
हिन्दूपुराणहरूमा उल्लेख भएअनुसार देवजाति र असुरजातिबीच ३०० वर्षमा १४ पटकसम्म सङ्ग्राम भएको थियो । उल्लिखित १४ मध्ये प्रथम तथा पञ्चम र दशम सङ्ग्राम विशेष उल्लेखनीय देखिएका छन्, जसले ऐतिहासिक घटनाक्रमलाई अन्यत्रै मोडिएका थिए । यस आलेखमा यिनै तीनवटा देवासुर सङ्ग्राम कहिले, कहाँ, कसरी र किन भएका थिए भन्नेबारे केलाउने प्रयास गरेको छु ।
प्रथम देवासुर सङ्ग्राम :–
यो काञ्चनको निहुँमा भएको सङ्ग्राम हो । छैटौँ चाक्षुष मन्वन्तरमा अन्त्यमा एउटा भयङ्कर जलप्रलय भएको थियो । प्रलयपछि काश्यपसागर (क्षीरसागर)को आसपास हालको आर्मेनिया, अजरवैजान, जर्जिया तथा ककेशस पर्वतीय क्षेत्रतिर बस्ने महर्षि कश्यपको माइली पत्नी अदितीका तर्फबाट १२ पुत्र (१२ भाइ आदित्य) भएका थिए । तिनमा जेठाको नाम वरुण थियो । उनले कालासागर नजिक ककेशस पर्वतीय इलाकातिर उपनिवेश कायम गरेका थिए । हालको राजनीतिक भूगोलअनुसार जर्जियातिर पर्ने त्यस स्थानलाई त्यतिबेला ग्रुजिया भनिन्थ्यो । रुसी भाषामा अहिले पनि त्यस क्षेत्रलाई ग्रुजिया नै भनिन्छ भने आमेनियाली भाषामा ब्रास्तान र तुर्की भाषामा गुरसिस्तान भन्ने गरिएको पाइन्छ ।
उनै वरुणले प्रलयकालीन जलावशेष हटाएर सुषा क्षेत्र (हालको अरब र फरसबीचको भूभाग) मा मानव बस्ती बसाएका थिए । त्यसैले उनलाई कसैले ब्रह्मा भन्थे, कसैले नारायण । १२ भाइ आदित्यमा जेठा भएकाले ब्रह्मा भनिएको बुझिन्छ । नारायण भने जलसित सम्बन्धित देखिन्छ । संस्कृत भाषामा पानीलाई नार भनिन्छ भने पानी वा त्यसको आसपास बस्नेलाई नारायण भनिन्छ । हिन्दूहरू उनलाई पश्चिम दिशा वा पश्चिम सागरको मालिक मान्ने गर्दछन् ।
त्यतिबेला वरुणको राजधानी सुषा अर्थात् पर्शियाको आसपासवर्ती क्षेत्र जर्जियाको सत्यगिदी–सत्यलोक–सुमेरु पर्वतको निकट थियो, जुन स्थानलाई पछि गएर अमरदेश, अमरावती, वैकुण्ठलोक आदि भन्ने गरिएको पाइन्छ । तर, कान्छा सूर्यले भने आदित्यनगर (बाइबलको अदन), काश्यपनगर तथा इन्द्रवन र भ्रण्डार गरी चार स्थानमा उपनिवेश कायम गरेका थिए । उनै सूर्यले बोबिलोन, सिरिया र मिश्रलाई जितेर त्रिविक्रमको उपाधि लिएका थिए भने ईशा पू. २००० तिर आदमको वंशज अब्राहमलाई पददलित गर्ने पनि उनै थिए । अरबी भाषाको आदम, अरब र यारा पनि उनकै नाम हो ।
उनीहरूबाहेक अन्य १० भाइ आदित्यहरू भने हालका इरान, मिश्र, इज्रायल, अरब आदि क्षेत्रमा छरिएर रहेका थिए । पछि गएर यिनै १२ भाइ आदित्य र उनका वंशजले देवजाति गठन गरेका थिए ।
त्यस्तै कश्यपकी जेष्ठ पत्नी दितीको तर्फबाट दैत्यजाति भएका थिए भने तृतीय पत्नी दनुबाट दानवजाति । उनीहरू काश्यपसागरको तटदेखि गजनी, हिरात, हरम, खुरासान, बुखारा, गलदम, कश आदि क्षेत्रमा छरिएर रहेका थिए । यिनमा वृषपर्वाले सिरियातिर र हिरण्याक्षले बेबिलोनतिर उपनिवेश कायम गरेका थिए । आदित्यहरूले देवजाति गठन गरेपछि दैत्य र दानव जाति मिलेर असुर जाति गठन गरेका थिए । उनै कश्यपका चतुर्थ पत्नी विनता र पञ्चम पत्नी कद्रुबाट उत्पन्न भएका क्रमश: गरुडजाति र नागजाति पनि यसै क्षेत्रमा थिए ।
