नेपालमा सरकारीस्तरबाट हजारौं ठूला–साना योजना बन्छन् । सरकारी नीति–नियम र प्रक्रियागत ढिला–सुस्तीका कारण यसरी बनेका थुप्रै योजना शुरू हुनै वर्षौं समय लाग्छ । कतिपय योजना त कागजमै सीमित भएका उदाहरण पनि प्रशस्तै छन् ।
तर, यो योजना केही फरक छ । सरकारले करिब साढे दुई महिनाअघि ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गर्ने निर्णय गर्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को २०८२ पुस ९ गते बसेको १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जग्गा उपलब्ध गराउने निर्णय लियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएकाहरूको सम्मानमा यो पार्क निर्माण गर्न लागेको हो । राखेपले जग्गा उपलब्ध गराएलगत्तै शुरू भएको पार्क निर्माणको काम अहिले द्रुतगतिमा अघि बढेको छ ।
‘जेनजी सहिद स्मारक पार्क निर्माणको काम द्रुतगतिमा अघि बढाएका छौं । पार्कमा ४५ जना सहिदमध्ये पहिलो चरणमा ४२ जनाको सालिक राखिने छ । १५ जना सहिदको सालिक त निर्माण पनि भइसकेको छ,’ सालिक निर्माण कार्यमा सक्रिय आर्किटेक्ट इन्जिनियर करुण रिजाल भन्छन् ।
रिजालका अनुसार, अन्य सहिदको सालिक निर्माण कार्य पनि धमाधम भइरहेको छ । ‘सहिदका सालिकहरू राख्न बेस निर्माणको काम पूरा भइसकेको छ । सालिक निर्माण कार्य सकिएको दुई साताभित्रै पार्क निर्माण कार्यले पनि पूर्णता पाउने छ,’ लोकान्तरसँगको कुराकानीमा उनले भने ।
सहिद पार्क नेपाली मौलिक शैलीमा निर्माण गर्न लागिएको जानकारी पनि उनले दिए । ‘यो भावनात्मक र संवेदनशील विषय हो । पार्क अवलोकन गर्दा पनि यो कुरा सहजै झल्कुन पर्छ । हामीले सोही अनुसार काम गरिरहेका छौं,’ रिजाल भन्छन् ।
गोलाकार रूपमा तयार पारिएको पार्क निर्माणस्थलको मध्य भागमा नेपालको राष्ट्रिय झण्डा फहराइरहेको देख्न सकिन्छ । निर्माण पूरा भइसकेका सहिदका सालिक अहिले त्यहीँ ल्याएर राखिएको छ । केही सालिक भुइँमै राखिएको छ भने केही पर्खालमाथि ।
‘सालिक राखिने स्थानको भुइँ हल्का रातो रङको हुनेछ । यो रङ सहिदको रगतको प्रतीकका रूपमा प्रयोग गर्न लागिएको हो । त्यसपछि सबै सहिदको सालिकले मध्य भागमा फहराइरहेको राष्ट्रिय झण्डालाई हेरेजस्तो झल्को दिइने छ । खासमा, हामीले सहिदहरूको रगतले नै देश बनेको हो भन्ने सन्देश दिन खोजेका हौं,’ रिजाल भन्छन् ।
आखिर कसले बनाउँदै छ त जेनजी सहिद स्मारक पार्क ?
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माणधिन पार्क स्थलको छायांकनपछि यसको बारेमा विस्तृत जानकारी लिन हामीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सम्पर्क गर्यौं । तर, राखेपमा यस विषयमा कुनै जानकारी प्राप्त हुन सकेन ।
तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राखेपको १२४ औं बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गामात्र उपलब्ध गराउने निर्णय गरेको रहेछ । त्यो पनि खेलकुद संरचनामा कुनै असर नपर्ने शर्तमा ।
पार्कको बारेमा युवा तथा खेलकुद मन्त्रालयलाई विस्तृत जानकारी हुनसक्ने सुझाव हामीले राखेपबाट पायौं । त्यसपछि हामी सिंहदरबारस्थित खेलकुद मन्त्रालय पुग्यौं । तर, खेलकुद मन्त्रालयलाई पनि यस विषयमा आधिकारिक जानकारी रहने छ ।
‘राखेप बोर्ड बैठकको निर्णय अनुसार हामीले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन आवश्यक पत्राचारमात्र गरेका हौं । यस विषयमा मन्त्रालयसँगै कुनै विस्तृत विवरण छैन । पार्क कसले निर्माण गर्दैछ भन्ने कुरामा पनि हामी अनभिज्ञ छौं,’ मन्त्रालयका एक अधिकारीले भने ।
ती अधिकारीको सुझाव अनुसार नै हामी त्यसपछि प्रधानमन्त्रीको तथा मन्त्रिपरिषद्को कार्यालय पुग्यौं । तर, त्यहाँबाट पनि हामीले पार्क निर्माणसम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकेनौं ।
अन्तत: अर्का एक सरकारी अधिकारीको सुझावमा हामी शहरी विकास तथा भवन निर्माण विभाग पुग्यौं । तर, विभागबाट पनि हामीले पार्कको बारेमा जानकारी पाउन सकेनौं । त्यसपछि हामी पुन: सातदोबाटोस्थित पार्क निर्माणस्थलमै पुग्यौं ।
सालिक निर्माण कार्य अन्यत्रै भइरहेकाले पार्क निर्माणस्थलमा कसैसँग सम्पर्क हुन सकेन । लामो समयको दौडधुपपछि अन्तत: राखेपकै एक अधिकारीबाट पार्क निर्माण कार्यमा सक्रिय आर्किटेक्ट इन्जिनियर रिजालको मोबाइल नम्बर प्राप्त गर्यौं ।
रिजालबाटै हामीले जानकारी पायौं, पार्क निर्माणको काम निजी क्षेत्रको ‘ग्लोबल आईएमई बैंक’को सक्रियतामा भइरहेको रहेछ । ‘पार्क निर्माणको सम्पूर्ण काम ग्लोबल आईएमई बैंकले गरिरहेको छ । आर्थिक सहयोग पनि बैंककै हो । निजी क्षेत्रका अन्य संघ–संस्था पनि सहयोगका लागि अगाडि आएको भन्ने सुनेका छौं । तर, विस्तृत रुपमा जानकारी भएन,’ उनले भने ।
अन्तर्राष्ट्रिय खेलकुद परिसरको जग्गामा पार्क निर्माण गरिए पनि जग्गाको स्वामित्व भने राखेपसँगै रहने छ । राखेपको १२४ औं बोर्ड बैठकले अन्तर्राष्ट्रिय खेलकुद परिसरमै रहेको अडिटोरियमको नाम ‘जेनजी मार्टियस अडिटोरियम हल’ राख्ने निर्णय पनि गरेको थियो ।
‘हालसम्म यो अडिटोरियमको नाम राखिएको थिएन । त्यसैले जेनजी आन्दोलनका क्रममा जीवन गुमाउने युवाहरूको सम्मानमा यसको नामाकरण गरिएको हो,’ तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले भनेका थिए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलकुदको भौतिक संरचना सन् १९९९ मा आयोजित आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका क्रममा चीन सरकारको सहयोगमा निर्माण गरिएको हो ।