१७ असार २०८३, बुधबार
एन्फा विवाद

जब अदालतको इजलासमै आक्रोशित बने एन्फाका पूर्वअध्यक्ष गणेश थापा

चैत ३, २०८२
काठमाडौं
जब अदालतको इजलासमै आक्रोशित बने एन्फाका पूर्वअध्यक्ष गणेश थापा

एक मुद्दाको सुनुवाइका क्रममा मंगलबार उच्च अदालत पाटन पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा इजलासमै आक्रोशित रूपमा प्रस्तुत भएका छन् ।

एन्फाका उपाध्यक्ष विराटजंग शाहीले आफू आबद्ध संस्था एन्फासँगै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर दायर गरेको रिट माथिको सुनुवाइ मंगलबारका लागि तोकिएको थियो ।

रिटको पेशी न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासमा परेको थियो । शाहीको वारेसका रूपमा थापा पनि इजलासमा उपस्थित भएका थिए ।

पहिले शाहीका कानून व्यवसायीले मुद्दामा केन्द्रित रहेर बहस गरेका थिए । त्यसपछि एन्फा पक्षका कानून व्यवसायीले बहस गरिरहेका थिए ।

एन्फातर्फका केही कानून व्यवसायीले बहस गरिसकेपछि न्यायाधीशले मुद्दाको प्रमाण मिसिल साथै राख्ने र सुनुवाइको अर्को मिति चैत ८ गते आइतबारका लागि तोक्ने विषयमा पक्षहरूसँग सल्लाह गरेका थिए ।

न्यायाधीशको सल्लाहमा एन्फा पक्षका कानून व्यवसायी सहमत देखिए । तर, तल बसेर कानून व्यवसायीको बहस सुनिरहेका एन्फाका पूर्वअध्यक्ष थापाले तत्कालै प्रतिवाद गरे ।

‘श्रीमान्, हामी न्याय माग्न आएका हौं । सुनुवाइको मिति अर्को आइतबार राख्दा हामीमाथि घोर अन्याय हुन्छ । यसमा हामी सहमत छैनौं,’ न्यायाधीशलाई सम्बोधन गर्दै थापाले भने ।

त्यसपछि एन्फा पक्षका कानून व्यवसायीले असम्बद्ध व्यक्तिलाई मुद्दाको विषयमा बोल्ने कुनै अधिकार नभएको दाबी गर्दै थापालाई चुप लगाउन न्यायाधीशसँग आग्रह गरे । लगत्तै थापा विपक्षी कानून व्यवसायीमाथि खनिए ।

‘म वादीको वारेसका रूपमा उपस्थित भएको हुँ । मैले श्रीमानहरूको अनुमति लिएर बोलेको हुँ । मलाई बोल्नबाट बन्चित गर्ने तपाईँहरूको को हो ? अरूको विषयमा किन हस्तक्षेप गर्नुहुन्छ ? तपाईँहरू आफ्नो काम गर्नुस् । म आफ्नो धारणा राख्छु,’ विपक्षीका कानून व्यवसायीलाई सम्बोधन गर्दै थापा झनै खरो रूपमा प्रस्तुत भए ।

थापाले एन्फाको निर्वाचन चैत १३ गतेका लागि तोकिएकाले चैत ८ गते सुनुवाइको मिति तोक्दा आफूहरू अन्यायमा पर्ने दोहोर्‍याए । अर्कोतिर, न्यायाधीशले चैत ८ गते सुनुवाइका लागि उपयुक्त समय हुने धारणा राखे ।

त्यसपछि राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका थापा झनै आक्रोशित बन्न पुगे । ‘न्यायालयबाट न्याय पाइन्छ भन्ने कुरामा विश्वासै लाग्न छाड्यो । एउटा पक्षको मात्र कुरा सुनिन्छ भने हामी उपस्थित हुनुको कुनै अर्थ छैन,’ थापाले भने ।

न्यायाधीशले पटक–पटक थापालाई शान्त रहन आग्रह गरिरहे । तर, थापाले पनि आफ्नो धारणा राखी रहे । ‘जबरजस्ती आइतबारकै लागि सुनुवाइको मिति तोकिन्छ भने तोके हुन्छ । तर, म आउँदिन । जे गरे पनि हुन्छ,’ थापाले भने ।

थापा चर्को आवाजमा प्रस्तुत हुँदा न्यायाधीशले उनलाई न्यायालयको मर्यादामा बस्न आग्रह गरे । तर, थापा रोकिएनन्, ‘विपक्षीका कानून व्यवसायीले राखेका धेरै कुरा अन्योलपूर्ण छन् । हामी त्यसलाई स्पष्ट पार्न चाहन्छौं । हामीले पनि आफ्नो कुरा राख्न पाउनुपर्छ,’ उनले भने ।

न्यायाधीशले फेरि न्यायालयको सम्मान गर्न आदेश दिएपछि थापा केही नरम बने । तर, उनले बोल्न भने छाडेनन्, ‘मबाट गल्ती भएको भए क्षमा माग्न चाहन्छु, श्रीमान् । म खेलाडी हुँ । मैदानमा रेफ्रीले रातो कार्ड देखाउँदा पनि हामी खेलाडी रेफ्रीको सम्मान गर्छौं । झन् न्यायालयको सम्मान नगर्ने त कुरै भएन । न्यायालयले पनि हाम्रो भावना बुझ्नुपर्छ,’ उनले नरम स्वरमा भने ।

त्यसपछि न्यायाधीशद्वयबाट दुबै पक्षको सहमतिमा सुनुवाइको अर्को मिति ‘पर्सि’का लागि तोक्ने आदेश आएको थियो । लगत्तै, थापा पनि पुन: न्यायाधीशसँग माफी माग्दै आफ्नो कागजात बोकेर इजलासबाट बाहिरिएका थिए ।

राखेपको आदेशविपरीत एन्फाको निर्वाचन चैत १३ गते हुँदैछ । निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि लिएर उम्मेदवारको अन्तिम नामावली पनि सार्वजनिक गरिसकेको छ । शाहीले भने एन्फाको कमजोरीका कारण आफूले उम्मेदवारी दिन नपाएको दाबीसहित न्यायालयमा रिट दायर गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्