
इरानमाथि अमेरिका–इजरायल आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै जाँदा ऊर्जा लागत बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री ढुवानीसम्बन्धी पुरानो कानुन अस्थायी रूपमा खारेज गरेका छन्।
ट्रम्पले ६० दिनका लागि ‘जोन्स एक्ट’ मा छुट दिने निर्णय गरेका छन्। यस निर्णयसँगै अमेरिकी बन्दरगाहबाट कार्गो ओसारपसारमा विदेशी ध्वजाबाहक जहाजमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हट्नेछ।
सन् १९२० मा लागू उक्त कानुनको उद्देश्य अमेरिकी जहाज निर्माण उद्योगलाई प्रोत्साहन गर्नु थियो। तर आलोचकहरूले यसले स्वतन्त्र व्यापारमा अवरोध सिर्जना गर्ने र उपभोक्ताका लागि लागत बढाउने बताएका छन्।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले फेब्रुअरी २८ मा इरानविरुद्ध अमेरिका–इजरायलले गरेको आक्रमणपछि तेल बजारमा देखिएको अल्पकालीन अवरोध कम गर्न यो निर्णय गरिएको बताइन्। उनका अनुसार यस कदमले तेल, प्राकृतिक ग्यास, मल र कोइलाजस्ता स्रोतहरू ६० दिनसम्म अमेरिकी बन्दरगाहमा सहज रूपमा भित्र्याउन मद्दत गर्नेछ।
उनले ट्रम्प प्रशासन आपूर्ति श्रृङ्खला सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि बताइन्। ‘ट्रिपल ए’ मोटर समूहका अनुसार युद्ध सुरु भएयता अमेरिकामा पेट्रोलको मूल्य २७ प्रतिशतभन्दा बढीले बढेको छ।