
अमेरिकी सेनाले इरानसँगको जारी युद्धको क्रममा इराकमा आफ्नो केसी-१३५ इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट गरेको छ। घटनामा दुई विमान संलग्न थिए। एउटा पश्चिमी इराकमा दुर्घटनाग्रस्त भयो भने अर्को सुरक्षित रूपमा अवतरण भयो।
केही सञ्चारमाध्यमहरूले इरानको आक्रमणबाट उक्त विमान खसालेको भनेर लेखेका छन् । सेनाले दुर्घटना शत्रु वा मैत्रीपूर्ण गोलीबारीका कारण नभएको बताएको छ।
विमानमा रहेका कम्तीमा ३ देखि ५ जना चालक दलका सदस्यहरूको खोजी र उद्धार कार्य जारी छ। केसी–१३५ अमेरिकी वायुसेनामा सबैभन्दा धेरै प्रयोग हुने र पुराना विमानमध्ये एक मानिन्छ। यी विमानहरू लडाकु जेट, निगरानी विमान तथा कार्गो विमानलाई आकाशमै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) कार्यका लागि प्रयोग गरिन्छ।
वायुसेनाले यस्तो प्रकारको इन्धन भर्ने उडान नियमित रूपमा सञ्चालन गरे पनि दुर्घटना भने विरलै हुने गर्छ।