
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले चुनावमा मत नमागेको विषयमा असन्तुष्टि जनाएका छन् ।
मंगलबार सानेपामा पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूसँग असन्तुष्टि भए पनि आफ्नै झोला बोकेको साथीका लागि समेत मत नमागेको भन्दै असन्तुष्टि जनाए ।
'एउटा क्षेत्रमा ५/६ पटक उम्मेदवार भएको नेता– मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एकपटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन ? त्यो निर्वाचन क्षेत्रमा एकपटक मत माग्नुपर्दैन ? उम्मेदवारको पक्षमा मत माग्दिनुपर्ने कर्तव्य होइन ? त्यो मैले सम्झाउनुपर्ने हो ?' थापाले प्रश्न गरे ।
उनले यस विषयमा आफूले पूर्वाग्रह भने नराख्ने बताए ।
'म यसबारे पूर्वाग्रह राख्दिनँ, मात्र मैले नोटिसमा लिएँ भनेर भनेँ, पार्टीको अनुशासन समिति छ, अनुशासन समितिले आफ्नो ढंगले काम गर्छ,' उनले थपे ।
थापाले पार्टी महाधिवेशनमा अगाडि बढेको बताए ।
'(महाधिवेशनको) गाडी अगाडि बढ्यो । को विशेष महाधिवेशनमा हुनुहुन्थ्यो, को हुनुहुन्थेन भन्ने कुरा हुँदैन । सबैलाई मिलाएर अगाडि बढाउँछौं । संवाद गर्नुपर्ने ठाउँमा संवाद पनि गर्छौं,' थापाले भने ।