०३ असार २०८३, बुधबार
सफलताको कथा

ढिकी कुट्दै पढेकी गोमादेवीको प्रेरणादायी यात्रा- अनि लोकसेवामा नाम निकालिन्...

फागुन ३०, २०८२
विराटनगर
ढिकी कुट्दै पढेकी गोमादेवीको प्रेरणादायी यात्रा- अनि लोकसेवामा नाम निकालिन्...

त्यो समय अर्कै थियो, जहाँ पहाडका भञ्ज्याङहरूमा घाम झुल्किनुअघि नै ढिकी र जाँतोको आवाजले गाउँ ब्युँझिसक्थ्यो। संखुवासभाको खाँदबारीस्थित ढुङ्गेधाराको एउटा सानो घरमा पनि हरेक बिहान एउटा लयबद्ध आवाज सुनिन्थ्यो- ‘ध्याप-ध्याप, ध्याप-ध्याप’। यो केवल धान कुटिएको आवाज मात्र थिएन, यो त एउटी सानी बालिकाको सपनाले आफ्नो बाटो खनिरहेको पदचाप थियो। ती बालिका थिइन्- गोमादेवी ढुङ्गाना, जसको काँधमा घरको जिम्मेवारी थियो तर आँखामा भने अक्षरहरूका रङ्गीन सपना टल्किरहेका थिए।​

संखुवासभाको पहाडी धरातलमा हुर्किँदै गर्दा गोमादेवीको जीवनमा एकाएक अनिकालको बादल मडारियो। बुबाको असामयिक निधनले घरको आर्थिक मेरुदण्ड मात्र भाँचेन, गोमाको विद्यालय जाने बाटोमा पनि ठुलो पर्खाल उभ्याइदियो। आमाको ममता त थियो, तर हातमा पैसा थिएन। समाजको सोच पुरानो थियो, जहाँ छोरीलाई पढाउनु भनेको ‘बालुवामा पानी हाल्नु’ सरह मानिन्थ्यो। तर, गोमाभित्रको एउटा दृढ इच्छाशक्तिले भनिरहन्थ्यो- ‘म पढ्छु, म जसरी पनि पढ्छु।’ उनलाई थाहा थियो, यो समाज र गरिबीको पर्खाल नाघ्न उनले अरूभन्दा बढी पसिना बगाउनुपर्नेछ।

जब आमाले आर्थिक अभावका कारण विद्यालय पठाउन नसक्ने कुरा गरिन्, गोमादेवीले हार मानिनन्। बरु उनले एउटा यस्तो उपाय निकालिन्, जुन सुन्दा आजको पुस्तालाई कथाजस्तो लाग्न सक्छ। उनले आमासँग एउटा अनौठो सर्त राखिन्। आमाले बजारमा बेच्न राखेको धान उनलाई दिनुपर्ने। उनले त्यो धान मागेर त्यसै बेच्ने योजना बनाएकी थिइनन्, बरु आफ्नो श्रम र समय लगानी गरेर त्यसको मूल्य बढाउने सोच राखेकी थिइन्। त्यतिबेला आजको जस्तो घर-घरमा बिजुलीले चल्ने आधुनिक मिलहरू थिएनन्। धानलाई चामल वा चिउरा बनाउन केवल मानव संसाधन र ढिकी मात्र उपलब्ध थियो।

सानी गोमाको दिनचर्या घाम नझुल्किँदै ढिकीघरमा शुरू हुन्थ्यो। गोडाले ढिकीको पुच्छारमा जोडले थिच्ने र धानको भुस नउडुञ्जेलसम्म निरन्तरको त्यो ‘ध्याप-ध्याप’को तालमा आफूलाई समाहित गर्थिन्। उनको शरीर सानो थियो, तर साहस भने पहाडजत्तिकै उच्च। ढिकीको मुसलले ओखलमा प्रहार गर्दा निस्कने पसिनाले शरीर निथ्रुक्क भिज्थ्यो, हातका औँलाहरू कहिलेकाहीँ धानको टुक्राले बिझ्थे। तर, उनलाई ती पीडाभन्दा विद्यालयको बेन्चमा बसेर शिक्षकले सुनाउने अक्षरहरूको बढी चिन्ता हुन्थ्यो।

