२८ जेठ २०८३, बिहीबार

सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवनको पोल्टामा, सञ्जय एक स्ट्रोकले पराजित

चैत ६, २०८२
काठमाडौं
सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवनको पोल्टामा, सञ्जय एक स्ट्रोकले पराजित

सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गतको पाँचौं प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि भुवन नगरकोटीले जितेका छन् । प्रतियोगिताको यो २६औं संस्करण हो ।

भुवनले शुक्रबार इभन पार ६९ खेले । उनले समग्रमा तीन अन्डर दुई सय चारको स्कोरसहित सञ्जय लामालाई एक स्ट्रोकले पछि पार्दै उपाधिमा ह्याट्रिक गरेका हुन् ।

भुवनले आफ्नो खेलजीवनमा जितेको यो १४औं उपाधि हो । उपाधिसँगै उनले एक लाख ७० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गरे ।

यसअघि यो सिजनमा उनले सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप र सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए ।

शुक्रबार चार अन्डर ६५ खेल्दै समग्रमा दुई अन्डर दुई सय पाँच स्कोरसहित सञ्जय दोस्रो भए । उनले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

एमेच्योर राहुल विश्वकर्माले चार अन्डर ६५ को स्कोर कार्ड बनाए । समग्रमा एक अन्डर दुई सय ६ स्कोरसहित उनी तेस्रो स्थानमा रहे ।

धरानका गल्फर शुक्रबहादुर राईले शुक्रबार चार ओभर ७३ को प्रदर्शन गरे । समग्रमा दुई ओभर दुई सय नौ स्कोरसहित उनी चौथो भए । प्रोतर्फ तेस्रो भएका उनले एक लाख रुपैयाँ पाए ।

जयराम श्रेष्ठ समग्रमा सात ओभर दुई सय १४ स्कोरसहित पाँचौं स्थानमा चित्त बुझाए । उनले ८२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पोखराका घरेलु गल्फर भुबबहादुर गुरुङ छैटौं भए । उनले समग्रमा आठ ओभर दुई सय १५ स्कोर बनाए । उनले ७२ हजार रुपैयाँ पुरस्कार पाए ।‌

समग्रमा १० ओभर दुई सय १७ स्कोरसहित भुवनकुमार रोक्का र दिनेश प्रजापतिले संयुक्त रूपमा सातौं स्थान बाँडे । उनीहरूले जनही ६५ हजार रुपैयाँ प्राप्त गरे ।

समग्रमा १२ ओभर दुई सय १९ स्कोर बनाएका तोरणविक्रम शाही नवौं भए । उनले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

१३ ओभर दुई सय २० स्कोर बनाएका रमेश अधिकारी र सुरेश तामाङ संयुक्त रुपमा १०औं भए । उनीहरूले जनही ४४ हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) द्वारा आयोजित प्रतियोगितामा २६ प्रोफेसनल तथा १६ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो ।

सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा यसपटक कुल पुरस्कार राशि वृद्धि गरिएको थियो । कुल १० लाख ५० हजार नगद पुरस्कार रहेको यो प्रतियोगितामा शीर्ष १८ स्थानसम्मका प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्