उनीहरू लामो समयसम्म काश्यपसागरीय तटवर्ती भूमिदेखि समग्र एशिया माइनर क्षेत्रमा मिलेर बसेका भए पनि बढ्दै गएको राज्यविस्तार तथा सम्पत्तिका कारण बिस्तारै वैमनस्य उत्पन्न हुन थाल्यो । त्यसैमाथि हिरण्यकशिपुले पर्शियाको महामरुभूमि (ग्रेट डेजर्ट–साल्ट डेजर्ट) मा सुनको खानी प्राप्त गरेपछि राज्य बिस्तार गर्दै उत्तरपश्चिममा हालको फारस तथा अफगानिस्थानसम्म पुर्याएका थिए भने उनका भाइ हिरण्याक्षाले बेबिलोन आसपासको समग्र क्षेत्रमा आधिपत्य जमाएका थिए ।
दैत्यजातिले यसरी निरन्तर राज्य बिस्तार गर्दै गएको देवजातिले पचाउन सकेनन् र असुरहरूमाथि धावा बोलिदिए तर असुरजाति यसै पनि बलिया थिए । त्यसमाथि सम्पन्न पनि । त्यसैले उनीहरूलाई देवजातिले सजिलै जित्न सकेनन् र कूटनीतिक चातुर्यले समुद्रमन्थन र अमृत प्राप्तिको प्रलोभन देखाए, जुन काममा असुराजातिले खुलेर सघाएका पनि थिए तर लक्ष्मी (सम्पत्ति) प्राप्तिमा भने देवजातिबाट उनीहरू ठगिन पुगे । फलत: काश्यपसागरको तटमा उनीहरूबीच भयङ्कर सङ्ग्राम भएको थियो, जसलाई इतिहासमा प्रथम देवासुर सङ्ग्राम भन्ने गरिएको छ ।
पाँचौँ देवासुर सङ्ग्राम :–
यो सङ्ग्राम कामिनीको निहुँमा भएको देखिन्छ । आउनुस् एकछिन यसलाई पनि नियाल्ने प्रयास गरौँ । सुषाक्षेत्र निवासी वरुणको भृगु र अङ्गिरा दुई पुत्र थिए । तिनमा भृगुको हिरण्यकशिपु पुत्री दिव्या र पुलोमा दानवपुत्री पौलोमीको तर्फबाट शुक्राचार्य, त्वष्टा, च्यवन, ऋचिक आदि पुत्र भएका थिए । दधिचि उनै ऋचिकका पुत्र थिए, जसले देवकार्यखातिर शरीरदान गरेका थिए । अत्रि उनै भार्गव शुक्राचार्यको पुत्र थिए, जो अत्रिआश्रम हालको अजरवैजान क्षेत्रतिर निवास गर्दथे । यद्यपि भागवतमा व्यासजीले उनलाई ब्रह्माजीका मानसपुत्र भनेका छन् तर मनबाट भौतिक सन्तान सम्भव हुँदैन । त्यसैले उनले पनि सम्भवत: यतैतिर सङ्केत गरेका हुनुपर्दछ । अत्रिलाई कर्दम–देवहुती पुत्री अनुसूयाको तर्फबाट चन्द्रमा पुत्र प्राप्त भएका थिए । चन्द्रमालाई भागीनेय कुलका कारण असुरजातिले पनि मान्दथे भने काश्यपसागरको तटवर्ती भूमि अमरावती क्षेत्रका राजा इन्द्रले पनि कदर गर्दथे । यिनै उन्मादका कारण उनले अङ्गिरापुत्र बृहस्पतिकी पत्नी तारालाई हत्याएर एउटा पुत्र जन्माए, जसको नाम बुध थियो ।
यसै निहुँमा देवजातिसित उनको सम्बन्ध बिग्रियो । किनभने ताराकै कारण उनको र बृहस्पतिको बीचमा भएको खटपटले भयानक युद्ध निम्त्याएको थियो । युद्धमा देवजाति आफ्ना गुरु बृहस्पतिको पक्षमा उभिएका थिए भने असुरजातिले चन्द्रमालाई सघाएका थिए । जब युद्ध लम्बिँदै गयो तब ब्रह्मा (वरुण) को मध्यस्थतामा ताराको तर्फबाट जन्मेको पुत्र बुध चन्द्रमाको हुने र तारा बृहस्पतिको हुने गरी युद्धविराम भएको थियो । यसै घटनालाई इतिहासमा पाँचौँ देवासुर सङ्ग्राम भन्ने गरिएको छ ।