उनले ढिकीमा कुटेर तयार पारेको चामल र चिउरा बजारमा लगेर बेच्थिन्। त्यसमा एउटी बालिकाको कडा मिहिनेत र भविष्यको सपना मिसिएको हुन्थ्यो। बजारमा सामान बेचेर आएको पैसामा उनको इमानदारिता झल्किन्थ्यो। उनी भन्छिन्, ‘म आमालाई धानको साउँ फिर्ता दिन्थेँ।’ उनले आमाको सम्पत्ति सित्तैमा उपभोग गरिनन्, बरु एक सफल व्यवसायीले झैँ साउँ फिर्ता गरेर बाँकी रहेको नाफा मात्र आफ्नो गोजीमा राखिन्। त्यही सानो नाफा नै उनको शिक्षाको आधार बन्यो।

आफ्नो श्रमबाट आर्जित नाफाले उनले कापी-कलम किनिन्। जतिबेला गाउँका अरू बालबालिकाहरू अभिभावकले ल्याइदिएको कापी-कलममा खेल्दै अक्षर कोर्थे, गोमादेवी आफ्नै पसिनाको मूल्यले किनिएको कापीमा भविष्यको चित्र कोर्थिन्। आज ती पुराना दिन सम्झँदा उनी भावुक हुन्छिन्, तर ती आँसुमा दुःख मात्र छैन, एउटा गौरवको अनुभूति पनि छ।

गोमादेवीको त्यो ढिकीघर केवल धान कुट्ने ठाउँ मात्र थिएन, त्यो एउटा विश्वविद्यालय थियो, जहाँ उनले आत्मनिर्भरता, धैर्य र सङ्घर्षको पाठ सिकिन्। त्यही सङ्घर्षको जगमा उनले २०४० सालमा इतिहास रचिन्; संखुवासभा जिल्लाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्ने उनी पहिलो महिला बनिन्। ‘त्यतिबेला लेडिजहरू कोही हुनुहुन्नथ्यो, म पहिलो भएँ,’ उनी गर्वका साथ सुनाउँछिन्।

सरकारी सेवामा प्रवेश गरेपछि उनले सफलताका एकपछि अर्को सिँढी चढ्दै गइन्। उपसचिव तहसम्म पुगेकी उनले कार्यसम्पादनका क्रममा जिल्ला जानुपर्ने भएपछि छोराछोरीको शिक्षा र लालनपालनलाई मध्यनजर गर्दै जागिरबाट राजीनामा दिइन्।

तर, उनको परिचय कर्मचारीमा मात्र सीमित रहेन। सानैदेखि वकिल बन्ने रहर बोकेकी उनले कानुनमा उच्च शिक्षा हासिल गरिन् र अहिले एक सफल अधिवक्ताका रूपमा कार्यरत छिन्।

गोमादेवीका एक छोरा र एक छोरी छन्। छोरा कृष्ण ढुङ्गाना अमेरिकामा इन्जिनियर छन् भने छोरी प्रतिभा ढुङ्गाना बेल्जियममा कार्यरत छिन्। सन्तानको सफलतामा मुस्कुराउने गोमादेवीको मन अहिले पनि समाजसेवामै रमेको छ। उनले आफूले पढेको विद्यालयमा २ लाख ५५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेकी छिन्।

अहिले उनी विशेष गरी अन्यायमा परेका, गरिब र असहायका लागि निःशुल्क कानुनी पैरवी गर्छिन्। ‘धेरै मुद्दा हेर्दिनँ, तर जो अन्यायमा परेका छन् र असहाय छन्, उनीहरूको मुद्दा निःशुल्क हेरिदिन्छु,’ उनी भन्छिन्। ठुला कम्पनीहरूको कानुनी सल्लाहकार बनेर आर्जन गरेको रकम उनी यस्तै सामाजिक कार्यमा खर्चिन्छिन्।

उनले त्यतिबेला आमासँग धान नमागेकी भए वा ढिकीमा पसिना नबगाएकी भए, सायद आज संखुवासभाले एउटी साहसी छोरी र देशले एउटी कुशल अधिवक्ता पाउने थिएन। उनको सन्देश प्रस्ट छ- ‘मिहिनेतको विकल्प छैन र पसिनाको मूल्य कहिल्यै खेर जाँदैन।’

salt training

कमेन्ट गर्नुहोस्