३२ असार २०८३, बिहीबार

हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला, १६ हजारको मृत्यु

चैत १०, २०८२
काठमाडौं
हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला, १६ हजारको मृत्यु

मुलुकमा हरेक वर्ष ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा ६७ हजार नयाँ बिरामीमध्ये करिब १६ हजारको क्षयरोगका कारण मृत्यु हुने जानकारी दिइयो।

कार्यक्रममा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालको क्षयरोग अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै एक वर्षमा ६७ हजार नयाँ बिरामी फेला पर्ने बताए। उनका अनुसार हाल देशमा एक लाख २२७ जनामा क्षयरोग रहेको छ। हरेक वर्ष करिब १६ हजार व्यक्तिको क्षयरोगका कारण मृत्यु हुने र एक लाखमा करिब ५३ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ।

आव २०८१/८२ मा औषधि-संवेदनशील क्षयरोगका ३९ हजार १५१ नयाँ बिरामी पहिचान गरी उपचार गरिएको छ। उपचारमा रहेका बिरामीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष छन् भने पाँच दशमलव छ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन्।

उपचारमा रहेका बिरामीमध्ये ७२ प्रतिशतमा फोक्सोसम्बन्धी र २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अङ्गमा क्षयरोग देखिएको छ। औषधि-प्रतिरोधी क्षयरोगका ६२५ बिरामी पहिचान भएका छन्। औषधि-संवेदनशील क्षयरोगको उपचारमा ९२ प्रतिशत सफलता हासिल भएको छ भने औषधि-प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत सफलता दर छ।

विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग देखिन्छ र तीमध्ये १२ लाख ३० हजारको मृत्यु हुने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाउँछ।

क्षयरोग नियन्त्रणका लागि सरकारले देशभर ६ हजार २४१ स्वास्थ्य संस्थाबाट उपचार सेवा सञ्चालन गरेको छ। ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ।

देशभर औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको छ। साथै नौ वटा एआई जडित डिजिटल एक्स-रेमार्फत परीक्षण भइरहेको छ।

अझै ४२ प्रतिशत बिरामी उपचारको पहुँचबाहिर छन्। ११ प्रतिशत बिरामी र तिनका परिवार आर्थिक भार, सामाजिक भेदभाव र स्रोतसाधन अभावका कारण थप समस्यामा छन्।

एआई जडित डिजिटल एक्स-रे विस्तार, नवीन निदान सेवा सुदृढीकरण, द्रुत परीक्षण विस्तार र गुणस्तरीय उपचारमा पहुँच सुनिश्चित गर्दै प्रदेश र स्थानीय तहको नेतृत्वमा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिइने बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्