बनाउने र लगानीकर्ताको आत्मविश्वास बढाउने हो । आठौं कृषि आधुनिकीकरण गर्दा जलवायु–अनुकूल खेती र सिँचाइ विस्तार गर्न आवश्यक छ’, भट्टराई भन्छन्, ‘नवौं; सामाजिक सुरक्षाका लागि लक्षित वर्गलाई नगद हस्तान्तरण र स्वास्थ्य बीमा विस्तारमा जोड दिनुपर्छ । दसौँ; वित्तीय पारदर्शिता कायम गर्नका लागि सम्पत्ति शुद्धीकरण एएमएल नियन्त्रण र अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने हो भने सिस्टम नै सुधारिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्