
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
उक्त मुद्दामा प्रतिवादीहरूलाई आंशिक सफाइ दिने फैसला भएको भन्दै आयोगले बिहीबार सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो ।
सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिद गर्दा सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून विपरीत बद्नियतपूर्वक मिलेमतो गरी परियोजनाको सम्भाव्यता अध्ययन नगरी, दुई वटा कार्यक्रममा बजेट माग गरी बढी लागत देखाई, स्पेशिफिकेशन संशोधन गर्दा समेत संशोधनपूर्वको लागत इष्टिमेटको आधारमा खरिद कार्य गराएर भ्रष्टाचार गरेको आयोगको दाबी छ ।
आयोगले ४० करोड ८५ लाख ७४ हजार ७४० रूपैयाँ बिगो र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर विशेष अदालतले गत वैशाख २१ गतेको फैसलामा आंशिक सफाइ दिएकाले फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।