काठमाडौं देशको राजधानी हो । यहाँँ मानिसहरू सुरक्षाको अपेक्षा गर्छन् । तर, यही शहरको अँध्यारोमा यस्तो गिरोह सक्रिय थियो, जसले महिनौंसम्म सर्वसाधारणलाई आतंकित बनायो ।
यो कुनै फिल्मको कथा होइन, वास्तविक घटना हो । एउटा यस्तो संगठित गिरोह, जसले योजनाबद्ध तरिकाले राजधानीका सडकहरूमा डकैती तथा लुटपाट मच्चाइरहेको थियो ।
एक दिन बिहान करिब ३ बजेको समयमा गोकर्णेश्वरको भगवती मन्दिर सडक खण्डमा ८१ वर्षीय रामभक्त श्रेष्ठ मर्निङवाकमा निस्किन्छन् । तर, त्यो उनका लागि साधारण दिन थिएन । गोकर्णेश्वरको सुनसान सडकमा अचानक मोटरसाइकलमा आएका युवाहरूले उनलाई घेरा हाल्छन् । लछारपछार गर्छन् ।
डर/त्रास देखाउँछन् । र, उनको हातबाट सुनको औंठी खोसेर फरार हुन्छन् । यो घटना सुन्दा सामान्य लुटपाटजस्तो लाग्न सक्छ, तर वास्तविकता अझ खतरनाक छ । सुन्दरीजलको मूल सडक शंखडोल चोकमा मन्दिर जान लागेका बेला रामभक्त श्रेष्ठ यही गिरोहको निशानामा परे ।
बिहान साढे तीन बजे मोटरसाइकलमा आएको यो गिरोहले रामभक्तको औंठी लुटेर फरार भयो । यो त एउटा संगठित अपराध नेटवर्क थियो, जसले काठमाडौंका विभिन्न स्थानमा २० भन्दा बढी डकैती गरिसकेको थियो । यो गिरोहको लुट्ने तरिका निकै खतरनाक थियो ।
दिनभरि रेकी गर्ने, साँझ योजना बनाउने र बिहानीपखको राति आक्रमण गरी लुटपाट मच्चाउने । यो गिरोहमा ३/३ जनाको समूह मोटरसाइकलमा सवार हुन्थ्ये । एकान्त स्थानमा हिँडिरहेका मानिस देख्नै नहुने ।
कर्याप्प पार्ने, खुकुरी देखाएर गहना लुटिहाल्ने । अझ चकित पार्ने कुरा के छ भने– यो सबै योजनाबद्ध रूपमा सञ्चालन भइरहेको थियो ।
प्रहरीका अनुसार यो गिरोहको नेतृत्व विनय तामाङले गरिरहेको थिए । उनकै योजनामा अन्य सदस्यहरू परिचालन हुन्थे ।
कोही रेकी गर्ने, कोही आक्रमण गर्ने र कोही सामान बिक्री गर्ने जिम्मेवारीमा थिए । विनयको नेतृत्वमा फुर्वा तामाङ, सलोन तामाङ, पेमा तामाङ, विशाल तामाङ, आयन माझी, सविन माझी, विदुर विश्वकर्मा र रजीव भण्डारी परिचालित थिए ।
यो गिरोहले रोशन पण्डित क्षेत्री, जिपेश थापा, पेमा वाङ्गेल गुरुङ, सुमन खड्का, राकेश लामा, राजन भण्डारीलगायत २० जनालाई लुटपाट गरेको जाहेरी प्रहरीमा परेको छ ।
पक्राउ परेका विनय तामाङले प्रहरी बयानमा आफूमाथिको आरोप स्वीकारेका छन् । उनले भनेका छन्, विगत पाँच महिनादेखि उनी गिरोह नै बनाएर डकैती तथा लुटपाटमा सक्रिय थिए । उनले नै बताए अनुसार हालसम्म उनको समूहले २० देखि २२ वटा डाँका घटना घटाइसकेका थिए । त्यसो त विनय यसअघि पनि चोरी घटनामा पक्राउ परेर छुटेका अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला अदालत धादिङमा चोरी मुद्दा दर्ता भएको थियो ।
उक्त मुद्दामा १५ दिन कैद र पाँच हजार जरिवानाको ठहर भएको थियो । यो गिरोहका अर्का सदस्य राजीव भण्डारीविरुद्ध भक्तपुर अदालतमा चोरी मुद्दा दर्ता भएको थियो । अदालतले राजीवविरुद्ध १५ दिन कैद र एक हजार जरिवाना सुनाएको थियो ।
गिरोहले डाँका चोरीका लागि प्राइभेट कार तथा ट्याक्सी एवं मोटरसाइकलको व्यवस्थापन गर्दै आएको थियो । उनीहरूले दिनमा स्थान छनौट गरी रेकी गर्ने र साँझको समयमा एक ठाउँमा बसी डकैतीको योजना बनाउने गरेको देखिन्छ ।
योजना मुताबिक घटनास्थलसम्म जान र चोरी गरी ल्याएको गरगहना सुरक्षित स्थानमा पुर्याउन प्राइभेट कार तथा ट्याक्सी स्ट्यान्डबाई राख्ने गरेका थिए ।
यो गिरोह यति चलाख थियो कि, प्रहरी चेकिङबाट बच्नका लागि कार तथा ट्याक्सीमा बसी गन्तव्यमा पुग्थे । डकैती गरी ल्याएको गहना विदुर विश्वकर्मालाई दिन्थे । उनै विश्वकर्माले सुनका गहना पगालेर डल्लो बनाई बिक्री गरेर पैसा ल्याउँथे । त्यो पैसा आपसमा बाँडफाँड गर्थे ।
लुटिएका सुनका गहना प्रत्यक्ष बजारमा बेचिँदैनथे । पहिले पगालिन्थ्यो, पछि ज्वेलर्समार्फत बेचिन्थ्यो । प्राप्त रकम सबै सदस्यबीच बाँडफाँड हुन्थ्यो ।
अन्तत:महिनौंको खोजीपछि यो गिरोहका मुख्य सदस्यहरू प्रहरीको नियन्त्रणमा आए । पक्राउ परेका १० जनाविरुद्ध डाँका तथा चोरी र संगठित अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । अहिले थुनछेक बहस चलिरहेको छ ।
यो घटनाले यहाँ एउटा गम्भीर प्रश्न खडा गरेको छ
राजधानीमै यस्तो संगठित अपराध कसरी चलिरह्यो ? सर्वसाधारण किन बारम्बार निसाना बने ?
सुरक्षा संयन्त्र कहाँ चुक्यो ? अझ कति गिरोह सक्रिय छन् ? आज पनि काठमाडौंका धेरै सडकहरू रात पर्दा सुनसान हुन्छन् । र, प्रश्न उठ्छ ? हामी साँच्चै सुरक्षित छौं त ?
अपराध केवल लुकेको हुँदैन, कहिलेकाहीँ हाम्रो वरिपरि नै चलिरहेको हुन्छ । सावधान रहनुहोस्, सुरक्षित रहनुहोस् ।
हेर्नुहोस्, भिडियो :