
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अधिकारीसहित द कुटि रिसोर्ट प्रालिका म्यानेजिङ डाइरेक्टर एवं शेयरधनी देवेन्द्र केसी र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० का रविन्द्र लामिछानेविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अधिकारीले एच.के. इन्टरप्राइजेज प्रालि.को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्व चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरणवापत सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट ७० लाख घुस लिएको आरोप छ ।
यसैगरी, अधिकारीले विकास चापागाई, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा उनीहरूको खाता रहेको ग्लोबल आईएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा रकम दाखिला गराएको आयोगले जनाएको छ ।
घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई भक्तपुरको थिमी नगरपालिका साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र केसी समेत सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।
उनका अनुसार अधिकारीलाई ७० लाख, केसीलाई २० लाख र लामिछानेलाई ५० लाख बिगो कायम गरेर मुद्दा दायर गरिएको छ ।