
प्रधानमन्त्रीको शपथबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्री बालेनको टीमले बुधबार राष्ट्रपति कार्यालयका अधिकारीहरूसँग छलफल गर्ने भएको छ ।
प्रधानमन्त्रीको शपथबारे विगतका परम्परा बुझ्न बालेनको टीम शीतलनिवास जाने तयारी गरेको हो ।
‘प्रधानमन्त्रीको शपथ कसरी गर्ने भनेर बालेनको टीमसँग कुरा भएको थियो । उहाँहरूले ठाउँ हेर्न र शपथको कार्यक्रम बनाउन हामी आउँछौं भन्नुभएको छ,’ स्रोतले लोकान्तरसँग भन्यो ।
बालेन टीमले प्रधानमन्त्रीको शपथलाई परम्परागतभन्दा केही मौलिक बनाउन प्रस्ताव गरेको स्रोतले बतायो ।
प्रधानमन्त्रीको शपथको बेला बटुकद्वारा स्वस्ति वाचन, बौद्ध भिक्षुद्वारा शुभमंगल पाठ र शंखनाद गर्नेलगायत कार्यक्रमको चर्चा भए पनि बालेनको टीमले त्यसमा स्वीकृति जनाइनसकेको स्रोतले बतायो ।
‘विगतमा पनि यस्तो परम्परा थियो, यसपटक के गरौं भनेर प्रस्ताव आएको थियो । त्यसबारे हाम्रो टीममा सल्लाह हुँदैछ,’ बालेननिकट स्रोतले भन्यो ।
प्रधानमन्त्रीको शपथ चैत १३ गते शुक्रबार शुभसाइतमा गर्ने तयारी छ । रामनवमीको दिन शपथ गर्न रास्वपाकै तर्फबाट प्रस्ताव भएको स्रोतले बतायो ।
प्रधानमन्त्रीको शपथलगत्तै सोही दिन मन्त्रीहरूको समेत शपथ गराउने तयारी रास्वपाले गरेको छ । बिदाको दिन परे पनि नयाँ प्रधानमन्त्रीले शुक्रबार नै सिंहदरबारमा पदबहाली गर्ने तयारी भएको छ ।
प्रधानमन्त्रीको शपथका लागि विशिष्ट व्यक्तिहरू र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई शीतलनिवासमा आमन्त्रण गरिएको छ ।
त्यसअघि रास्वपाले बालेनलाई संसदीय दलको नेता बनाएर सोको जानकारी राष्ट्रपति कार्यालयलाई गराउने छ । राष्ट्रपतिले नियुक्त गरेपछि मात्र प्रधानमन्त्रीले शपथ लिनेछन् ।
सांसदहरूको शपथपछि संसदीय दलको बैठक राखेर बालेनलाई नेता चयन गर्ने तयारी छ । प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेर बालेन संसद्मा निर्वाचित भएका थिए । बालेनको शपथमा पूर्वप्रधानमन्त्री ओलीलाई समेत निमन्त्रणा दिइएको छ ।