
विशेष महाधिवेशनले ‘गलहत्याएर’ निकालेको शेरबहादुर देउवा-शेखर कोइराला समूहले समानान्तर गतिविधि थालेपछि पार्टीपंक्ति तरंगित बनेको छ ।
पार्टीको सबै भूमिका र जिम्मेवारीबाट च्युत भएको सो समूहले आइतबार भेला भएर विघटित केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्यो । देउवा सभापति हुँदा प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका मीन विश्वकर्माका अनुसार सो बैठकले केही दिनभित्रै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बैठक बस्ने छ ।
‘कार्यवाहक सभापतिले शीर्ष नेताहरूसँग छलफल गरेर बैठकको तिथिमिति तय गर्नुहुन्छ‚’ विश्वकर्माले लोकान्तरसँग भने ।
२७ देखि ३० पुससम्म विशेष महाधिवेशन गरेर गगनकुमार थापा कांग्रेसको सभापति बनेका छन् । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल छन् ।
यो कार्यसमितिलाई निर्वाचन आयोगले पनि मान्यता दिएको छ । आयोगको निर्णय मान्य नरहेको भन्दै शेरबहादुर देउवा‚ पूर्णबहादुर खड्का लगायतका नेताहरू सर्वोच्च अदालतमा पुगेको छन् ।
यद्यपि यही नेतृत्वले बाँडेको टिकटमा शेखर कोइराला‚ विमलेन्द्र निधि‚ महेन्द्र यादव‚ ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेता निर्वाचन लडेर पराजित समेत भइसकेका छन् ।
चुनावी हारको समीक्षा नसकिँदै विशेष महाधिवेशनसँग असन्तुष्ट समूह समानान्तर केन्द्रीय समिति बैठक बोलाउने तयारीमा जुटेको छ । यसलाई वर्तमान कार्यसमितिले रुचाएको छैन ।
‘विधानले चिन्ने र हामीले जानेको कांग्रेसको केन्द्रीय समिति एउटा मात्र छ‚’ केन्द्रीय सदस्य अर्जुन जोशीले लोकान्तरसँग भने‚ ‘त्यो भनेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा चयन भएको र आइतबार मात्र सानेपामा बैठक सम्पन्न गरेको केन्द्रीय समिति हो ।’
कांग्रेसमा समूहगत कोटरी‚ गुट-उपगुट तथा नेतापिच्छे बन्ने समूह सामान्य नै हो । बीपी कोइराला‚ सुवर्ण शमशेर‚ किसुनजी (कृष्णप्रसाद भट्टराई)कै समयबाट मौलाएको गुटको राजनीति पछिल्लो समय झन् झाँगिदै गएको छ ।
समूहगत लडाइँबाटै विशेष महाधिवेशनको बाटो र पार्टीमा सत्ता उलटपुलट देखिएको कांग्रेसभित्र हिजो शक्तिमा रहेको समूह आज पुनः शक्तिमा फर्कने प्रयत्नमा जुटेको छ ।
यो बीचमा सर्वोच्च अदालतले आधिकारिकता विवादलाई निचोडमा पुर्याइदिए समाधानको एउटा बाटो देखिने थियो । तर‚ अदालतबाट निष्कर्ष सुनाउन ढिलाई हुँदा समानान्तर गतिविधि मौलाउन थालेको हो ।
केन्द्रीय सदस्य जोशी समूहगत वा गुटगत छलफल गर्न पाइने भए पनि केन्द्रीय समिति भनेर अवैध बैठक बोलाउन नपाइने बताउँछन् ।
देउवा-कोइराला समूहले केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समिति बैठक पूर्णबहादुरको नेतृत्वमा बस्ने भनेपश्चात् गगन नेतृत्वको वर्तमान कार्यसमिति सतर्क बनेको छ ।
यसको आधिकारिकता जाँच गर्न र सत्यता पत्ता लगाउन निरन्तर नेताहरू लागि परेका छन् । आफूले हिजो विशेष महाधिवेशनको माहोल बनाएजस्तै कतै देउवा-कोइराला समूहले पनि फरक माहोल बनाउँछ कि भन्ने भय वर्तमान नेतृत्वमा देखिन्छ । त्यसैले यसलाई रोक्न लाग्नुपर्ने र असन्तुष्ट समूहलाई समेट्ने तयारी स्वरूप वार्ता तथा संवाद गर्नुपर्ने मत वर्तमान संस्थापन पक्षमा देखिन्छ ।
पार्टी उपसभापति पुष्पा भुसाल पनि मिडियामा समाचार आएपश्चात् आफूले यस विषयको सत्यता जाँच गरेको बताउँछिन् । उनको शब्दमा 'पूर्णबहादुर खड्काको निवासमा बैठक बसेर भएको सामान्य छलफलबारे मिडियामा फरक किसिमबाट भाष्य बनाउन खोजिएको' छ ।
