०८ साउन २०८३, शुक्रबार

इरानमाथिको आक्रमणले आणविक हतियार राख्ने हाम्रो निर्णय सही साबित भयो- किम जोङ उन

चैत ११, २०८२
काठमाडौं
इरानमाथिको आक्रमणले आणविक हतियार राख्ने हाम्रो निर्णय सही साबित भयो- किम जोङ उन

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशसँग आणविक हतियार हुनुपर्ने निर्णय सही भएको भन्दै खुसी व्यक्त गरेका छन्। राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार, अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले उत्तर कोरियाको आणविक हतियार राख्ने निर्णयलाई सही प्रमाणित गरिदिएको उनले बताए।

किमले पश्चिम एसियामा जारी युद्धको प्रसङ्ग जोड्दै आजको संसारमा बलियो सैन्य शक्तिले मात्र देशलाई सुरक्षित राख्न सक्ने तर्क गरे। आफ्नो भाषणमा उनले दक्षिण कोरियाप्रति कडा अडान दोहोर्‍याउँदै अमेरिकालाई रोक्न आणविक हतियारलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए। किम जोङ उनले भने, "हामी थप आणविक हतियार निर्माण गर्नेछौं।"

मंगलबार लिखित रूपमा जारी गरिएको उनको भाषणमा, सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता विफल भएपछि आणविक हतियार बढाउने निर्णय नै सबैभन्दा सही कदम भएको उल्लेख गरिएको छ। किमले अब उत्तर कोरिया संयुक्त राज्य अमेरिकाविरुद्धको 'संयुक्त मोर्चा' मा थप सक्रिय भूमिकामा रहने बताए।

ट्रम्पको नाम प्रत्यक्ष उल्लेख नगरे पनि उनले आफ्ना विरोधीहरूले टकराव रोज्छन् वा शान्ति, त्यो उनीहरूकै व्यवहारमा निर्भर हुने उल्लेख गरे। उनले उत्तर कोरिया जुनसुकै परिस्थितिका लागि तयार रहेको चेतावनी समेत दिए। किमले आत्मनिर्भर अर्थतन्त्रको विकाससँगै थप आणविक हतियार र ती बोक्न सक्ने क्षेप्यास्त्रहरू उत्पादन गर्ने आवश्यकतामा जोड दिएका छन्।

दक्षिण कोरियाबारे बोल्दै उनले भने, "हामी यसलाई हाम्रो सबैभन्दा ठूलो शत्रुको रूपमा व्यवहार गर्नेछौं र पूर्ण रूपमा बेवास्ता गर्नेछौं। यदि दक्षिण कोरियाले हाम्रो देशलाई हानि पुर्‍याउने कुनै पनि कार्य गरेमा कडा सजाय दिइनेछ।"

स्मरण रहोस्, सन् २०१८ मा अमेरिका र उत्तर कोरियाबीच आणविक कार्यक्रम त्याग्ने विषयमा वार्ता सुरु भएको थियो। २०१८ जुनमा सिंगापुरमा ट्रम्प र किमबीच ऐतिहासिक भेट भएको थियो भने २०१९ फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो बैठक बसेको थियो। तर, दुई पक्षबीच सर्तहरूमा सहमति हुन नसक्दा वार्ता विफल भएको थियो।

त्यसपछि उत्तर कोरियाले अमेरिकालाई विश्वास गर्न नसकिने भन्दै सुरक्षाका लागि सैन्य शक्ति बढाउनु अनिवार्य भएको बताउँदै आएको छ। सोही आधारमा उसले आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई तीव्रता दिएको हो। उत्तर कोरियाको विश्वास छ कि बलियो आणविक क्षमताले मात्र उसलाई बाह्य आक्रमणबाट जोगाउन सक्छ।

पछिल्ला वर्षहरूमा उत्तर कोरिया पुरानै रणनीतिमा फर्किएर क्षेप्यास्त्र परीक्षणलाई तीव्र बनाएको छ। उसले अमेरिकासम्म मार हान्न सक्ने लामो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरूको समेत सफल परीक्षण गरिसकेको छ। विज्ञहरूको अनुमान अनुसार उत्तर कोरियासँग हाल छोटो, मध्यम र लामो दूरीका सयौं ब्यालिस्टिक क्षेप्यास्त्रहरू रहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्