२७ जेठ २०८३, बुधबार
कच्चा पदार्थ अभाव

मध्यपूर्व तनावले बुटवलदेखि नेपालगञ्जसम्मका उद्योगहरू ‘सट डाउन’ हुने अवस्थामा

चैत ४, २०८२
बुटवल
मध्यपूर्व तनावले बुटवलदेखि नेपालगञ्जसम्मका उद्योगहरू ‘सट डाउन’ हुने अवस्थामा

मध्यपूर्व युद्धको असर नेपालमा पनि परेको छ । इरान, इजरायल र अमेरिकाबीचको बढ्दो सैन्य तनावले पाली भान्सादेखि उद्योगसम्मलाई असर गरेको हो । 

युद्धको असरले बुटवल औद्योगिक क्षेत्र, भैरहवा–परासी औद्योगिक करिडोर र नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगहरू ‘सट डाउन’ हुने अवस्थामा पुगेका छन्। आवश्यक कच्चा पदार्थको अभावसँगै मूल्यमा ४० प्रतिशतसम्म वृद्धि भएको उद्योगीहरू बताउँछन् ।

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवालले पहिलो चरणमा प्लास्टिकजन्य उद्योग अप्ठ्यारोमा परिसकेको बताए। ‘प्लास्टिकजन्य कच्चा पदार्थमा ४० प्रतिशतसम्म मूल्यवृद्धि भयो। कम्पनीसँगको सम्झौता अनुसार कच्चा पदार्थ दिन सकिँदैन भनेर ‘म्यासेज’ आएका छन्,’ अग्रवालले भने, ‘बढेको मूल्यमा पनि कच्चा पदार्थ अब नपाइन सक्छ भनेर सूचना पनि आइरहेका छन्। यसले झनै अन्योल र अप्ठ्यारो बनाएको छ।’

 

प्लास्टिकजन्य दाना नपाउँदा प्याकेजिङ क्षेत्रमा ठूलो संकट आउने उनले देखेका छन्। यही अवस्था दुई हप्ता लम्बिए नेपालका धेरैजसो उद्योगहरू बन्द हुने अवस्थामा पुग्ने अग्रवालको भनाइ छ।

युद्ध तीन देशमा मात्र सीमित छैन, खाडी मुलुकमा समेत फैलिएको छ। युद्धको असरले नेपाली बजारमा इन्धन र ग्यासको पनि अभाव भएको छ। भारतीय आपूर्तिकर्ता (सप्लायर्स) कम्पनीले नेपाली उद्योगहरूको अर्डर लिएका छैनन्। भारत र तेस्रो मुलुकबाट नेपाल आउने कच्चा पदार्थ ढुवानी गर्ने कम्पनीहरूले अब पठाउन नसक्ने बताइरहेका छन्। औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान आयात गर्न उद्योगी व्यवसायीले पछिल्लो समय नयाँ एलसी खोलेका छैनन्।

null

कोहिनुर प्लास्टिक इन्डस्ट्रिज प्रालि, रूपन्देहीका सञ्चालक सुमन बस्यालले प्लास्टिकजन्य दानाको मूल्य ४० प्रतिशतसम्म बढ्दा उद्योगीहरू अप्ठ्यारोमा परिसकेको बताए। ‘पेट्रोलियम बाई–प्रोडक्ट्सहरूको धेरै मूल्य बढेको छ। सँगै प्याकेजिङ कार्टुनको मूल्य पनि धेरै वृद्धि भएको छ,’ बस्यालले भने, ‘यसले नेपालको औद्योगिक आपूर्ति प्रणालीमा धेरै ठूलो असर पारिसकेको छ। खासगरी अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा प्राकृतिक ग्यासको मूल्य भारी वृद्धि हुँदा अरू सबै उपभोग्य वस्तुमा महँगी बढ्न थालेको छ।’

नेपाली उद्योगीले भारतको रिलायन्स र भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्लास्टिकका दाना खरिद गर्ने गर्छन्।

null

खाडी राष्ट्रलाई तेलको भण्डारका रूपमा लिने गरिन्छ। विश्वको झन्डै एक तिहाइ पेट्रोलियम पदार्थको माग खाडी मुलुकले धानेका छन्। तेल उत्पादक मुलुक युद्धमा होमिँदा पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध सिर्जना भई मूल्यवृद्धि भएको हो। अहिले सबैजसो उद्योगलाई चाहिने ‘केमिकल’ जन्य वस्तुहरू आउन सकेका छैनन्।

नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगी शरद रिजालले भारतले ‘नोटिस’ निकालेर आफ्ना उत्पादन र कच्चा पदार्थ निर्यातमा रोक लगाएपछि उद्योगीहरू ‘सट डाउन’ को अवस्थामा पुगेको बताए। ‘नेपालले कच्चा पदार्थको मौज्दात (स्टक) १० दिन पनि धान्न सक्ने अवस्था छैन,’ रिजाल भन्छन्, ‘भारतबाहेक चीनबाट उद्योगी–व्यवसायीले कच्चा पदार्थ ल्याउने गरेका छैनन्। फेरि चीनमार्फत ल्याउँदा ‘ट्राभल साइकल’ लामो र महँगो पर्ने गरेको छ। यो समस्या लामो समयसम्म रहे व्यवसायीले त्यतातर्फ पनि सोच्नुपर्ने अवस्था आउन सक्छ।’

null

नेपाल मात्र नभई धेरै देशको औद्योगिक क्षेत्रको अवस्था भयावह हुने उनको भनाइ छ। दक्षिण कोरिया, बैंकक, भियतनामबाट पनि आयात हुँदै आएको रिजालको भनाइ छ। नेपालका ठूला उद्योगहरू नारायणी पश्चिम रूपन्देही, नवलपरासी, नेपालगञ्ज क्षेत्रमा सञ्चालित छन्। बेलहिया नाका र अन्तर्राष्ट्रिय बजारको पहुँच पनि सजिलो हुँदा ठूलो लगानी गरेर निजी क्षेत्रले पश्चिम तराईमा उद्योग सञ्चालन गरेका छन्।

युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि परेको छ। मध्यपूर्व नेपालको रेमिट्यान्सको प्रमुख स्रोत हो। रेमिट्यान्सबाट चलेको मुलुकमा कामदार खाडी राष्ट्रबाट फर्किनुपर्ने अवस्था आए देशको अर्थतन्त्रमा गम्भीर धक्का पर्ने देखिन्छ।

null

बेलहिया, नेपालगञ्ज भन्सार बिन्दुबाट आयातमा पनि कमी भइरहेको छ। भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले कच्चा पदार्थ घट्न सक्ने सम्भावना देखिएको बताए। ‘हाम्रो नाकाबाट आउने भारतीय धेरै हुन्छन्। तेस्रो मुलुकबाट आउने सामान वीरगञ्जबाट धेरै हुन्छ। अहिले बाटोमा भएका सामान आइरहेको हुँदा परिणाम तथ्याङ्कमा कम देखिएको छैन। उद्योगी व्यवसायीको भनाइ अनुसार अब घट्न सक्ने सम्भावना भने देखिन्छ।’

भैरहवा भन्सार नेपालको एउटा मुख्य अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन नाका हो। देशको कुल भन्सार राजस्वको करिब २५ प्रतिशत राजस्व यस भन्सार कार्यालयबाट संकलन हुने गर्छ।

salt training

कमेन्ट गर्नुहोस्