२९ असार २०८३, सोमबार

एकापसमै आरोप-प्रत्यारोपमा उत्रिन थाले एमाले नेताहरू

फागुन ३०, २०८२
काठमाडौं
एकापसमै आरोप-प्रत्यारोपमा उत्रिन थाले एमाले नेताहरू

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपमहासचिव योगेश भट्टराईलाई जिम्मेवारी नदिइएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उपमहासचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका हुन् ।

‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ,’ उनले फेसबुकमा लेखेका छन्,’ तर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ।’

महासचिव पोखरेलले आफूले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको भन्दै भट्टराईले ताप्लेजुङ जानुपर्ने जवाफ दिएको उल्लेख गरेका छन् । त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै उनले तर अहिले योगेशका नाममा सम्प्रेषित समाचारबाट भने आफू आश्चर्यचकित भएको बताएका छन् । योगेशको भनाइको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस् भनेर मात्र आफूले स्पष्ट पारेको उनको भनाइ छ । 

यसअघ आजै एमाले नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङप्रति कडा कटाक्ष गरेका थिए । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बास्कोटाले आफू तामाङजस्तो चरम अवसरवादी पात्र नभएको बताएका थिए । उनले तामाङलाई आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्रको संज्ञा दिएका छन् । 'भन्न मन थिएन तर मेरो मत मैले राखेबापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी ममाथि सार्वजनिक रूपमा जाई लगेछन्,' बास्कोटाले लेखेका छन्, 'म तपाईंजस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन,पटक-पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । ०३८ यताका ईतिहास हेरौँ न।' यसअघि शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता तामाङले आफ्नो निर्वाचन क्षेत्रसमेत जोगाउन नसक्ने नेताहरूले अध्यक्ष केपी ओलीलाई दोष देखाएर उम्किन नमिल्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्