दशौँ देवासुर सङ्ग्राम :–
यो युद्ध भने सत्तासित सम्बन्धित देखिन्छ । यसको कहानी पनि त्यति नै मार्मिक छ । आउनुस् हेरौँ एक छिन यसलाई पनि । चन्द्रपुत्र बुधले मनुपुत्री इलासित विवाह गरेपछि उनी इलाको साथमा इलावर्त (तत्कालीन एशियाली रुसको दक्षिणपश्चिम तथा ईरानको पूर्वी भागदेखि भारतीय उपमहाद्वीपको उत्तरपश्चिम हालको गिलगिट पर्वतसम्मको भूमि)तिर आएर बस्न लागेका थिए । बिस्तारै मनुलाई पनि असुरहरूका कारण आफ्नो क्षेत्रमा बस्न असहज हुँदै गएकाले त्यतै आएर बस्न लागे तर त्यताको बसाइ पनि त्यति सहज भएन । त्यसैले उनीहरू ज्वाइँससुरा ऐलभूमि इलावर्त छाडेर ठूलठूला भीर, पखेरा, गुफा, ओडार, घाँटी तथा नदी नाला छिचोली भरतीय उपमहाद्वीपतिर आएर बस्न लागे । यति बेला उनीहरूले पहिलो मुकाम काबूल र स्वात उपत्यकालाई बनाएका थिए भने दोस्रो मुकाम सप्तसिन्धु (पञ्जाव) क्षेत्रलाई बनाएका थिए । त्यताबाट बुध गङ्गायमुनाको मैदानमा प्रतिष्ठान नगरी बसाएर चन्द्रवंशको बिस्तार गरे भने मनुले अयोध्यातिर आएर सूर्यवंशको बिस्तार गरेका थिए ।
ऐल र आदित्यहरू इलावर्त छाडेर हिँडेपछि देवजातिका राजा इन्द्र राज्यबिस्तार गर्नतिर लागे । त्यतिबेला उनको दक्षिण र पश्चिमका बोबिलोनियनहरूसँग मित्रता थियो भने पर्शियनहरूसित दुष्मनी । त्यसैले उनले पूर्वतर्फ राज्यबिस्तार गर्ने निधो गरे र दलबलसहित सप्तसिन्धु क्षेत्रमा आइपुगे । त्यतिबेला हालको सिन्ध तथा पञ्जावको संयुक्त क्षेत्रमा असुर याजक भृगुवंशी त्वष्टापुत्र वृत्रासुर र दासहरूको राज्य थियो । दासराजाहरूमा सुदास, यदु, तुर्वसु, अनु, द्रुह्यु, पुरु, पक्थ, भलान, आलीन आदि पर्दथे, जसको नेतृत्व वृत्रले गर्दैै आएका थिए ।
इन्द्र चतुरमात्र थिएनन् स्वार्थका लागि जे पनि गर्ने खालका थिए । जब उनले यस काममा मरुतहरू (बलुचजनजाति) बाट अवरोध हुने देखे तब यज्ञभागको प्रलोभन देखाएर आफ्नो पक्षमा लिए भने दासराजहरूमध्येका सुदास, यदु, तुर्वसु आदिलाई पनि आफ्नो पक्षमा सफल भएर वृत्रसँग लड्न गए । फलत: परुष्णी (रावी) नदीको तटमा वृत्रासुरसित भयङ््कर युद्ध भएको थियो, जसलाई इतिहासमा दशौँ देवासुर सङ्ग्राम भन्ने गरिएको पाइन्छ ।
हाल पश्चिमी पुरातत्वविद्हरूले हरियाणाको राखिगढी क्षेत्रमा उत्खनन गर्दा जुन मानव कङ्काल भेटेका थिए ती तिनै इन्द्रले निर्ममतापूर्वक मारेका सिन्ध र पञ्जाव क्षेत्रका नरनारीको भएको अनुमान गरिएको छ, जो ज्यान बचाउन हरप्पा क्षेत्रबाट भाग्दै यहाँसम्म आइपुगेका थिए । यद्यपि उनीहरूले सो क्षेत्रमा भएको बरबर आक्रमण करीव ई. पू. ५००० तिर युरोशिया क्षेत्रमा बस्दै आएका यामान्य जातिबाट भएको बताएका छन्, जुन जाति मध्य एशियामा आतङ्क मच्चाउँदै ई. पू. २००० तिर यस क्षेत्रमा आइपुगेका थिए तर उनीहरूले भनेका यामान्या जाति अरू कोही नभएर उनै इन्द्र र उनका साथमा आएका देवजाति वा आर्य जाति नै रहेको बलियो अनुमान लगाउन सकिन्छ ।