
इरानले ठूलो मात्रामा हवाई आक्रमण सुरु गरेको घोषणा गरेसँगै कतार सरकारले देशका केही भागहरू खाली गर्न आदेश जारी गरेको छ। कतारको आन्तरिक मन्त्रालयले यसलाई अस्थायी सावधानीमूलक कदम भन्दै खतरा टरेको निश्चित नभएसम्मका लागि नागरिकहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको हो।
मन्त्रालयले सम्भावित खतराको स्पष्ट प्रकृति नखुलाए तापनि, इरानले भर्खरै मात्र यस क्षेत्रमा ठूलो स्तरको आक्रमण सुरु गरेको बताएपछि यो कदम चालिएको हो।
इरानले यसअघि पनि खाडी मुलुकहरूलाई लक्षित गर्ने चेतावनी दिँदै आएको थियो।
यसैबीच, छिमेकी मुलुक बहराइनमा पनि खतराको साइरन बजेपछि त्यहाँको सरकारले आफ्ना नागरिकहरूलाई तत्काल सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिएको छ।
अर्कोतर्फ, साउदी अरबले आफ्नो आकाशमा आएका कयौँ क्षेप्यास्त्र वा ड्रोन हरूलाई सफलतापूर्वक बीचैमा खसालेको दाबी गरेको छ।
मध्यपूर्वमा बढ्दै गएको यो सैन्य तनावका कारण खाडी क्षेत्रका प्रमुख राष्ट्रहरूमा त्रास र उच्च सतर्कताको स्थिति सिर्जना भएको छ।