‘उहाँहरू बसेको सत्य हो । तर‚ केन्द्रीय समिति र कार्यसम्पादन समितिजस्ता बैठक गर्ने‚ विभिन्न निर्णय गर्ने भन्ने तयारी भने भएको होइन रहेछ‚’ उनले लोकान्तरसँग भनिन्‚ ‘जसले मिडियामा म्यासेज कन्भे गर्नुभयो, उहाँले चाहिँ गलत सन्देश दिनेगरी गर्नुभयो भन्ने देखियो ।’
उनी पार्टीको नाममा हुने कुनै पनि समानान्तर गतिविधि स्वीकार्य नहुने धारणा राख्छिन् ।
‘व्यक्तिगत वा समूहगत छलफल गर्न पाइयो र त्यसबाट रचनात्मक सुझाव दिन पनि पाइयो‚’ उनले लोकान्तरसँग भनिन्‚ ‘तर, पार्टीको नाममा केन्द्रीय समिति वा कार्यसम्पादन समिति अथवा कुनै पनि समानान्तर गतिविधि गर्न पाइँदैन ।’
सिनियरहरूले चेतेनन्‚ पार्टी विभाजन गराउने काम नहोस्
नेपाली कांग्रेसको इतिहासमा १३ औं र १४ औं महाधिवेशन जितेर शेरबहादुर देउवा दुईपटक सभापति बने । सातपटक डडेलधुराबाट चुनाव जितेर पाँचपटक प्रधानमन्त्री बने । तर‚ २३ र २४ भदौको जेनजी विद्रोह देउवासहितका पुराना नेताका कारण भएको हो भन्ने भाष्य स्थापित हुन पुगेको छ ।
जेनजी विद्रोहमा देउवा निर्घात कुटिए । सँगै रहेकी उनकी पत्नी तथा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा पनि कुटिन पुगिन् । समग्रमा पार्टी राजनीति र नेपाली राजनीतिमा देउवाको चरित्र धमिलो हुन पुग्यो ।
सोही जेनजी विद्रोहको जगमा कांग्रेसभित्र विशेष महाधिवेशन भएको हो। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व पुस्तान्तरण हुँदा देउवालाई डडेलधुराबाट चुनाव लड्न नदिनेसम्मको 'होमवर्क' भयो ।
देउवा आफैंले पनि चुनाव लड्न चाहेनन् र २१ फागुनमा भोट नहाली विदेश उडे । अहिले कांग्रेसले देउवा र विशेष महाधिवेशनबाट पाखा लगाइएको समूहको असहयोगका कारण चुनाव हारिएको भन्ने तर्क पनि प्रस्तुत गरिरहेकै छ ।
यी सबै घटनाक्रम भइरहँदा पुनः देउवा र उनको समूह पार्टीभित्र कमब्याक र १५ औँ महाधिवेशन केन्द्रित तयारीमा लागेको देखिन्छ । छुट्टै भेला र छलफल गरेर महाधिवेशन केन्द्रित वातावरण बनाउने तयारी उनीहरूको छ ।
केन्द्रीय सदस्य मधु आचार्य आइतबार पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक बसिरहँदा पुराना तथा सिनियर नेताहरूले छुट्टै केन्द्रीय समिति बैठक बसाउने निर्णय गर्नु आपत्तिपूर्ण रहेको बताउँछन् । ‘यहाँसम्मको स्थिति आउँदा पनि पुराना नेताहरू नचेतेको’ अर्थमा यसलाई बुझ्नुपर्ने उनको धारणा छ ।
निर्वाचनको नतिजा तथा अन्य विविध पक्षले पनि पार्टीभित्र रूपान्तरण र सुधार खोजेको कुरा प्रमाणित भइसकेको उनी बताउँछन् । यस विषयलाई अग्रज नेताहरूले बुझेर सुधारको बाटोमा जानुभन्दा प्रतिगमनको बाटोमा जाने मनोदशा गलत भएको उनको तर्क छ ।
‘उहाँहरू गलत दिशामा तथा प्रतिगमनको दिशामा जाने कार्य रोकिनुपर्छ‚’ आचार्यले लोकान्तरसँग भने।
उनले यस विषयमा वर्तमान कार्यसमिति चिन्तित रहेको भन्दै केन्द्रीय समिति नै समानान्तर बोलाउने कार्य नगर्न आग्रह गर्ने बताए ।
विशेष महाधिवेशनबाट आएको नेतृत्व पार्टीलाई एकताबद्ध र रुपान्तरित बनाउन प्रतिबद्ध रहेको भन्दै उनले मुलुकभरिका आमकार्यकर्ता तथा शुभेच्छुकको इच्छा र चाहनाविपरित अघि नबढ्न चेतावनी दिए ।
‘पार्टीभित्र विभाजन ल्याउने‚ अन्योलको वातावरण सिर्जना गर्ने र आम साथीहरूको मनोबल गिराउने कार्य रोकियोस्‚’ आचार्यले चेतावनी दिँदै भने ।