२५ जेठ २०८३, सोमबार

भरतपुरमा प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय भेला, ‘भरतपुर घोषणापत्र’ जारी

चैत ११, २०८२
चितवन
भरतपुरमा प्रज्ञाप्रतिष्ठानको राष्ट्रिय भेला, ‘भरतपुर घोषणापत्र’ जारी

पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । 

दुई दिनसम्म चलेको भेलाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यसहित १३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

देशभरका १७ प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको भेलामा प्रज्ञासभाको गठनपछिको अवस्था, सञ्चालन र भावी मार्गचित्रबारे विस्तृत छलफल गरिएको थियो ।

घोषणापत्रमा संघीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय बढाउने, सबै स्थानीय तहमा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने तथा नाममा एकरूपता ल्याउने विषयलाई प्राथमिकता दिइएको छ ।

यस्तै, ‘प्रज्ञासूचना प्रणाली’ निर्माण गर्ने, नयाँ पुस्तालाई सिर्जनामा प्रोत्साहन गर्ने तथा ज्ञानको पुस्तान्तरण सुनिश्चित गर्ने विषयमा पनि जोड दिइएको छ । 

प्रत्येक स्थानीय तहमा सांस्कृतिक ग्राम निर्माण गर्ने र मौलिकता, विविधता तथा सम्पदाको संरक्षणलाई योजनागत रूपमा अघि बढाउने प्रस्ताव पनि समेटिएको छ ।

घोषणापत्रमा स्रष्टालाई प्रोत्साहन गर्न पुरस्कारमा कर हटाउने, स्रष्टा–परिचयपत्र लागू गर्ने र सामाजिक सुरक्षा सुनिश्चित गर्ने विषय उल्लेख गरिएको छ ।

साथै, कलालाई शिक्षासँग र शिक्षालाई उत्पादनसँग जोड्ने अवधारणालाई पनि प्राथमिकतामा राखिएको छ ।

भेलाअन्तर्गत आयोजित काव्यिक कार्यक्रममा सहभागी प्राज्ञहरूले गीत, गजल तथा कविता वाचन गरेका थिए भने वक्ताहरूले यस्ता कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्