
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आम निर्वाचन-२०८२ को परिणाम एमालेका लागि सुखद नरहेको बताएका छन् ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले निर्वाचनको परिणाम सुखद नरहेकाले समग्र समीक्षा गर्ने बताएका हुन् । 'आम निर्वाचन -२०८२ को परिणाम हाम्रा लागि सुखद रहेन,' उनले लेखेका छन्, '१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य शुरू भइसकेको छ। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिनेछ।'
पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पनि उनले पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।
'पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडियामार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु,' उनले थप भनेका छन्, 'विगतका गम्भीर संकट र चुनौतीहरूलाई सामना गर्दै हाम्रो पार्टी यहाँसम्म आइपुगेको हो। अहिलेका चुनौतीहरूलाई पनि दृढतापूर्वक सामना गर्दै हामी पुनः थप मजबुत भएर अघि बढ्नेछौं । जनतासँगको सम्बन्ध र विश्वास पुनःस्थापित गर्नेतर्फ विशेष जोड दिऔं । आवश्यक सुधारको काम संस्थागत रुपमा अघि बढ्ने छ । एकताबद्ध भएर काम गर्यौं भने हामी अवश्य सफल हुनेछौं ।'