
ब्रेन्टफोर्डका स्ट्राइकर इगोर थिआगो र बर्नमाउथका विङ्गर रायनले पहिलो पटक ब्राजिलको राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।
यी दुवै खेलाडीलाई यसै महिना आयोजना हुने फ्रान्स र क्रोएसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि टोलीमा स्थान दिइएको हो ।
२४ वर्षीय थिआगो जारी सिजनको इङ्लिस प्रिमियर लिगमा दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले यो सिजन प्रिमियर लिगमा १९ गोल गरिसकेका छन् ।
थिआगोभन्दा बढी २२ गोल म्यानचेस्टर सिटीका अर्लिङ हालान्डले गरेका छन् । थिआगोकै उत्कृष्ट प्रदर्शनका कारण ब्रेन्टफोर्ड प्रिमियर लिग तालिकाको सातौँ स्थानमा छ ।
थिआगो सन् २०२४ को जुलाइमा क्लब कीर्तिमानी रकम तीन करोड पाउण्डमा ब्रुगबाट ब्रेन्टफोर्डमा आबद्ध भएका थिए ।
ब्राजिलले मार्च २६ तारिखमा बोस्टनमा फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । ब्राजिलले क्रोएसियासँग भने मार्च ३१ तारिखमा खेल्नेछ ।
नर्विचका पूर्वस्ट्राइकर ग्याब्रियल साराले पनि पहिलो पटक ब्राजिलियन टोलीमा स्थान पाएका छन् । तर, प्रभावशाली खेलाडी नेमार भने स्वास्थ्य समस्याका कारण टोलीमा छैनन् ।
‘नेमार अहिलेसम्म पूर्ण रुपमा स्वस्थ्य भइसकेका छैनन् । त्यसैले उनलाई फ्रान्स र क्रोएसियाविरुद्धको खेलका लागि टोलीमा समावेश नगरिएको हो,’ प्रमुख प्रशिक्ष कार्लो एन्सेलोट्टीले भनेका छन् ।
उक्त मैत्रीपूर्ण खेलका लागि गोलरक्षकको भूमिकामा लिभरपुलका एलिसन, अल–नासरका बेन्टो र फेनरबाचका एडर्सनलाई टोलीमा स्थान दिइएको छ ।
ब्राजिलले आगामी फिफा विश्वकपको तयारीका क्रममा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । ब्राजिल सर्वाधिक पाँचपटकको विश्वकप विजेता पनि हो ।